• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

कर्णाली प्रदेश: मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै



सुर्खेत । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट आज पुन: विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ । शुक्रबार बिहानैदेखि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने वा नदिनेबारे दलका शीर्ष नेताहरु प्रदेश राजधानी वीरेन्द्रनगरमा छलफलमा जुटेका छन् ।

उक्त प्रदेशमा नेपाली कांग्रेस सत्ता बाहिर छ भने नेकपा (एमाले) ले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । एमाले प्रदेशसभा अध्यक्ष विनोदकुमार शाहले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा संसदीय दलको बैठकले निर्णय गर्ने जानकारी दिनुभएको छ ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि अहिलेसम्म कुनै निर्णय गरेको छैन । सरकारको नेतृत्व आफूले पाउनुपर्ने सो दलले दावी गर्दै आएको छ । शुक्रबार बिहानदेखि बसेको कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री शर्माको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रदेश संसदीय दलको बैठकलाई निर्देशन दिने बताइएको छ ।

गत पुस १० गते एमालेसहितको गठबन्धनमा नेकपा (माओवादी केन्द्र), राप्रपा र नेकपा (एकीकृत समाजवादी) केन्द्रका २५ सांसदको समर्थनमा शर्मा मुख्यमन्त्री बन्नुभएको थियो । तर केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएसँगै राप्रपाले प्रदेश सरकारकालाई दिएको समर्थन फिर्ता लिएको थियो ।

कर्णाली प्रदेशमा एकल सरकार बनाउन कुनै पनि दललाई स्पष्ट बहुमत नभएकाले एमाले र माओवादी केन्द्र मिलेर सरकार चलाइरहेका छन् । मुख्यमन्त्री शर्माले सरकारबाट एमालेबाट सहभागी भएका मन्त्रीहरुलाई बर्खास्त गर्ने मनसाय बनाउनुभएको देखिएको छैन ।

त्यसैले एमाले सत्ताबाट नबाहिरिएको र कांग्रेस आफैँले नेतृत्व पाउनुपर्ने दावी गरिरहेको अवस्थामा कर्णाली प्रदेशमा कस्तो प्रकारको राजनीतिक समीकरण बन्छ भन्ने अवस्था देखिएको छैन ।

कूल ४० प्रदेशसभा सदस्य रहेको कर्णालीमा स्पष्ट बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । कर्णाली प्रदेशसभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० (सभामुखसहित), तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र गरी एक/एक जना सदस्य रहेका छन् ।