११ असार २०८२, बुधबार
,
Latest
प्रहरी संगठनलाई राजनीतिक प्रभावमुक्त बनाउन आवश्यकः सांसद गिरी प्रहरीबाटै जनताले सरकारको अनुहार हेर्छन्ः अध्यक्ष दाहाल विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको छः प्रमुख सचेतक पाण्डे घनपोखराका प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै कुण्ठेका सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्: प्रचण्ड ३१ वर्षअघि समुद्रमा फ्याँकिएको चिठी अहिले भेटियो बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण अध्यक्ष नेपालमाथिको मुद्दाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र होः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुमेको आँखाको ज्योति फर्कदा दङ्ग



अ+ अ-

म्याग्दी । नेत्रज्योति सङ्घ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन गरेका छन् । चार दिनसम्म सञ्चालन भएको नि:शुल्क आँखा उपचार शिविर आज सम्पन्न भएको छ ।

हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ म्याग्दीले सञ्चालन गरेको शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष अमर बानियाँले जानकारी दिनुभयो । स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा सञ्चालन गरिएको शिविरमा दुई हजार दुई सयको आँखा परीक्षण गरिएको थियो । “गाउँमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई पोखराबाट चिकित्सक ल्याएर बेनीमा नि:शुल्क शल्यक्रियाको व्यवस्था मिलाएका हौँ”, उहाँले भन्नुभयो ।

रघुगङ्गा गाउँपालिकाको पाखापानी, मङ्गलाको कुहुँ, बेनी नगरपालिकाको डाँडाखेत, अन्नपूर्णको राम्चे, हिस्तान र शिखमा आँखा उपचार शिविर आयोजना गरेर मोतियाबिन्दुका बिरामी पहिचान गरिएको थियो । हिमालयन आँखा अस्पताल पोखराका डा अञ्जु गुरुङको नेतृत्वमा शिविरका संयोजक सुवास नेपाल, अस्पतालका मीना राई, साधना मजाकोटी, गरिमा लौडारीलगायत स्वास्थ्यकर्मीले सेवा दिनुभएको थियो ।

शिविरमा आउनुभएका बेनी नगरपालिका–९ घतानका डिलबहादुर विकले दुवै आँखा देख्न छाडेको एक वर्ष भएको बताउनुभयो । बेनीमा नि:शुल्क आँखा उपचार शिविरमा ७७ वर्षीय विकको दुवै आँखाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । “आँखा देख्न नसक्दा घरबाट निस्कन सकेको थिइन, । शल्यक्रियापछि दुवै आँखा देख्ने भए । अब हिँडडुल गर्न तथा आफैँ खाना पकाएर खान सक्छु”, उहाँले भन्नुभयो ।

बेनी नगरपालिका–५ की ७० वर्षीया पार्वती बानियाँले आँखा देख्न छाडेको तीन वर्ष भए पनि मोतियाबिन्दुको शल्यक्रिया गर्नुभएको थिएन । “पोखरा जाने समय र पैसा नहुँदा मोतियाबिन्दुको शल्यक्रिया गर्न सकेको थिइन”, उहाँले भन्नुभयो, “बेनीमा मोतियाबिन्दुको शिविर सञ्चालन भएपछि सस्तोमा शल्यक्रिया गरेर गुमेको ज्योति फर्कियो ।”

यसअघि गत असोजमा १९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

जिल्लामै शिविर सञ्चालन हुँदा शल्यक्रिया गर्नका लागि पोखरा जाने झन्झट अन्त्य भएको सङ्घका सचिव राजेन्द्र श्रेष्ठले बताउनुभयो । “एकजनाको आँखाको शल्यक्रिया गर्न रू २० हजार र तीन दिन लाग्छ । शिविरले आर्थिक अवस्था कमजोर भएकालाई राहत दिएको छ”, उहाँले भन्नुभयो । धुँवा, धुलो, आँखाको सरसफाइ र चेतनाको कमीले मोतियाबिन्दु र जलबिन्दुको हुने भएकाले धुँवा, धुलोबाट आँखालाई बचाइ सरसफाइमा ध्यान दिनुपर्ने शिविरमा सहभागी चिकित्सकको भनाइ छ । रासस