• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नेपालको निरन्तर अघोगति प्रति अब हामी मौन रहन सक्दैनौं: पूर्वराजा शाह



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको निरन्तर अघोगति प्रति अब हामी मौन रहन नसक्ने जनाउनु भएको छ ।

७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दे पूर्वराजा शाहले नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार भएको पनि जनाउनु भएको छ ।

उहाँले भन्नुभएको छ शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले सम्यमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । सन्देशमा भनिएको छ यी यावत बर्षहरुमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्र्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन ।

शुभकामना सन्देशको पूणपाठ

प्रजातन्त्र दिवसको सन्दर्भमा हामी प्रजातन्त्रका उत्प्रेरक हाम्रा पूज्य जिजुबुबा राष्ट्रपिता श्री ५ त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको संस्मरण गर्न चाहन्छौं ।

जनचाहना बमोजिम राजसंस्थाले गद्दी दाउमा राखेर प्रजातन्त्रका लागि जनतासंग हातेमालो गरेको आठौं दशक पुग्दै गर्दा यसका सबल र सुधार गर्नुपर्ने पक्षको समिक्षाका साथै ऐतिहासिक क्षणको विस्तारित एवं यर्थाथपरक संस्मरण नयाँ पुस्ताको ज्ञान र प्रेरणाका लागि आवश्यक भइसकेको छ ।

वडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाह देखि आजको समयावधिसम्म हेर्दा नेपालको राजपरम्परा सदा नै लोकसम्मत, प्रजातान्त्रिक, युगानुकूल जनहितकारी र विकासमुखी रही आएको छ । नेपाल एकिकरणको झण्डै २४० बर्षपछि हामीबाट शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएका थियौं ।

विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधीमूलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भएपनि अहिले कूशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको छ । प्रविधीको विकास र अन्र्तराष्ट्रिय सन्निकटताले समाजका आधुनिक अपेक्षाहरु सम्बोधन गर्ने विधि निषेध होइन, सहकार्यको राजनीतिमा अन्तरनिहित छ ।

अहिले युवाहरुको हकमा नेपालको इतिहास मै अद्धितीय जनसाङ्खिक लाभांशको चरणबाट गुज्रिरहेको छ । यस्तो अवस्था अब धेरै अवधि रहने छैन । युवाहरु आफ्ना सम्भावना र अवसरबाट वन्चित हुने अवस्था, आम नैराश्यमा बदलिने जोखिम बढ्दो छ । हालै सम्पन्न आमनिर्वाचनमा युवाहरुको सहभागीता र केही आशालाग्दा नतिजाहरुबाट मुलुकको आगामी दिशाबारे आंकलन गर्न सकिन्छ ।

विगत वीस बर्षमा दशौं लाख युवाहरु विदेश पलायन र फराकिलो डायास्पोराको निर्माण, विप्रेषण समाज र अर्थतन्त्र दुबै ठूलो मात्रामा आश्रित हुँदा सकारात्मक र नकारात्मक असरबारे आगामी उज्यालो भविश्यको लागि राष्ट्रिय बहस जरुरी भइसकेको छ ।

देश बलियो बनाउने, समाजलाई आफ्नो राष्ट्रिय परिचय सहित रुपान्तरण गर्ने र भावीपुस्तालाई समुन्नत नेपाल छोडेर जानका लागि राजनैतिक तथा सामाजिक रुपले दवाव दिन सक्ने युवाशक्ति बाहिर हुँदा राजनीतिक दलका नेताहरुलाई हाईसन्चो भएको भान होला । तर कडा मेहनत गरि आफ्नो खुट्टामा उभिन खोज्ने स्वाभिमानी नेपालीहरु अहिले निराश छन् ।

देशभित्र उज्यालो सम्भावना नदेखिएकोले अप्रिय बाटो रोज्न बाध्य छन । देशको परिस्थितिले आशा जगाउन नसक्दा हिमाल, पहाड र तराई मधेशका सबै दीनदुःखी नेपाली दाजुभाइ, दिदीबहिनीहरुले स्वदेश मै गरिखाने माहौल नहुनु भन्ने सोचले जरा गाड्दै जानु चिन्ताको विषय हो । स्वदेश मै उद्यम गर्ने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मशील युवाहरु अगाडी बढ्न खोज्दै छन् ।

राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिदै तेहरिदै आएपनि वा फेरिदै बदलीदै गए पनि हाम्रो बिद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न । देश र जनता भन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरु फसेका छन् । तिनका धेरै कार्यकर्ताहरुमा राजनीतिक छत्रछाँया नभइ जीवनमा केही हासिल गर्न सकिदैन भन्ने मनोभाव विकसित गरिएको छ । प्रश्न गर्न नसक्दा र नपाउँदा दलहरुको आन्तरिक सुधार एवं विकल्पको गुन्जायस नदेखेको आभाष समाजमा उजागर भएको छ।

दलहरुले नेपालको निम्न एवं मध्यमवर्गको मुद्धामा मौन रहने प्रवृत्ति बढ्दो छ । शासकीय उत्तरदायित्व र गाम्भिर्यको कमी देशभित्रका सवालमा मात्र होइन परराष्ट्र सम्बन्धमा पनि देखिन थालेको छ । नेपालको सार्वभौमिक परिचयमा नै आँच आउने गरि कमजोर मानसिकताका साथ स्वार्थ केन्द्रित अपरिपक्क परराष्ट्र नीतिको अभ्यास गम्भिर चिन्ताको विषय भएको छ ।

नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले सम्यमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अघोगति प्रति अब हामी मौन रहन सक्दैनौं ।

यी यावत बर्षहरुमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्र्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन

यसबर्ष यो दिवस मनाउँदै गर्दा नयाँ पहलको प्रण गर्दै नेपालको प्रजातन्त्रलाई थप उन्नत र सार्थक बनाऔं । देशभक्ति, सुशासन, आर्थिक प्रगति, सार्वभौमिक भावना र सनातन धर्म सहितको नेपाली पहिचानको सम्बद्र्धन गर्ने गराउने ध्येय नै मूलमान्यताको रुपमा स्थापित गरौं ।

श्री पशुपतिनाथले हामी सबैकोे कल्याण गरुन् । जय नेपाल , २०७९ साल फागुन ७ गते