• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

बुधबार कांग्रेस संसदीय दलको निर्वाचन हुने



काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार बिहान निर्वाचन हुने भएको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले निर्वाचन समिति गठन गरेको थियो । बुधबार बिहान निर्वाचन गराउने तयारीस्वरुप सोमबार बिहान उक्त निर्वाचन समितिको बैठक बसेको थियो ।

समितिकी सदस्य पुष्पा भुसालका अनुसार संसदीय दलको नेता निर्वाचन बुधबार बिहान ८ बजे देखि गर्ने तयारी भइरहेको छ ।

“कार्यसम्पादन समितिको निर्णयबोजिम हामी जतिसक्दो छिटो निर्वाचन सम्पन्न गरेर दलको नेता चयन गर्ने गरी छलफल सुरु गरेका छौँ, बुधबार बिहान चुनाव गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो ।

कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा भुसाल र अर्का केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र सरकार गठनको आह्वान गरेसँगै कांग्रेसभित्र चाँडोभन्दा चाँडो संसदीय दलको नेता चयन गर्नुपर्ने अवस्था आएको छ ।

गठबन्धन दलहरुबीच संसदीय दलको नेता चयन भएपछि मात्र शक्ति बाँडफाँट गर्ने समझदारी भएअनुसार कांग्रेसले सांसदहरुले सपथ ग्रहण गर्नुअघि नै संसदीय दलको चुनाव गर्न लागेको हो ।

कांग्रेसमा दलको नेता बन्न एकभन्दा बढीले उम्मेदवारी दिए निर्वाचन प्रक्रियामा जानुपर्ने संसदीय दलको विधानमा उल्लेख छ । कांग्रेसमा संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।

संसदीय दलको नेता चयन गर्न कांग्रेसको प्रतिनिधिसभामा ८९ सदस्य रहेका छन् ।