• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

देवघाटमा भक्तजनको भीड



दमौली । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा माघे सङ्क्रान्ति मेलाका लागि भक्तजन आउने क्रम सुरु भएको छ । शनिबार बिहान कालीगण्डकी र त्रिशूली नदीको सङ्गम बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेला विधिवतरुपमा सुरुआत गरिएको थियो ।

शनिबार दिउँसोदेखि नै भक्तजन देवघाटधाम आउने क्रम सुरु भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । मेला भर्न पाँच लाख भक्तजन आउने अनुमान गरिएको छ । मेला भर्न आउनेका लागि प्रवेशद्वार रामनगरमा र बाहिरिने आँपटारीबाट बनाइएको छ ।

मेलाको अववसरमा राति भक्तजन जाग्राम बस्ने प्रचलन छ । शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

हरेक वर्ष पुसको अन्तिम दिन र माघ १ गते देवघाटमा माघे सङ्क्रान्ति मेला लाग्ने गर्दछ । मेलालाई व्यवस्थापन गर्न क्षेत्र विकास समितिले एक सय ५१ सदस्यीय मूल समिति र विभिन्न उपसमिति बनाएर मेला व्यवस्थापनको काम गरेको छ ।

चितवनतर्फको देवघाट र तनहुँतर्फको वेणीमा स्नान गर्नका लागि सीमा तय गरेर डोरी टाँग्ने काम गरिएको छ । स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, सशस्त्र प्रहरीको उद्धार टिम र स्थानीय बोटे समुदायलाई तयारी अवस्थामा राखिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । बिजुली बत्तीको व्यवस्था गर्न चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिकालाई जिम्मा दिइएको छ ।

खानेपानी, यातायात, पार्किङ, शौचालयलगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनाइएको छ । यसपटक चितवनबाट देवघाट जाने झोलुङ्गे पुलमा एक पटकमा एक सय जनाभन्दा बढीलाई जान नदिने गरी सुरक्षाकर्मी राखिने इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज भेषराज रेग्मीले जानकारी दिनुभयो । विसं २०३७ मा बनेको पुल जीर्ण बनेकाले कुनै दुर्घटना नहोस् भनेर सुरक्षा सतर्कता अपनाइएको रेग्मीले बताउनुभयो ।

दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न आह्वान गरिएको छ । यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चापघट्ने विश्वास क्षेत्र विकास समितिले लिएको छ । नदीबाट नै वारपार गर्न चाहनेहरूका लागि ३५ वटा डुङङ्गाको व्यवस्था गरिएको छ ।

एक जनाको रु ३५ भाडा लिएर चितवनबाट देवघाटको काली नदी छेउसम्मडुङ्गामार्फत आउजाउ गर्ने व्यवस्था गरिएको छ । मेलामा जानका लागि भरतपुरतर्फबाट रामनगरबाट पस्ने र आँपटारी क्षेत्रबाट निस्कने व्यवस्था मिलाइएको छ । यसका लागि ठाउँठाउँमा प्रहरीहरु परिचालन गरेर व्यवस्थापन सहज बताइएको छ ।

 देवघाटमा भक्तजनको भीड

सवारीको अत्याधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ । पुल बनाउनका लागि दैनिक चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते भने खुला नै रहने छ ।

गाउँपालिकाद्वारा छात्रवृत्ति प्रदान

तनहुँको आँबुखैरेनी गाउँपालिकाले गरिब तथा जेहेन्दारलाई रु छ लाख ५० हजार छात्रवृत्ति रकम वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्रका स्थायी ठेगाना भएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पु¥याउने उद्देश्यसहित गाउँपालिकाले २२ जनालाई छात्रवृत्तिस्वरुप रु छ लाख ५० हजार वितरण गरेको हो ।

गाउँपालिका छात्रवृत्ति वितरण कार्यविधि, २०७९ अनुसार गत मङ्सिर २९ गते प्रकाशित सूचनाबमोजिम निवेदन पेस गरेका विद्यार्थीलाई छात्रवृत्ति वितरण समितिको सिफारिस तथा गाउँ कार्यपालिकाको निर्णयबमोजिम छात्रवृत्ति रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

“विभिन्न तहमा अध्ययनरत विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित छात्रवृत्ति रकम वितरण गरेका हौँ, यसले गर्दा उहाँहरूको पढाइलाई टेवा पुग्ने विश्वास लिएका छौँ”, चुमानले भन्नुभयो ।

छात्रवृत्ति प्राप्त गर्नेमा उच्च माध्यमिक तहदेखि विद्यावारिधि तहसम्म अध्ययनरत विद्यार्थी छन् । छात्रवृत्ति पाउनेमा आँबुखैरेनी गाउँपालिका–३ का अमर ठकुरीले युनिभर्सिटी अफ साउथ डाकोटाबाट विद्यावारिधि गर्दै हुनुहुन्छ । गाउँपालिकालाई उहाँलाई रु एक लाख छात्रवृत्ति रकम वितरण गरेको छ ।

आँबुखैरेनीस्थित मित्रता माविमा कृषिमा स्नातक अध्ययनरत सरन विकलाई रु ५० हजार, गण्डकी आवासीय माध्यमिक विद्यालयमा उच्च शिक्षा अध्ययनरत वृक्षा बयलकोटीलाई रु ३० हजार, गोल्डेन गेट इञ्जीनियरिङ कलेजमा अध्ययनरत सुलभ श्रेष्ठलाई रु ५० हजार, अरोमा माध्यमिक विद्यालयमा अध्ययनरत आस्था थापालाई रु ३० हजार, राम शाह माविमा अध्ययनरत विमल गुरुङलाई रु १५ हजार, बिबिए अध्ययनरत श्रेया गौलीलाई रु ५० हजार, राम शाह माविमा अध्ययनरत रचना प्रगतिलाई रु ३० हजार, राम शाह माविमा अध्ययनरत अनिष रसाइलीलाई रु ३० हजार छात्रवृत्ति रकम वितरण गरिएको छ ।

राम शाह माविमा अध्ययनरत सिर्जना थापालाई रु १५ हजार, सङ्गम मगरलाई रु १५ हजार, मिरिन आलेमगरलाई रु १५ हजार, मित्रता माविमा अध्ययनरत सुनिता नेपालीलाई रु १५ हजार, राम शाह माविमा अध्ययनरत विमला गुरुङलाई रु १५ हजार, शुक्रराज गुरुङलाई रु १५ हजार, आँबुखैरेनी क्याम्पसमा अध्ययनरत खिलमाया खवासलाई रु २० हजार, पूर्णिमा खवासलाई रु २० हजार, जनप्रिय माविमा अध्ययनरत दिक्षा दुवाडीलाई रु १५ हजार, मित्रता माविमा अध्ययनरत रक्षा खनाललाई रु ५० हजार, सलिना विकलाई रु ५० हजार र पूजा नेपालीलाई रु १५ हजार वितरण गरिएको छ । रासस