• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप हेर्न क्यान पदाधिकारी श्रीमतीसहित उडे अमेरिका ★   बालेनले किन भने वास्तविक गणतन्त्र आउन अझै बाँकी छ ? ★   बजेटपछि केमा बढ्यो के मा घट्यो मूल्य ? ★   एमाले चितवनको अध्यक्षमा पाठक ★   कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्तिको तयारी ★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत

मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै



फाईल फोटो

महोत्तरी । वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन् ।

पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै बिहानै हलो र गोरुको पूजा गर्ने चलन छ । जलेश्वर नगरपालिका–८ का रामबाबु चौधरीका अनुसार किसानले आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला, अक्षेता, अबिर, चामल, लड्डुलगायत वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गरिरहेका छन् । गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी, माला लगाएर पूजा गरिँदै छ ।

हलो र गोरुको पूजा गरिसकेपछि खेत जोत्ने चलन छ । किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने चलन रहेको जलेश्वर–६ का गणेश साहले बताउनुभयो । किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितका कृषि औजारलाई नयाँ धार लगाएर प्रयोग गर्ने गर्दछन् ।

श्रीपञ्चमी वा वसन्त पञ्चमीको अवसरमा किसानले अरवा चामलमा सख्खर मिसाएर प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर यो पूजा सम्पन्न गर्दछन् । मिथिलाञ्चलका किसान आजका दिनदेखि खेतीपाती सुरु भएको मान्छन् । आजैका दिनदेखि आ–आफ्नो बाँझो खेतबारी जोत्ने कामको शुभारम्भ गर्दछन् ।

मिथिलाञ्चलको गाउँ गाउँमा आज सयौँ गोरु एकसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरुपमा राखेको देख्न पाइन्छ । जलेश्वर–११ का किशुन विच्छा पछिल्लो समय ट्र्याक्टर, पावर टिलरलगायत यन्त्र भित्रिए पनि सबै खेतबारीमा सहजरुपमा पुग्न नसक्ने, आफूले चाहेअनुसारको खेतबारी खनजोत गर्न नसक्ने हुनाले खेतीपातीका लागि हलो र गोरु नै सहज हुने बताउनुहुन्छ । रासस