८ पुष २०८२, मंगलवार
,
Latest
एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाक्सिला बजारमा भीषण आगलागी, पाँच घर जलेर नष्ट



फाईल फोटो
अ+ अ-

खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आज साँझ भीषण आगलागी भएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारस्थित स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगो अहिले नियन्त्रण बाहिर रहेको प्रत्यदर्शीहरूले बताएका छन् ।

आगलागीबाट अहिलेसम्म पाँचवटा घर तथा दर्जनभन्दा बढी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ । प्रहरीका अनुसार दीपक गुरुङ, रमेश परियार, शुभशेर राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्णरूपमा जलेर नष्ट भएको हो ।

आगलागी नियन्त्रणमा लिन स्थानीय अकबर राईको घर भत्काउने काम भइरहेको गाउँपालिका उपप्रमुख गुरुराज राईले जानकारी दिनुभयो । “आगलागी नियन्त्रणमा लिन गाउँपालिकाको जेसिबी प्रयोग गरेर स्थानीय अकबर राईको जल्दै गरेको घर ढाल्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “आगलागी हुनुको कारण अहिलेसम्म पत्ता लागेको छैन । आगलागीबाट लाखौँको क्षति भइसकेको छ ।”

आगलागीमा परेका अकबर राईबाहेक अन्य सबैको घरमा पसल तथा होटल सञ्चालनमा रहेको गाउँपालिका उपप्रमुख राईले जानकारी दिनुभएको छ । दीपकको घरमा स्थानीय रत्ना गुरुङको कपडा पसल, रमेशको घरमा टेलर्स, शुभशेरको घरमा गाउँपालिका प्रमुख समीर राईको स्टेसनरी पसल तथा सोही घरको माथिल्लो तलामा इन्द्रा राईको होटल रहेको जनाइएको छ ।

डिल्लीकुमारको घरमा स्वयं डिल्लीकुमारको कपडा पसल तथा उहाँका छोरा पवन श्रेष्ठको कपडा र भाँडा पसल रहेको थियो । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको गाउँपालिका उपप्रमुख राईले जानकारी दिनुभयो ।

जस्तापाताको छाना तथा ढुङ्गामाटोले बनेको परम्परागत घर भएका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो । “आगलागीमा परेका सबै घर आपसमा जोडिएका छन्”, उहाँले भन्नुभयो, “दमकल अभावका कारण ठूलो क्षति भएको छ । अहिले प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणको प्रयास गरिरहेका छन् ।”

बाक्सिला बजारमा आगलागी हुनाका कारण अहिलेसम्म पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीमा लाखौँको धनमाल जलेर नष्ट भए पनि अहिलेसम्म मानवीय क्षति भने हुन नपाएको प्रनाउ मुकारुङले जानकारी दिनुभयो । रासस
–––