३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

“कोक्रामै कुलत नलगाउन अभिभावकले विचार गर्ने बेला आयो”

“कोक्रामै कुलत नलगाउन अभिभावकले विचार गर्ने बेला आयो”
अ+ अ-

काठमाडौं । रक्सी वा लागूऔषधको कुलतले जसरी छटपटी हुन्छ, त्यसरी नै मोबाइल, इन्टरनेट, फेसबुकको कुलत लागेपछि त्योबिना छटपटाहट हुन थाल्छ । अचेलका आमाबुबाले ‘मेरा नानी बाबु त मोबाइल नभई भातै खाँदैनन्’ भन्दै गर्व गर्छन् ।

आमाबुबाले छोराछोरीलाई मोबाइलमा भिडियो देखाएर खाना ख्वाउन थालेपछि बिस्तारै उनीहरूको यसैमा बानी बस्छ । ठूलो भइसक्दा पनि छोराछोरी मोबाइल नहेरी खानै नखाने भएपछि बल्ल यस्तो बानी समस्या भइरहेको छ भन्ने थाहा पाइन्छ । मोबाइल नभई एकैछिन पनि बस्न नसक्ने, गाँसै नछिर्ने, छटपटी हुने भएपछि आमाबुबाले उनीहरूको मोबाइल हेर्ने बानी ‘कुलत’ मा परिणत भएको बुझ्नुपर्छ । बालबालिका तथा किशोरकिशोरीलाई इन्टरनेट तथा सामाजिक सञ्जालमा लामो समय बस्न दिएपछि उनीहरूलाई यसको कुलत हुन्छ। 

सामाजिक सञ्जालमा एकदमै झुम्मिरहने ब्रिटेनका १४ वर्षीया मोलिर सेलले सन् २०१७ मा आत्महत्या गरिन् । उनको इन्स्टाग्राम एकाउन्ट हेर्दा डिप्रेसन तथा आत्महत्यासम्बन्धी विभिन्न सामग्री देखियो । पछि थाहा भयो, लगातार त्यस्ता सामग्रीहरू हेरेपछि मोलिरको मनस्थिति नै बिग्रिएको रहेछ । उनका बाबुले इन्स्टाग्रामलाई आत्महत्याको दोषी देखे । तर, आफ्नी छोरी कसरी समय बिताउँछिन्, इन्टरनेटमा के हेर्छिन् भनेर बुझ्ने प्रयास नगरेकाले यस्तो घटना हुन गएको पनि भन्न सकिन्छ । 

त्यस्तै केही वर्षअघि ‘स्मार्टफोन’ किन्न एक चाइनिज युवकले आफ्नो मृगौला बेचेका थिए । ‘स्मार्टफोन’ को लतमा फसिसकेका उनले भविष्य के होला भनेर विचारै गरेनन् । ‘कुलतमा’ फसेपछि बुद्धिले काम गर्दैन । बालबालिका र किशोरकिशोरी मात्रै होइन गृहिणीहरू पनि कुलतमा फस्न सक्छन् । सानैदेखि लगातार कम्प्युटर, मोबाइल हेर्ने गर्दा अनेक मानसिक तथा शारीरिक समस्या देखिन सक्छ । 

कति अभिभावकले त फेसबुक चलाउँदा आफ्ना अन्य जिम्मेवारी नै बिर्सिन्छन् । अनि ‘तनाव’ भएपछि छोराछोरीलाई गाली गर्छन् ।
लगातार फेसबुक, इन्स्टाग्राम हेरिरहँदा त्यसैलाई बालबालिका तथा युवाहरूले वास्तविक संसार मान्न पुग्छन् । यदि बालबालिकामा मोबाइल चलाउने बानीका कारण शारीरिक तथा मानसिक दुवै समस्या भए, सामान्य अवस्थामा फर्किन गाह्रो हुन्छ । यस्तो समस्याको रोकथामको एउटै उपाय हो- कम्प्युटर, मोबाइलको ‘कुलत’ नलगाउनु ।

कुलतबाट बच्न बालबालिकाको दैनिकीमा शारीरिक व्यायाम, हिँडाइलगायतले स्थान पाउनुपर्छ । यदि बालबालिका कुलतमा फसे उपचारका लागि समय लाग्ने तथा खर्चिलो पनि हुनसक्छ । यसले मानसिक स्वास्थ्यमा पर्ने असरको उपचार त झनै कठिन छ । यसैका कारण पहिला पहिला ५० वर्ष पुगेपछि देखा पर्ने समस्या युवा अवस्थामै देखिन थालेको छ । इन्टरनेट, फेसबुकको लत लागेकाहरूलाई योगासन, व्यायाम गर्न अल्छी लाग्छ । उनीहरूलाई एकैछिन इन्टरनेट भएन र मोबाइल देखिएन भने संसारै खत्तम भएजस्तो हुन्छ । त्यसको प्रतिफल रिसाउन झगडा गर्न सुरु गरिहाल्छन् ।

बालबालिका तथा वयस्कले पनि लगातार कम्प्युटर र मोबाइल चलाउँदा ढाड तथा गर्धनमा मात्र नभई आँखामा पनि समस्या बढेको छ । कोरोनाकालमा बालबालिकाले लगातार कम्प्युटर र मोबाइल प्रयोग गर्दा चस्मा लगाउनुपर्ने समस्या बढेको छ । यसरी लामो समय मोबाइल, कम्प्युटर हेरिरहँदा आँखा सुक्खा हुन्छ । बालबालिकामा टाढाको नदेखिने समस्या (मायोपिया) बढ्दै गरेको छ । 

अनलाइन कक्षाका कारण बालबालिकामा यस्तो समस्या झनै बढ्ने सम्भावना छ । प्रविधिले मानिसलाई स्वस्थ्य बनाउनु पर्ने हो तर अविवेकशील तरिकाले यसको प्रयोग गर्दा दुःख दिन थालेको छ । यो दुःख एक छिनको मात्र हुँदैन, जीवनभरकै हुनसक्छ । त्यसैले कोक्रामै कुलत नलगाउन अभिभावकले विचार गर्ने बेला भएको छ ।