२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतलहरले जनजीवन कष्टकर बन्दै



अ+ अ-

मधुवन । शीतलहरले बढेको चिसोका कारण बर्दिया जिल्लालगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया प्रभावित बनेका छन् ।

अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक मानिस घर बाहिर निस्कन सकेका छैनन् । पश्चिमी वायुसँगै तराईमा धेरै चिसो बढेको हो । चिसोका कारण शरीर काप्ने र हातखुट्टा कठ्याङ्ग्रिने गरेको मधुवन नगरपालिका–१ बड्की टडुवाका स्थानीयवासी कुशव थापाले बताउनुभयो । “केही दिनदेखि घामको मुख देख्न पाइएको छैन । केटाकेटी, वृद्धवृद्धा र पशुचौपाया चिसोका कारण धेरै समस्यामा छन्”, उहाँले भन्नुभयो । जाडोले गर्दा दम, रुघाखोकीलगायत समस्या देखिन थालेको छ ।

चिसो बढेपछि सामुदायिक विद्यालय पनि बिदा भएको त्रिभुवन माध्यमिक विद्यालय मधुवन नगरपालिका–१ सूर्यपटुवाका प्राध्यापक इन्द्रबहादुर सुनारले बताउनुभयो । चिसोले नगरभित्र रहेका सामुदायिक विद्यालयमा एक हप्ता जाडो बिदा दिएको मधुवनका शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनालले बताउनुभयो । बर्दियाका आठवटै पालिकाअन्तर्गतका सामुदायिक तथा निजी विद्यालय बन्द भएका छैनन् । केही विद्यालयमा परीक्षा चलिरहेकाले परीक्षा सकिएसँगै माघी र जाडोलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिने तयारी भइरहेको छ ।

शीतलहर तथा तुषारोका कारण कृषि क्षेत्रमा समेत असर पुगेको छ । शीतलहरका कारण आलु, टमाटर, तोरीलगायतका अन्नबाली तरकारीका बिरुवामा क्षति पुगेको छ । घाम नलागेपछि पशुचौपायासमेतले सास्ती खेप्न बाध्य छन् । अत्यधिक चिसो बढेपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले विपन्न, अतिविपन्न परिवारलाई न्यानो कपडाको बन्दोवस्त गर्न सङ्घसंस्थालाई आह्वान गरेको छ । जाडोका कारण बर्दिया अस्पतालमा आउने बिरामीको सङ्ख्यासमेत बढदो छ ।

चिसो बढेपछि बर्दियाका विभिन्न स्वास्थ्यचौकीमा दम, रुघाखोकी, ज्वरोलगायत श्वासप्रश्वासका बिरामीको चाप बढेको सूर्यपटुवा स्वास्थ्यचौकी प्रमुख पूर्णबहादुर खत्रीले बताउनुभयो । यतिखेर चिसो अत्यधिक बढेकाले सावधानी अपनाउनु पनि उत्तिकै आवश्यक छ । चिसोमा तातो झोलिलो पदार्थ पिउनुपर्ने, न्यानोमा बस्ने, आगो ताप्ने गर्न सुझाव दिनुभयो । मौसम रापिलो नहुँदासम्म स्वास्थ्यसँग खेलवाड गर्न नहुने खत्रीको भनाइ छ । जाडोमा बालबालिका, वृद्धवृद्धा तथा गर्भवती, सुत्केरी महिलाले सावधानी अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।रासस