७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

गुराँसले बिस्तारै रङ्गिँदै वनपाखा

गुराँसले बिस्तारै रङ्गिँदै वनपाखा
अ+ अ-

ताप्लेजुङ । वसन्त ऋतुको आगमनसँगै पहाडी जिल्लाका वनपाखाहरू गुराँसले रङ्गीन थालेका छन् । गुराँस पाइने ताप्लेजुङसहितका पूर्वी पहाडी जिल्लाहरूमा गुराँस फुल्न सुरु भएसँगै यहाँका वनपाखाहरू रङ्गीन थालेका हुन् । यहाँका वनपाखामा कतै फक्रनै लागेका कोपिला त कतै फक्रिएर ढकमक्क भएको गुराँस देख्न थालिएको छ । ताप्लेजुङको सुकेटार, देउराली, पाथीभरालगायतका ठाउँमा गुराँस फुल्न थालेको छ ।

ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाको सङ्गमस्थल अर्थात् गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रमा सामान्यतया फुल्न सुरु भएको छ । विगतका वर्षहरूको तुलनामा यो वर्ष यस क्षेत्रमा केही ढिला गरी गुराँस फुल्न थालेको स्थानीयवासी चन्द्र कार्कीले बताउनुभयो । मौसमी परिवर्तनका कारण पनि यो वर्ष ढिलो गरी गुराँस फुल्न सुरु भएको हुन सक्ने उहाँको बुझाइ छ । तापक्रम वा आर्द्रताको स्तरमा हुने परिवर्तनले पनि फुल्ने समय कहिले अघि र कहिले पछि हुने गर्छ । लामो समयसम्म पानी नपरेर मौसम सुक्खा हुँदा पनि गुराँस ढिलो फुल्ने गरेको पाइएको पाथीभरा क्षेत्रका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताउनुभयो । विशेषगरी माघदेखि नै फुल्न सुरु हुने गुराँस चैत, वैशाखमा भने पूर्णतया फक्रिसक्छ । गुराँस एक हजार पाँच सय मिटरदेखि तीन हजार छ सय मिटरको उचाइसम्म पाइन्छ ।

प्राय: भिरालो जमिनमा हुने यसको बोट होचो र झ्याम्म परेको हुन्छ । रातो, गुलाबी र सेतो रङहरूमा फुल्ने गुराँसका विभिन्न प्रजातिमध्ये नेपालमा ३२ प्रजातिका गुराँस पाइने गरेको बताइन्छ । नेपालको राष्ट्रिय फूलका रूपमा रहेको लाली गुराँस धार्मिक र सांस्कृतिकरूपमा पनि महत्त्वपूर्ण मानिन्छ । विद्याकी देवी सरस्वतीसँग सम्बन्धित मानिने फूललाई विभिन्न धार्मिक समारोह तथा चाडपर्वमा प्रयोग गर्ने गरेको पाइन्छ ।

यस्तै, गुराँसमा विभिन्न रोग निको पार्ने औषधीय गुणहरू समेत पाइन्छ । घाँटी दुख्दा वा घाँटीमा केही खाने कुरा अड्किएमा गुराँसको सेवनले फाइदा पुग्छ । कलेजो र मिर्गौलाको समस्या भएमा समेत यसले फाइदा पुग्ने गरेको बताइन्छ । श्वासप्रश्वासको सङ्क्रमण, छालाका रोगहरूलाई पनि गुराँसको सेवनले कम गर्छ ।

थरीथरी रङमा फुल्ने गुराँसको धार्मिक, सांस्कृतिक र आयुर्वेदिक औषधीय गुणका हिसाबले जति महत्त्व छ उति नै पर्यटन प्रवर्द्धनमा समेत यसको महत्त्व रहेको देखिन्छ । जब गुराँसे वनहरूमा गुराँस ढकमक्क भएर देखिन्छन् तब आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनसँगै चहलपहल सुरु हुन्छ । गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले क्षेत्रमा मात्रै वार्षिक बाह्य तथा आन्तरिक गरी हजारौँको सङ्ख्यामा पर्यटकहरू पुग्ने गरेका छन् । गुराँसको सौन्दर्यसँग रम्न र रमाउन चाहनेहरूको निकै चहलपहल हुने स्थानीय होटल व्यवसायीहरू बताउँछन् । एकै ठाउँमा धेरै प्रजातिका गुराँस पाइने भएकाले पनि यस क्षेत्रमा गुराँसको अवलोकन गर्न पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको हो । यसबाट स्थानीय व्यवसायीको आम्दानीमा समेत सघाउ पुर्‍याउँछ । गुराँसको राजधानीदेखि अन्यत्रका ठाउँहरूमा पनि गुराँस फुल्न थालेपछि आन्तरिक पर्यटकहरूको चहलपहल हुने गरेको छ ।

गुराँस विभिन्न दृष्टिले महत्त्वपूर्ण भएपछि यसको संरक्षण नहुँदा भने मासिँदै पनि गएको छ । यसको संरक्षण गर्ने दायित्व सबैको भए पनि संरक्षणमा कसैबाट चासो नहुने गरेको सुकेटारका होटल व्यवसायी तथा समाजसेवी ओमप्रकाश राईले बताउनुभयो ।

जथाभावी सडक विस्तारसहितका भौतिक संरचनाको निर्माणलगायतले गुराँसका वनहरू मासिन थालेको उहाँको बुझाइ छ । उपयुक्त भूगोल हेरेर गुराँसको विस्तार गर्नाका साथै यसको संरक्षणमा सबै पक्षले ध्यान दिन आवश्यक रहेको राईले बताउनुभयो । विभिन्न दृष्टिकोणले गुराँसको महत्त्व उच्च रहे पनि यसको संरक्षण र विस्तारमा कसैको ध्यान नदेखिएको सरोकारवालाले बताउने गरेका छन् । रासस