२४ आश्विन २०८१, बिहीबार
,
Latest
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेटीबाट सडकबत्ती जडान



अ+ अ-

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट सडकबत्ती जडान गरिएको छ ।

गलेश्वर बजारको २.५ किलोमिटर सडक र मन्दिर परिसरमा सोमबार ५५ सडकबत्ती जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटी परिचालन गरेर सडकबत्ती राखिएको जानकारी दिए ।

सडकबत्ती जडान गर्न कुल रु दुई लाख ३० हजार सात सय ५० खर्च भएको उनले जानकारी दिए । स्थानीयवासी, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई रातका समयमा पैदल र सवारीसाधनमा आवतजावतका लागि सहज भएको छ ।

“गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट बत्ती जडान गरिएको छ”, अध्यक्ष रेग्मीले भने, “मर्मत र विद्युत् महसुल पनि मन्दिरको आम्दानीबाट व्यवस्थापन गर्छौँ ।” सडकबत्तीले बजारलाई उज्यालोका साथै सुरक्षित बनाउन सहयोग पुगेको स्थानीयवासी बमबहादुर पुनले बताए ।

गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी पुजारी, कर्मचारीको तलब, संस्कृत विद्यालय, ज्येष्ठ नागरिक आश्रम सञ्चालन र पूर्वाधार निर्माणमा परिचालन हुँदै आएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको छ ।

गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरूपमा गनेर सार्वजनिक गर्ने गरिएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि रहेको गलेश्वरलाई पश्चिमको पशुपतिनाथ र मुक्ति क्षेत्रको प्रवेशद्वारका रूपमा चिनिन्छ ।

साउन महिनाको सोमबार, बालाचर्तुदशी, महाशिवरात्रि पर्वमा विशेष मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआजा हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गर्नाले पुण्य मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । रासस