११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय

सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
अ अ+ अ-

तुलसीपुर । विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो । तर स्थानीयले हिम्मत हारेनन् । पुन: विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे ।

कक्षा ३ बाट पठनपाठन सुरु गरियो । विद्यालय सञ्चालनमा त आयो तर शिक्षकको तलबका लागि कुनै स्रोत थिएन । गाउँलेले मुठ्ठीदान गरेर शिक्षकलाई तलब जुटाए । “मुठ्ठीदानमार्फत चालम सङ्कलन गर्‍यौँ । त्यही चामल बिक्री गरेर शिक्षकलाई तलब दियौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भन्नुभयो ।

त्यही ज्ञानज्योति आधारभूत विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालयतर्फ नमूना विद्यालय बनेको छ । हाल विद्यालयसँग आवश्यकता अनुसार भवन छन् भने पठनपाठन उत्तिकै राम्रो छ । नर्सरीदेखि आठ कक्षासम्मकै पठनपाठन प्रविधिमैत्री छ । नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाको माध्यमबाट पठनपाठन भइरहेको र उपमहानगरपालिकाले नै आधारभूत उत्कृष्ट विद्यालयका रूपमा लिएको प्रधानाध्यापक मेघराज घिमिरेले बताउनुभयो ।

विद्यालयमा अहिले चार सय ५० बढी विद्यार्थी छन् । “सुरुमा निकै चुनौती थियो, पहिले खोलाको बगर थियो , त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौँ”, उहाँले भन्नुभयो, “अहिले चार सय ५० विद्यार्थी छन् ।” प्रधानाध्यापक घिमिरेका अनुसार विद्यालयमा सबै भूमिहीन परिवारका बालबालिका अध्ययन गर्दछन् । विद्यालयले आर्थिक अवस्था कमजोर भएका, दलित तथा पिछडिएका समुदायका बालबालिकालाई शिक्षा दिइरहेको छ । विद्यालयमा अधिकांश पातुखोलामा गिट्टी कुटेर दैनिकी चलाउनेका छोराछोरी छन् ।

घिमिरे सुरुआतदेखि नै विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत हुनुहुन्छ । उहाँसहित तीन शिक्षक सुरुआतमा कार्यरत भए पनि पछि दुई शिक्षकले छाडेर जानुभएपछि घिमिरे एक्लैले केही समय विद्यालय हाँक्नुभएको थियो । केही समय उहाँले नि:शुल्क काम गर्नुभयो । “सुरुमा हामीले तलब पनि दिन सकेनौँ, छ महिनासम्म नि:शुल्क शिक्षकले पढाउनुभयो”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकले भन्नुभयो, “छ महिनापछि रू एक हजार तलब तोकिदिएका थियौँ ।”

“नजिक स्कुल भए पनि त्यहाँ पढाउन खर्च बढी लाग्ने र भर्ना गर्न पनि समस्या हुने भएकाले स्थानीयको पहलमा सामुदायिक विद्यालय स्थापना गरिका हौँ”, अभिभावक निर्मल परियारले भन्नुभयो ।

उपमहानगरपालिकाले आधारभूततर्फको उत्कृष्ट विद्यालयका रूपमा ज्ञान ज्योति आधारभूत विद्यालय लिने गरेको छ । आर्थिक अवस्था कमजोर भएका, दलित तथा अति विपन्न परिवारका बालबालिका अध्ययन गर्ने भएकाले विद्यालयलाई उपमहानगरपालिकाले प्रोत्साहन स्वरुप सहयोग गरिरहेको उपमहानगरपालिकाका विद्यालय निरीक्षक चक्र भण्डारले बताउनुभयो । उहाँले खोलाको किनारलाई व्यवस्थित गरेर विद्यालय भवन निर्माण गरी पठनपाठन सञ्चालनमा गरिएको उल्लेख गर्नुभयो ।

“उक्त विद्यालय एउटा नमूना विद्यालयका रूपमा हामीले लिएका छौँ, जहाँ गिट्टी कुटेर जीवन निर्वाह गर्ने परिवारका छोराछोरी अध्ययन गर्छन्”, निरीक्षक भण्डारले भन्नुभयो, “विद्यालयको संरचना र पढाउने तरीका पनि उत्तिकै राम्रा छन् ।” आधारभूत विद्यालयमा साढे चार सय विद्यार्थी हुनु भनेको सरकारी विद्यालयका लागि सकारात्मक रहेको उहाँको भनाइ छ । हाल विद्यालयमा १० शिक्षक, चार बालविकास, एक निजी तथा एक जना परिचालिका कार्यरत छन् ।

घर नजिकै पढ्न पाउँदा विद्यार्थी पनि खुसी छन् । विद्यालयमा अहिले कक्षा ८ सम्म मात्रै पढाइ हुने भएकाले त्यसभन्दा माथी पढनका लागि बाहिर जानुपर्ने अवस्था रहेको भन्दै यो अवस्था अन्त्य हुनुपर्ने विद्यार्थीको माग छ । “अहिलेसम्म हामी यही विद्यालयमा पढ्यौँ”, विद्यार्थी लीला चलाउनेले भन्नुभयो, “अब कक्षा १० सम्म पढ्ने वातावरण भए हुन्थ्यो, अहिले नभए पनि हामीभन्दापछि आउने विद्यार्थीले १० सम्म यही पढ्न पाऊन् भन्ने चाहना छ ।” रासस