२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमा नेतन्याहूको १२ वर्षे शासन समाप्त, बेनेट बने प्रधानमन्त्री



अ+ अ-

जेरुसेलमः इजरायलमा सत्तारुढ लिकुड पार्टीका नेता एवं प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको १२ वर्षे शासन समाप्त भएको छ ।

इजरायलको संसद नेसेटमा आइतबार साँझ सम्पन्न मतदानमा नाफ्ताली बेनेटले झिनो मतान्तरबाट बहुमत हासिल गर्न सफल भएसँगै नेतन्याहूको पद गुमेको हो । अब इजरायलको प्रधानमन्त्री बेनेट हुनेछन् ।

कूल १२० सदस्यीय संसदमा भएको मतदानमा बेनेटले ६० मत पाएका थिए भने विपक्षमा ५९ मत परेको थियो । बेनेटलाई इजरायलका कट्टरपन्थी यहुदी, बामपन्थी र अरब कट्टरपन्थी समेतका आठ वटा दलको समर्थन थियो ।

सन् २०१९ यता चार पटक संसदको चुनाव गर्दा पनि कुनै दल वा गठबन्धनले बहुमत ल्याउन सकेको थिएन । पाँचौं चुनाव हुने सम्भावना बढेपछि अविश्वसनीय लाग्ने नयाँ गठबन्धन तयार भएको थियो, जसमा बेनेट स्वयंले प्रधानमन्त्री नेतन्याहूको साथ छाडेका थिए ।

बेनेटले धार्मिक अतिराष्ट्रवादी यामिना पार्टीको नेतृत्व गर्दछन् । यो दलले संसदमा सात सिट मात्र जितेको छ, तर नयाँ गठबन्धनमा उनी “किङ मेकर” का रुपमा देखा परेका थिए ।  

नयाँ सत्ता गठबन्धनमा ४९ वर्षीय बेनेट पहिलो दुई वर्ष प्रधानमन्त्री हुनेछन् भने बाँकी दुई वर्ष मुख्य विपक्षी पार्टीका नेता याईर लापिड प्रधानमन्त्री हुनेछन् ।

प्यालेस्टाइनलाई स्वतन्त्रता दिन नहुने कट्टर विचार राख्दै आएका बेनेट प्यालेस्टिनीको बसोबास रहेको अधिनस्थ पश्चिम किनारा र पूर्वी जेरुसेलममा यहूदी बस्ती बिस्तार गर्नुपर्ने धारणा राख्छन् । बेनेटको यस विचारको अन्तर्राष्ट्रिय समुदायले विगतदेखि नै विरोध गर्दै आएका छन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको दबाबमा पूर्वी जेरुसेलम र पश्चिम किनारामा यहूदी बस्ती बिस्तारमा ढिलाई गरेको भन्दै प्रधानमन्त्री नेतन्याहूको कटु आलोचना गर्दथे । उनी पश्चिम किनारामा यहूदी बस्ती बिस्तार कार्यक्रमका प्रमुख पनि थिए, र संसदमा सन् २०१३ मा पहिलो पटक चुनिएका थिए ।

प्रधानमन्त्री नेतन्याहूको मन्त्री परिषदमा उनले महत्वपूर्ण मन्त्रालय सम्हाल्नुका साथै रक्षा मन्त्रीको समेत कार्यभार लिएका थिए । एपी