१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी प्रसारण लाइन: तीन वर्षदेखिको अवरोध हटाइँदै



अ+ अ-

पर्वत । राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोरअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा तीन वर्षदेखि फलेवास नगरपालिका–६ मा स्थानीयले अवरोध गरेपछि काम ठप्प बनेको थियो ।

फलेवास–६ देवीस्थानस्थित विद्यालय र रङ्गशालामा क्षति पुग्ने भन्दै स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गरेका थिए । स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका चार टावर निर्माण हुन सकेका छैनन् । लामो समयसम्म काम अघि बढ्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणको टोलीले पहल थालेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोषसहितको टोलीले स्थलगत निरीक्षण गरी काम अघि बढाउन पहल गरेको हो । टोलीले स्थानीयसँग छलफल गरेको थियो ।

कालीगण्डकी र यसका सहायक खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि यो लाइन महत्वपूर्ण रहेकाले निर्माणमा अवरोध नगरिदिन टोलीले आग्रह गरेको छ । लाइन अभावमा जलविद्युत् आयोजनाको विद्युत् मुख्यरुपमा वर्षायाममा प्रवाह गर्न नसकिएकाले यसबाट मुलुकलाई ठूलो क्षति भइरहेकाले निर्माणमा सहयोग गर्न कार्यकारी निर्देशक कुलमान घिसिङले अनुरोध गर्नुभएको छ ।

प्रसारण लाइनको टावर सार्न सम्भव भए÷नभएको विषयमा प्राविधिक टोलीले चार÷पाँच दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको छ । “प्रसारण लाइनमुनि विद्यालय पर्छ भन्ने स्थानीयको कुरा थियो । तर स्थलगत निरीक्षणका क्रममा विद्यालय नपर्ने देखिएको छ”, घिसिङले भन्नुभयो– “सर्वेक्षण सम्पन्न भएपछि विद्यालयलाई प्राथमिकतामा राखी प्राविधिकरुपमा सम्भव भएसम्म टावरलाई रङ्गशालाको डिलतर्फ च्यापेर टावर निर्माण गर्ने सहमति भएको छ ।”

विद्यालयलाई जोगाएर प्राविधिकरुपमा सम्भव भएसम्म रङ्गशालालाई पनि कम असर पर्ने गरी टावर निर्माण गरिने घिसिङको भनाइ छ । कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो ।

आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ दशमलव छ किलोमिटर खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सवस्टेसन निर्माण गरिएको छ । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित -नयाँ बुटवल सवस्टेसन_सम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ ।

यस खण्डमा पर्ने दुई सय ३५ टावरमध्ये फलेवासमा पर्ने चारवटाको निर्माण बाँकी छ । प्रसारण लाइन निर्माण असारभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजना प्रमुख चन्दन घोषले जानकारी दिनुभयो ।