१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुवोपर्व औपचारिकतामा सीमित



अ+ अ-

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का ९३ वर्षीय डम्बर पाण्डेय १० वर्षअघि बझाङको थलाराबाट महेन्द्रनगर आउनुभयो । उहाँलाई बझाङमा हुँदा महिनौसम्म राति अबेरसम्म भुवो खेलेको सम्झना ताजै छ । तर बझाङबाट महेन्द्रनगर आएपछि भने उहाँले न भुवो खेल्न पाए न देख्न नै ।

“पहिलेको भुवो धेरै रमाइलो हुन्थ्यो गाउँघरमा घर–घर गएर खेल्थ्यौँ”, उहाँले विगत सम्झिँदै भन्नुभयो, “हामी भुवोमात्रै होइन, त्यसपछि भारी खेल, देउडा खेल राति अबेरसम्म खेल्थ्यौँ, धेरै रमाइलो हुन्थ्यो ।”

उहाँले पछिल्लो समय खेलिने भुवो पर्वमा पहिलेको जस्तो मौलिकता नभएको बताउनुभयो ।

“अहिले भुवो खेल्ने मान्छेले पनि त्यति रमाइलो गर्न सकेका छैनन् । भुवो खेल्ने मान्छे पाउनै गाह्रो छ”, उहाँले भन्नुभयो, “अहिले केही युवाहरूले भुवोपर्व बचाउनुपर्छ भनेर एक दिनको कार्यक्रम राख्न थालेका छन् ।”

उहाँले पुस महिनाको औँसीदेखि पूर्णिमासम्म भुवो पर्व खेल्ने प्रचलन रहेको बताउनुभयो । त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसीयाली मनाएको दिनदेखि यो पर्व सुरु भएको किंवदन्ती छ ।

खासगरी यो पर्व सुदूरपश्चिम प्रदेशको बझाङ, अछाम, बाजुरा र कर्णाली प्रदेशको केही भागमा मनाउने गरिन्छ । नेपाल एकीकरणका क्रममा बाइसे–
चौबीसे राज्यका समयमा खेलिने सैनिक अभ्यास र पौराणिक रामराज्यको गाथा समेटिएको भुवो पर्व सुदूर पहाडमा अझै पनि महत्वका साथ मनाउने गरिन्छ ।

भुवो पर्वको धार्मिक महत्वमात्रै नभई यसको सामाजिक, सांस्कृतिक महत्वसमेत रहेको लक्षिधन अधिकारी बताउँछन् ।

“यसमा सबै जातजातिबाट सहभागिता रहन्छ, समाजको एकता एवं आपसी सद्भावसमेत यो पर्वले झल्काउँछ”, उहाँले भन्नुभयो, “भुवो नाचका क्रममा नाङ्गो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शन गरिन्छ ।”

उहाँले यो पर्वमा लोकभाकामा पौराणिक रामराज्यका गाथा गाउँदै शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको बताउनुभयो । भुवोपर्वमा रातभरि आगो बालेर देउडा, भारीखेल, भस्सोलगायत खेल छुट्टाछुट्टै खेल्ने चलन छ । पछिल्लो समय भने यो पर्वको मौलिकता हराउन लागेको प्रति पाकापुस्ताले चिन्ता व्यक्त गरेका छन् ।

“हामीले परम्पराअनुसार पर्व मनाउन सकेका छैनौँ, एक दिनको मात्रै औपचारिक कार्यक्रममा सकिन्छ”, स्थानीय वीरबहादुर अधिकारीले भन्नुभयो, “भुवो त गाउँमा सबैको घर–घरमा गएर खेल्ने र आशीर्वाद साटासाट गर्ने पर्व हो ।”

उहाँले बढ्दो प्रविधिको प्रयोग र युवापुस्ताको अरुचिका कारण यो पर्वको मौलिकता हराउन लागेको बताउनुभयो ।

स्थानीय सञ्जय अधिकारीले भने युवाहरू पढाइ र रोजगारीको सिलसिलामा अन्यत्र रहेकाले युवापुस्ताको सहभागिता हुन नसकेको बताउनुभयो ।

“युवाहरू रोजगारीका लागि देश–विदेशमा छन्, यहाँ भएकाहरू पनि कोही पढाइमा छन्, कोही व्यवसायमा लागेका छन्”, उहाँले भन्नुभयो, “हाम्रो संस्कृतिप्रति युवाको चासो भए पनि विभिन्न कारणले मौलिकता हराउन लागेको छ ।”

उहाँले भुवोपर्वका अवसरमा प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशभरि विदा दिनुपर्ने बताउनुभयो । प्रदेश सरकारले बझाङ, अछाम र बाजुरा जिल्लामा मात्रै सार्वजनिक विदा दिएको छ ।

कैलाली र कञ्चनपुरमा पनि भुवोपर्व मनाइने भएकाले पर्वको विदा प्रदेशभर दिनुपर्ने उहाँले बताउनुभयो ।

“भुवो पर्व शुक्रबार हो, सरकारले विदा नदिएका कारण हामीले शनिबार विदाका दिन यो पर्व मनाएका छौँ”, उहाँले भन्नुभयो, “यो पर्व जोगाउनका लागि पनि सरकारले सार्वजनिक विदा दिन जरुरी छ ।” रासस
(((