१७ श्रावण २०८३, आईतवार
,
Latest
दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव ‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा ‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस: ४ केन्द्रीय सदस्य र २ जिल्ला सभापतिमाथि अन्तर्घातको आरोप



Nepali Congress
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसमा चार केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिमाथि निर्वाचनमा अन्तर्घात गरेको आरोपमा कारबाहीको सिफारिस गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घात गर्नेहरुको नामावली पठाउन थप एक महिनाको समय दिएको थियो । केन्द्रीय अनुशासन आयोगका अनुसार हालसम्म चार केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिमाथि कारबाहीको सिफारिस भइसकेको छ ।

पार्टी केन्द्रीय कार्यालयले सुरुमा पुस १५ गतेसम्मको समय दिएको र सोही अवधिमा काभ्रे, सोलुखुम्बु र कपिलवस्तुबाट कारबाहीको सिफारिस आएको हो । कारबाही सिफारिस हुनुअघि नै दोलखाबाट पनि केन्द्रमा उजुरी परेको थियो ।

पार्टीको काभ्रे जिल्ला कार्यसमितिले दुई केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामामाथि कारबाहीको सिफारिस गरेको छ । आचार्यमाथि प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट कांग्रेस उम्मेदवार बनेका शिव हुमागाईंलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।

त्यसैगरी लामामाथि पनि प्रदेशसभा सदस्यमा जिल्ला सभापति तीर्थ लामालाई हराउन भूमिका निर्वाह गरेको आरोप छ । यद्यपि तीर्थ लामाले नेकपा (एमाले) का चन्द्र लामालाई २ मतले मात्र पराजित गरेका थिए ।

काभ्रेकै कञ्चनबादे श्रेष्ठमाथि पनि कारबाही सिफारिस गरिएको छ । उनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री समेत हुन् ।

त्यस्तै सोलुखुम्बुमा जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पामाथि कारबाही सिफारिस गरिएको छ । शेर्पाका साथै केन्द्रीय सदस्य आङ्गेलु शेर्पामाथि जिल्ला सचिव भलाकाजी राई र युवराज घिमिरेले संयुक्तरुपमा केन्द्रीय अनुशासन आयोगमा कारबाहीको सिफारिस गरेका हुन् ।

केन्द्रीय सदस्य र जिल्ला सभापतिले कांग्रेस नेता बलबहादुर केसीलाई पराजित गर्न भूमिका निर्वाह गरेको आरोप लागेको छ । प्रतिनिधिसभा सदस्यमा सोलुखुम्बुबाट नेकपा (एमाले) का मानवीर राईले केसीलाई पराजित गरेका थिए ।

उम्मेदवार केसीले समेत जिल्ला सभापति र केन्द्रीय सदस्यले एमालेलाई मत मागेको आरोप लगाउँदै कारबाहीका लागि उजुरी दिएका थिए ।

कपिलवस्तुमा जिल्ला सभापति अब्दुल कलामसहितका नेताहरुमाथि कारबाहीको सिफारिस गरिएको छ । जिल्ला सभापति कलामसहित नेताहरु वीरेन्द्र कनौडिया, जिल्ला उपसभापति हुमकान्त खनाल, सचिव प्रेमबहादुर रायमाझी, क्षेत्रीय सभापति ब्रह्मानन्द पाण्डेयलगायतमाथि पराजित उम्मेदवार अभिषेक प्रताप शाहले अन्तर्घात गरेको आरोप लगाउँदै उजुरी दिएका थिए ।

त्यस्तै दोलखाका कांग्रेस जिल्ला सभापति बर्मा लामाले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीमाथि अन्तर्घात गरेको भन्दै कारबाहीको माग गरेका छन् । लामाले शिवाकोटीमाथि अन्तर्घात गरेर आफूलाई प्रदेशसभा सदस्यमा पराजित गरेको आरोप लगाएका छन् ।