२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाको सन्देशः कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहिन आरोप थोपरेर हुँदैन



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सहि प्रकारको राज्य पद्धतिका निम्ति सबै खाले गल्ती सच्याउने तिर लाग्न सम्पूर्णमा आह्वान गर्नुभएको छ ।

नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गर्दै उहाँले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अन्तर्राष्ट्रिय सम्मान, सबैमा गम्भिर आँच पुगेकोमा चिन्ता व्यक्त गर्दै राजनीति र राज्य संचालनको प्रक्रियामा इमान्दारीताको ठुलो महत्व रहने बताउनुभएको छ ।

मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय नहुने बताउँदै राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठुलो अर्थ हुने पूर्वराजाको भनाई छ ।

‘आज उत्पन्न बेथिति, अविश्वास, द्धन्द र जटिलताको जड पनि त्यही नै हो । हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरबशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महशुस गरेका छन् ।’ उहाँले सन्देशमा भन्नुभएको छ । ‘त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अन्तर्राष्ट्रिय सम्मान, सबैमा गम्भिर आँच पुगेको छ ।’

सिमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन गयो भन्ने पनि आम जन गुनासो सुनिँदै आएको स्मरण गराउँदै उहाँले उत्पादन, आर्जन एवम् समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिँदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक रहेको बताउनुभएको छ ।

यस्तो छ उहाँको नयाँ वर्षको शुभकामना सन्देश – पूर्णपाठ
विक्रम सम्बत २०७९ लाई बिदाई गर्दै अहिले हामी २०८० मा आईपुगेका छौं । नयाँ बर्ष प्रारम्भको यो अवसरमा हिमाल, पहाड र तराई मधेशमा र देश बाहिर रहेका समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइको जीवन व्यवहारमा सुख, शान्ति, सन्तुष्टि तथा प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।

राजनीति र राज्य संचालनको प्रकृयामा इमान्दारीताको ठुलो महत्व रहन्छ । राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठुलो अर्थ रहन्छ । मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन । आज उत्पन्न बेथिति, अविश्वास, द्धन्द र जटिलताको जड पनि त्यही नै हो । हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरबशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महशुस गरेका छन । त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अन्तर्राष्ट्रिय सम्मान, सबैमा गम्भिर आँच पुगेको छ ।

हम्रो सरकारी ढुकुटी र सञ्चालित वित्तीय संस्थाहरुको आर्थिक कारोबार आम विपन्नवर्गको उत्थानमा परिचालित छैन । सिमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन गयो भन्ने पनि आम जन गुनासो सुनिन्छ । उत्पादन, आर्जन एवम् समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिंदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक हो । युवापिढी, बिद्यमान प्रणाली र शासकीय गतिविधीप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ । विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुको चरम विद्रोहभाव देखिन थालेको छ । यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहिन आरोप थोपरेर हुँदैन । त्यसैले अब कोरा नारा छाडौं, सहि प्रकारको राज्य पद्धतिका निम्ति सोचौं, सबै खाले गल्ती सच्याउने तिर लागौं । देशलाई थाहा पाई पाई बरवादी तिर नधकेलौं ।

नेपाली माटो, नेपालको प्रकृति, नेपाली मौलिक संस्कृति र आम नेपालीको आशा अनुभूतिलाई बुझेर अग्रगति तर्फ लागौं । सबैमा विगतको कमीकमजोरी प्रति क्षमाशील भावना जागोस । नयाँ बर्ष २०८० सुन्य परिणामको होइन दशकाब्दी प्रारम्भको फलदायी अवधी बन्न सकोस – यही हाम्रो शुभेच्छा हो ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्
जय नेपाल