• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   दमकमा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार ★   विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ: गृहमन्त्री लामिछाने ★   एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर ★   सार्वजनिक सेवा प्रशारण फेरि मन्त्रालयको हालीमुहाली हुनेगरी अघि बढेको छ: नेता रिजाल ★   सूचनाका श्रोत फराकिलो भएपनि विचारहरु संकुचित हुँदैछन्: प्रमुख सचेतक परियार ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने ★   मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण ★   रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला ★   गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो ★   दुई महिनामै बन्द हुँदै कपिल शर्माको कमेडी शो

हिन्दूधर्म अफिम हो ?



कार्ल मार्क्सले क्रिश्चियनधर्मलाई अफिम भने । कार्ल मार्क्सको विरोध हिन्दू, बौद्ध, जैन, ताओ, कन्फुसियस, बोन, किरातधर्मसँग थिएन ।

युरोपमा लामो समयदेखि क्याथोलिकहरूको वितण्ड र पोपहरूको ज्याजती थियो । उनीहरूले धर्मका नाममा शासनसत्तामा प्रभाव जमाई आर्थिक, समाजिक, चारित्रिक रूपमा ब्रम्हलुट गरेका थिए । पुनर्जागरण आउनुपूर्व युरोपमा पादरी र चर्चको ताण्डवनृत्यले जनतालाई त्राही त्राही बनाएको थियो । शासक वर्गसमेत यसका अगाडि नतमस्तक भई पादरी र चर्चकै आलाप गाउँथे ।

पोप भएको ठाउँमा एक्ली महिला जाँदा बलात्कार भएमा मुद्धा नलाग्ने कानुन थियो । पादरीहरू मुक्तिदाता मानिन्थे, चर्चालाई स्वर्ग ठान्नुपथ्र्यो, जनता तिनका सेवक र दासजस्तै थिए । शासकले भन्दा धर्मले जनताको ढाड, विकासको मेरुदण्ड, समाजको भविष्य सेकाएको थियो । त्यो इतिहास र दृश्यले कार्ल माक्र्सलाई ततायो । यतिबेलासम्म क्रिश्चियन धर्मका मूलसिद्धान्त येशूसँगै मरिसकेका थिए, बाइबलका पन्ना जेरुशलाममै सड्दै थिए ।

शासकलाई पादरी र पोपहरूले निजी कर्मचारीजस्तै बनाएकाले मुख बन्द थिए, आँखा झुकेका थिए, बोली सुकेका थिए । यस्ता निरीह गतिविधिले सामाजिक, जातीय, आर्थिक विभेदमात्र जन्माएन जीवन जीउने मेलो नै हराएको थियो । “जे हुन्छ येशूको इच्छाले हुन्छ । पादरी र चर्चका विरुद्ध गरिने कामले नर्क पु¥याउँछ” भन्ने अन्धविश्वासले ज्ञान, विज्ञान, इतिहास, साहित्य, संस्कृतिलगायतका पक्षहरूको भू्रणहत्या भएको थियो ।

त्यतिबेला न त ज्ञानले श्वास फेर्न पाएको थियो, न त विज्ञानको गर्भधान हुन सकेको थियो, न त विकासलाई पाइला टेक्न अवसर मिलेको थियो, न त सभ्यताले उदाउन पाएको थियो । यसलाई चित्रण गर्दै माक्र्सले क्रिश्चियनधर्मलाई अफिम भने । क्रिश्चियनले प्रकृति र प्रगतिको मुन्टो निमोठेको हुँदा कार्ल माक्र्सको उदाहरण युरोपभरि युगानुकूल भयो । कार्ल मार्क्सले अफिम भनेकै धर्मको आशीर्वाद लिएर नेपालका नयाँअफिमेले हिन्दूधर्मलाई अफिम भने । वेदको ज्ञान, सनातनधर्मको विज्ञान, ऋषिमुनिको अनुसन्धानलाई प्रमादवश कम्युनिष्टभीरुले क्रिश्चियनको चौतारीमा बसी अनुत्पादक र समूहविशेषको खेती सम्झन पुगे ।

युरोपलाई तात्कालिक अवस्थामा क्रिश्चियनधर्मले समाजलाई गलाएको थियो, चर्चले जनतालाई जर्जर बनाएको थियो, पोपहरूले अर्थतन्त्रलाई कब्जा गरेका थिए । एशियालाई उपनिवेश बनाउने, चीनलाई गाँजा र अफिम खुवाउने, इराक र इरानलाई लडाउने, अफ्रिकाको मेरुदण्ड भाँच्ने काम हिन्दूधर्मले गरेको थिएन । संसारलाई निल्न र नियन्त्रण गर्न खोजेको जानकारी मार्क्सलाई थियो । कार्ल मार्क्सलाई मात्र होइन दुनियाँलाई नै जेरुशेलामबाट अफ्रिका पुगेको धर्म पो अफिम रहेछ भन्ने हेक्का हुन थालेको छ । क्रान्तिका नाममा चीनले पुराना धरोहरहरूलाई बल र बमले विनाश ग-यो । पछि होश खुल्यो र गल्ती सुधार ग-यो । थ्यानआनमनलगायतका पुराना राजदरबारहरू संरक्षण गर्दै धर्म र पुरातत्वको महत्वलाई प्राण सम्झे ।

क्रिश्चियनको नशा छामेको, अमेरिकालाई बुझेको, युरोपलाई देखेको चीनले कन्फुसियस, ताओलगायतका धर्मलाई संरक्षण र प्रचार गर्न थालेका छन् । नेपालमा माओवादीले जनयुद्धका नाममा संस्कृतका ग्रन्थ जलाए, संस्कृतिलाई पोले, संस्कारलाई डढाए, मठमन्दिरलाई तोडफोड गरे, जनै र टुप्पीलाई उडाए, पण्डित र विद्वान्हरूलाई तोरीको फूल देखाउने काम गरे । अन्ततः चेत खुलेपछि उनीहरूका महानायकले भैँसी पुजे, सहायक महानायकले थर फेर्ने तयारी गरे । प्रधानमन्त्री बन्ने लोभमा मृतक आमालाई सार्वजनिक नगरेको पापले अर्का कमरेडको राजनीतिक जीवन धरापमा पर्दै गयो ।

बुबालाई जुत्ता, टाईसुटसहित दागबत्ती दिनेले खाली खुट्टामा सन्तानलाई दागबत्ती दिन पुगे । नेपालमा गाई काटे तर परिवारको उपचार्थ भारतीय गाईको गहुँत खुवाए । कोही पशुपतिमा सुनको जलहरी हाल्न हतारिए । नेपालमा अहिलेसम्म एकजनामात्र कम्युनिष्ट जन्मिए ती हुन् राजा महेन्द्र । उनले भूमिसुधार गरे, रजौटा उन्मूलन गरे, उद्योगधन्दा खोले, राजमार्ग खने, विदेशिएका प्रतिभालाई नेपाल भित्राए, त्रि.वि. र नेपाल संस्कृत विश्वविद्यालय सञ्चालन गरे । यो काम राजाको होइन कम्युनिष्टको हो । महेन्द्रको मृत्युसँगै नेपालमा कम्युनिष्ट अस्ताए अब कहिले उदाउँछन् हेर्न बाँकी छ ।

नेपालमा फलेफूलेको धर्मले दुनियाँको कल्याण, प्रकृतिको संरक्षण गरेको थियो । कसैलाई उपनिवेश र दास बनाएन । प्रभाव, दबाबमा कसैमाथि आफ्नो धर्म र संस्कृति लादेनन् । क्रिश्चियनहरूले अनेकौँ बाहनामा अफ्रिकालाई निले, नेपालका नेतालाई किने । १७ औँ देखि १९ औँ शताब्दीसम्म उपनिवेशका नाममा अफ्रिकावासीको हुर्मत नै लिए । जोमो कन्याटाले भनेका थिए “जब इसाईमिसिनरीहरू अफ्रिका आए त्यतिबेला उनीहरूसँग बाइबल थियो, हामीसँग जमिन । उनीहरूले हामीलाई आँखा चिम्लेर प्रार्थना गर्न लगाए । पछि आँखा खोल्दा हाम्रा हातमा बाइबल थियो उनीहरूको हातमा जमिन ।” मत्तबाँदरलाई जेठको मध्य दिनमा रक्सी पियाएर बारुलोले टोकाई छोड्दा जे हर्कत देखाउँछ, त्यही दृश्य देखाए अफ्रिकामा । उनीहरूले अफ्रिकाबासीलाई बेचे, बाँधे, अझ भनौँ पशुको स्थान पनि दिएनन् । शिक्षा र शान्तिका नाममा, विकासका नाममा, हकअधिकारका नाममा युरोप र अमेरिकाबाट जे काम भएका छन् त्यसले आजसम्म कसैलाई राहत मिलेन । त्यसले “म ताक्छु मुढो बञ्चरो ताक्छ घुडो” भनेझैँ बनायो ।

गरिब मुलुकका विभीषणहरूलाई किने, कतै लेखक, कतै मानवअधिकारकर्मी, कतै धर्मगुरुलाई खरिद गरी स्थानीय एवं परम्परागत धर्म, संस्कृति, भाषालाई मशानघाटमा पु¥याए । यो रोग निम्त्याउने धर्मलाई मार्क्सले अफिमको नाम दिए ।

फ्रान्स, स्पेन, निदरल्याण्ड आदि देशमा पोपको अधिकार रक्षाका लागि इन्टविजीशन कोर्टको स्थापना गरिएको थियो । पोप विरुद्ध कुनै गतिविधि गर्नेलाई यसले स्वतन्त्र रूपमा सजाय दिन सक्दथ्यो । पोपलाई राज्यको कानुनले छुन सक्दैनथ्यो । स्पेनमा सन् १४८१ देखि सन् १७८१ सम्म ३१,९१२ जनालाई जिउँदै जलाउने निर्देशन पोपले दिएका थिए । यस निर्णयबाट डराएर १७,६५९ भागेपछि उनीहरूको पुत्ला बनाएर जलाइयो । पोपकै निर्देशनमा २,९१,४५० जनालाई कारावासको सजाय दिइयो । पोप र क्रिश्चियन धर्मलाई सुधार गर्न मार्टिन लुथरभन्दा पहिले बीसपटक अनेकौँ प्रयास पोपबाट दमन गरेर असफल बनाइयो । राज्यसंयन्त्रलाई आतङ्गित र जनतालाई त्रासित बनाउनेलाई माक्र्सले अफिम भने ।

धर्म र व्यापारका नाममा अफिमेहरूले विश्वलाई नचाएको देखेर कार्ल मार्क्सको कलम र विवेकले यसलाई उदाङ्गो बनाउने काम ग-यो । क्रिश्चियन धर्मले हरेक राष्ट्रको शिक्षा, धर्म, राजनीति, व्यापार, संस्कृतिलाई कसरी लङ्गडो बनाएको सजिलै देख्न सकिन्छ । हिन्दू र बौद्धधर्मको अनुयायी बनेर गुरु, शास्त्र, मठमन्दिर, मूर्ति, तीर्थस्थललाई बदनाम गराए । हाम्रा शास्त्रलाई अड्ड्रेजीमा अनुवाद गरी अन्ताराष्ट्रियकरण गर्ने बाहनामा अपव्याख्या गरिदिए । देवीदेवतालाई प्रेत भनिदिए, पृथ्वीनारायण र महेन्द्रलाई तानाशाह बनाइदिए, दशैँको टीकालाई रावण र मानसिंह खड्काको रगत तुल्याइदिए । सन् १५७९मा भारत आएका फादर टाँमस स्टीफेन्सले ‘क्रिश्चियनपुराण’ लेखे ।

सन् १६०५ मा मथुरामा आएकी राबर्ट डि नोबलीले हिन्दू बनेर ‘पञ्चमवेद’को रचना गरिन् । उनीको यस वेदलाई ‘ईसुवेद’ पनि भन्ने गरिन्थ्यो । पाश्चात्यले हरेक महादेशका धर्म र सम्प्रदायलाई चपाउन, संस्कृति र परम्परालाई निल्न, प्राकृति स्रोतलाई लुट्न, इतिहासलाई जलाउन छोडेनन् । इस्लामलाई हतियार बेचेर शिया र शुन्नीबीचको झगडामा चरु होमेर नरसंहारको यज्ञ सम्पन्न गर्दैछन् । नेपालमा त न्वारनको बल लगाएर धर्मशास्त्रलाई जलाउने, इतिहासलाई वङ्ग्याउने, मूर्ति र पुरातात्Œिवक सामग्रीलाई चोरी दिने, जातलाई फुटाइदिने, नेतालाई किनिदिने, एकतालाई टुटाइदिने काम गर्दैछन् । केही अवसरवादीलाई किनेर पत्रकार, मानवाधिकारवादी, राजनीतिकर्मी, समाजसेवीजस्ता रङ लगाइदिए । हकहितका नाममा, आरक्षण र संरक्षणको आवरणमा, समावेसी र समन्वयका काममा नेपालमा ताण्डवनृत्य देखाउँदैछन् ।

शुकरात, पाइथागोरस, कपर्निकस, ग्यालिलियो, ज्यार्दानो ब्रूनो, लुचिलियो बानिनी आदि दार्शनिक तथा वैज्ञानिकलाई दुःख दिने र मार्ने काम गरेको बुझेर माक्र्सले क्रिश्चियनलाई धर्म भन्न रुचाएनन् । कैयौँ पाश्चात्य वैज्ञानिकहरूले बाइबललाई नग्गन साहित्य भने । क्रिश्चियनहरूले योग्यलार्ई देश निकाला गरे, दार्शनिकलाई मृत्युदण्ड दिए, ज्ञान र विज्ञानको भू्रणहत्या गरिदिए । हाम्रा साधुले शिक्षा, सन्तले संस्कार, विद्वान्ले ज्ञान निःशुल्कमा दिन्थे । पाठशालादेखि पाकशालसम्म जनसेवामा समर्पित थिए । प्रकृतिको संरक्षण एवं राष्ट्रलाई जीवन समर्पण गर्थे । माक्र्सले कसलाई अफिम भने आफैँ प्रष्ट हुन्छ ।

मार्क्सले वेद, त्रिपिटक र मुन्धुम पढेका वा यहाँका गुरुकुल देखेका भए धर्मलाई अमृत, शास्त्रलाई श्वास, साधनालाई सम्पत्ति, गुरुलाई देवता र पूजालाई पूँजी भन्ने थिए । ‘कम्युनिष्ट घोषणापत्र’ एवं ‘पूँजी’ नामक ग्रन्थ लेख्न छोडेर वेदको व्याख्या, त्रिपिटकको वर्णन, मुन्धुमका प्रचार गर्ने थिए । साम्यवादमा पुग्न ऋषिले बताएको, सन्तले देखाएको बाटोमा हिँड्न सिकाउँथे । मजदुर दिवस होइन ‘सुमधुर दिवस’ मनाउन लगाउँथे । दुर्भाग्य उनले हाम्रा शास्त्रसँग भेट्न, साधुसँग संगत गर्न पाएनन् नत्र ‘धर्मको मूल वेद हो ’ भनी वेदको फेदमा पुग्न भन्ने थिए । वर्गसंघर्षको औषधि वेद हो, आर्थिक विभेदको औषधि त्रिपिटक हो, मजदुरको औषधि मुन्धुम हो भन्ने थिए ।

तिनका चेलाहरूले नेपालको महत्व, वेदको ज्ञान, पुराणको अनुभव अध्ययन गर्न सके कल्याण हुने थियो । हाम्रा धर्म एवं ग्रन्थभित्र विज्ञान र जीवन थिएन भने पाश्चात्यहरूले टुप्पी कसेर पढ्ने थिएनन् । तिनीहरूका विश्वविद्यालयमा संस्कृतभाषाको पढाई हुने थिएन । ब्ल्याकहोल र सूर्यबाट ॐको ध्वनि आउँछ, अन्तरिक्षबाट पृथ्वीमा संवाद गर्न संस्कृतभाषा चाहिन्छ भन्ने थिएनन् । अरूको प्रगतिलाई ब्वाँसो बनेर सिद्ध्याउने, एकतालाई शकुनि भएर टुटाउने, गौरवलाई गोबर बनाइदिने प्रवृत्ति देखेर माक्र्सले क्रिश्चियनधर्मलाई अफिम भने । त्यो पगरी क्रिश्चियनको हो, युरोपियनको हो, हाम्रो होइन ।

मार्क्सका सिद्धान्त र सोच वेदका मन्त्रलाई सापट लिएझैँ देखिन्छन् । ‘सर्वे भवन्तु सुखिनः’ सबै सुखी रहून्, ‘वसुधैव कुटुम्बकम्’ सबैलाई आफ्नै सम्झý अन्याय गर्नेलाई दण्ड देऊ, शासक जनताका सेवक हुन् भन्ने वैदिक वाक्यभन्दा भिन्न माक्र्सका सिद्धान्त छैनन् । वैदिक साम्यवाद र माक्र्सको साम्यवादलाई गहिरिएर अध्ययन गर्न आवश्यक छ । सनातनधर्मले शान्तिबाट संवृद्धितर्फको यात्रा गर्न सिकाएको छ तर मार्क्सले संघर्षलाई जोड दिएका छन् । गीताले कुकुर र मानिसलाई भेद नगरी समदृष्टिले हेर्न सिकाएको बिर्सेर हामी मार्क्सको लगौटी र क्रिश्चियनको कन्दानी समाउन गइरहेका छौँ । धर्म केवल एउटामात्र हुन्छ, त्यो वैदिक सनातनधर्म हो ।

परमात्मालाई चिनाउने, शास्त्र भएको, ऋषिमुनिहरूलाई जन्माउनेलाई धर्म भनिन्छ । परमात्माबाट धर्म जन्मियो र विश्वलाई धारण ग¥यो । यसैले सनातनधर्म विज्ञानको पुञ्ज, ज्ञानको कुञ्ज हो, जीवनको मुल हो, सम्प्रदायको फूल हो । यो अफिम होइन, आस्था र आश्रय हो ।

ईश्वरबाट धर्म जन्मन्छ, धर्मगुरुले सम्प्रदाय उत्पन्न गर्छन् । धर्मको उत्पन्न सृष्टिपूर्व हुन्छ तर सम्प्रदायलाई धर्मगुरुहरूले उत्पन्न गर्छन् । कुनै सम्प्रदाय जन्मिएको दुई हजार, कुनै हजार, कुनै दुई सय वर्ष भयो । धर्मले धर्मगुरु जन्माउँछ, धर्मगुरुले धर्म जन्माउँदैन सम्प्रदायको स्थापनामात्र गर्छ । परमात्माले शास्त्र दिन्छ । वेद र उपनिषद् शास्त्र हो । धर्मगुरुका विचार र प्रवचनलाई सङ्कलन गरेका पुस्तकलाई ग्रन्थ भनिन्छ । अनेकौँ ऋषिहरूले साधनाबाट मन्त्र देखे । यसलाई संकलन गरी वेद तयार गरियो । वेद लेखिएको होइन, सङ्कलन गरिएको हो ।

पुराण, कुरान महाभारत, बाइबल, त्रिपिटक ग्रन्थ हुन्, यी लिखित रचना हुन् । शास्त्रमा ज्ञान र विज्ञानको रहस्य लुकेका छन् । हामीले शास्त्रको मर्म त बुझेनौँ, यसलाई समयानुकूल सदुपयोग गर्न समेत सकेनौँ । शास्त्र र ग्रन्थलाई जात एवं थरको पेवापात बनायौँ । धर्मव्याध नामको चण्डालले कौशिक ऋषिलाई उपदेश दिए, क्षत्रिय राजा ययातिले राक्षसका गुरु शुक्राचार्यकी छोरी देवयानीसँग विवाह गरे, ब्राéणवंशमा जन्मिएका अगस्त्य ऋषिले लोपामुद्रा नामकी क्षत्रिय कन्यासँग विवाह गरे, शूद्र मानिएका वेदव्यासले वेद सङ्कलन गरे । जातभित्र छुवाछुत होइन सहयोग, सद्भाव र समन्वय छ भन्ने हजारौँ नजीर हामीसँग छन् ।

हामीलाई सिध्याउन पश्चिमाले लेखेको, बोलेको र रटान लगाएको आलापलाई प्रमाण मान्छौँ । भारतले यही मौकाको फाइदा उठाउँदै ऋषि, ग्रन्थ र शास्त्रलाई नीजिकरण गर्न अनेकौँ कसरत गरेको छ । वैदिक संस्कृतिलाई भारतीय संस्कृति बनायो, आर्यभूमिलाई भारतभूमि र पौरत्य दर्शनलाई भारतीय दर्शनमा रूपान्तरण ग¥यो । त्यहाँबाट प्रकाशित ग्रन्थहरूमा नेपालसम्बद्ध ऐतिहासिक सामग्री हटाएर सन्तोष प्राप्त नभएपछि वेदव्यास र बुद्धलाई भारतीय नागरिकता दिलायो । नेपालको इतिहास युरोपियनले लेखिदिने, धर्म र संस्कृतिको जिम्मा भारतले लिइदिने, हाम्रो सरकार धर्मनिपेक्षको खोल ओडेर निरोको बाँसुरी सुन्दै चिरनिद्रामा सुत्ने ।

कुम्भकर्णलाई उठाउन सकिएला सरकारलाई जगाउन सकिँदैन । अहिले हिमवत्खण्ड भएको स्कन्दपुराण प्रकाशमा आउँदैन । हिमवत्खण्डलाई धेरै दुःख गरेर योगी नरहरिनाथले प्रकाशित गर्नुभएको थियो तथापि यसको प्रामाणिकतामाथि बेलाबखत प्रश्न उठ्दछन् । पशुपतिपुराण, हिमवत्खण्ड र नेपालमाहात्म्यजस्ता ग्रन्थहरूले यहाँका देवस्थल, तीर्थस्थल आदिको बारेमा प्रकाश पारेका छन् । यसलाई नष्ट गरेकाले हामी इतिहासका भिखारी, धर्मका सुदामा भएका छौँ । नेपाल गुरु राष्ट्र हो । वेदको सङ्कलन, गायत्रीमन्त्रको उत्पत्ति, महाभारतको लेखन यहीँ भयो । विद्या र साधनाकै ओझले नेपालमा स्रष्टा, वीर, साहसी र तपस्वी जन्मिए ।

हामीले तिरेको करबाट सरकारले इस्लामधर्मावलम्बीलाई हज गर्न पठाउँछ । के कुनै हिन्दूधर्मावलम्बीलाई तीर्थाटन गर्न सरकारले रकम उपलब्ध गराएको छ ? के अन्य धर्ममा यो उदारता छ ? इतिहास नपढ्दा एवं धर्मको मर्म नबुझ्दा वर्ण व्यवस्थाले वर्गव्यवस्थाको रूप लियो । नेपालमा गणतन्त्रको महारोग फैलिएसँगै कम्युनिष्टहरू क्रिश्चियन र क्रिश्चियनहरू कम्युनिष्टजस्ता देखिए । मठमन्दिर, धर्मशास्त्र र वैदिक परम्परामा अत्यचार गर्नेको कहिल्यै कल्याण भएको छैन ।

अफगानीस्थानमा बुद्धका मूर्ति फोर्ने र नेपालमा १० वर्षे जनआन्दोलन गर्नेको हालत के छ ? व्याख्या गर्नुपर्दैन । हाम्रो धर्मले पूजाको माध्यमबाट शान्ति, उपासनाका माध्यमबाट सन्तोष र दानका माध्यमबाट समृद्धिमा सहयोग पु-याएको छ । पुराण आदि लगाएर विद्यालय, बाटो, अस्पताल निर्माण गरी सरकारलाई टेवा दिएको छ । धर्मको नाश हुँदै जाँदा अहिले आत्महत्या, बलात्कार, चोरी र भ्रष्टाचारीले नेटो नाघेको छ । यसको औषधि कुलधर्म र मूल संस्कृतिअनुसार जीउनु हो ।

रत्नाकरलाई बाल्मीकि, मुर्खदासलाई कालीदास, अड्डुलीमाललाई तपस्वी बनाउने काम हाम्रा धर्मले गरेको थियो । धर्मले मानिसलाई बाटोमा हिँडाउँछ, मनलाई सुधार्छ, समाजलाई मिलाउँछ, राष्ट्रलाई चिनाउँछ । सनातनधर्मले ज्ञान, विज्ञान, इतिहासको संरक्षणमात्र गर्दैन कला, भाषा, भातृत्व विकासमा टेवा दिन्छ । यसैले वैदिक धर्म अफिम होइन अज्ञान, अशिक्षा, अशान्तिलाई नाश गर्ने औषधि हो । भूमिलाई पुज्ने, भगवान्लाई बुझ्ने, भावीपुस्ताको भविष्यलाई सोच्ने हिन्दूधर्म न त भाङ हो, न त अफिम हो, यो त अमृत हो ।