• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए ★   दु:खबाट मुक्ति पाउन मोहिनी एकादशीको व्रत ★   टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह ★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका ★   संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी

व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै



गुल्मी । गुल्मीमा किवी खेतीमा कृषकहरुको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेका किसानहरु आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका छन् ।

विगत १० वर्ष अघिदेखि किवी खेती सुरु गरेका त्यहाँका कृषकहरु यतिबेला किवीको व्यावासायिक उत्पादन सुरु गरेका छन् । भार्षेका कृषकहरुले आफ्नो बारीमा उत्पादन गरेको किवी बिक्री वार्षिक ४० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।

जिल्लामा सबैभन्दा बढी किवी खेती गर्ने पालिकामा सत्यवती गाउँपालिका रहेको छ । सत्यवतीको भार्षेमा हाल २२ हेक्टर क्षेत्रफलमा किवीको व्यावसायिक उत्पादन गरिँदै आएको छ । २२ हेक्टर क्षेत्रफलमा गरिएको किवी उत्पादनबाट यो वर्ष त्यहाँका कृषकहरुले ३८ टन किवी उत्पादन गरेका छन् । भार्षेमा उत्पादित किवी स्थानीय बजारदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म पुग्ने गर्दछ ।

बजारमा उपलब्ध किवीको तुलनामा यहाँ उत्पादित किवीको औसत मूल्य दुई सय रुपैँया रहेको छ । यहाँका कृषकको मुख्य आम्दानी यतिबेला किवी बनेको छ । यो फलमा धेरै पौष्टिक तत्व भएको कारण सबै उमेर समूहका व्यक्तिहरुका लागि उपयुक्त मानिन्छ । किवी खेतीका लागि कृषि ज्ञान केन्द्र गुल्मीले पोल, बिरुवा र सिँचाइमा सहयोग पु¥याउँदै आएको छ ।

व्यावसायिक किवीको उत्पादनमा युवाहरुको चासो बढेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । कृषकहरुलाई किवी खेती गर्न प्रोत्साहित गर्नका लागि ज्ञान केन्द्रले किवीको पकेट क्षेत्र निर्धारण गरी आगामी पोल निर्माणमा थप अनुदान उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

सत्यवती गाउँपालिकाले पनि भार्षेलाई किवीको पकेट क्षेत्र घोषणा गरेको छ । किवी खेतीको व्यावसायिक उत्पादनका लागि कृषकहरुलाई पालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, पोल निर्माण र सिँचाइ लगायतका क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष टीकाराम सापकोटाले बताउनुभयो । भार्षेका शिवलाल थापाले व्यावसायिक रुपमा किवी खेती गर्दै आउनुभएको छ ।

उहाँले किवी बिक्री गरेर वार्षिक तीन लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो । अन्य खेतीको तुलनामा किवी खेतीबाट राम्रो आम्दानी हुने उहाँको अनुभव छ । सिजनमा भार्षेका बारीहरु किवीले ढपक्कै ढाकिएका हुन्छन् । किवी बिरुवाले रोपेको तीन वर्षबाटै फल दिन सुरु गर्दछ । यसले एउटै बोटबाट ६० देखि एक सय किलोसम्म फल दिने गरेको स्थानीय नवीन छन्तेलले बताउनुभयो ।

बाँदर, बँदेल र चराचुरुङ्गीबाट अन्य खाद्यान्न बाली जोगाउन हैरान भएको अवस्थामा किवी खेती त्यहाँका कृषकहरुका लागि बरदान बनेको छ । किवी बढी झुसिलो हुने भएका कारण पनि बाँदर, बँदेल र अन्य चराचुरुङ्गीहरु यसबाट टाढै बस्ने गरेको बताइएको छ । जिल्लामा एक हजार दुई सय मिटरदेखि दुई हजार मिटर उचाइसम्ममा किवी खेती गरिन्छ । गुल्मीमा सत्यवतीलगायत कालीगण्डकी, मदाने, मालिका र धुर्कोट गाउँपालिकाका पनि किवीको व्यावसायिक खेती सुरु गरिएको छ ।