१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

दक्षिण कोरियाबाट फर्केर बङ्गुरपालन

दक्षिण कोरियाबाट फर्केर बङ्गुरपालन
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलाञ्चोकका बङ्गुर फार्मसम्म पुग्यो । यसले त्यस क्षेत्रका बङ्गुरहरु फार्मभित्रै मर्न थाले ।

दक्षिण कोरियाबाट फर्केर सुनिल र अनिता स्याङ्तान दम्पतीले एक वर्षअघि सुरु गरेको ‘उन्नती हाम्रो बङ्गुर फार्म’ पनि अफ्रिकन स्वाइन फ्लुको सङ्क्रमणबाट अछुतो रहेन । अफ्रिकन स्वाइन फ्लुले स्याङ्तानको फार्ममा ३८ वटा माउ बङ्गुर मार्‍यो । माउ बङ्गुर नै नरहेपछि तीन सय ८० भन्दाबढी बच्चा दूध खान नपाएर मरे । यसले स्याङ्तान दम्पतीलाई व्यवसायको पहिलो वर्षमै ठूलो धक्का लाग्यो ।

“जेठमा अफ्रिकन स्वाइन फ्लु नआएको हुँदो हो त बङ्गुर फार्ममा गरेको डेढ करोड लगानी उठिसकेको हुन्थ्यो”, सुनिलले भन्नुभयो, “अफ्रिकन स्वाइन फ्लु सङ्क्रमणको जोखिम अझै पनि छ ।” बङ्गुरपालनको पहिलो वर्षमा प्रतिफल लिने समयमा स्वाइन फ्लुका कारण व्यवसायमा नराम्रो धक्का लागे पनि स्याङ्तान दम्पतीले भने हरेस खाएको छैन ।

मलेसियामा छ वर्ष नौ महिना सेक्युरिटी गार्डको काम गरेपछि सुनिल २०७१ सालमा नेपाल फर्किनुभयो । त्यो बेलामा दक्षिण कोरिया जानका लागि भाषा परीक्षाको तयारी चलिरहेको थियो । उहाँले पनि बागबजारको इन्स्टिच्युटमा भाषा परीक्षा पढ्न थाल्नुभयो । काभ्रेपलाञ्चोक खानिखोला(६ का स्याङ्तानले दुई महिनाको तयारीमा भाषा परीक्षा उत्तीर्ण गर्नुभयो र अर्को छ महिनामा इपिएसमार्फत् दक्षिण कोरियामा कृषि क्षेत्रमा कामका लागि छनोट हुनुभयो ।

उहाँलाई दक्षिण कोरियामा बङ्गुर फार्ममा काम मिल्यो । पैसा राम्रो भए पनि दुःख असाध्यै थियो । स्याङ्तानले त्यसलाई दुःखका रुपमा नलिई सिक्ने अवसरका रुपमा लिनुभयो । कोरियामा काम गर्दा बङ्गुरलाई कृत्रिम गर्भाधारण गर्नेदेखि हुर्काउने र बजार पठाउनेसम्मको कामको जिम्मेवारी उहाँकै काँधमा आइपर्‍यो ।

त्यसो त कोरिया जानुअघि सुनिल र अनिता लामाको विहे भएको थिएन । कोरिया जाँदा पहिलो वर्ष सुनिल बङ्गुर फार्ममा र अनिता स्ट्रबेरी फार्ममा काम गर्नुभयो । त्यसको दुई वर्षपछि २०७४ मा नेपाल फर्किएर विवाह गर्नुभयो । “विहेपछि दुवै कोरिया फर्कियौँ र एउटै बङ्गुर फार्ममा काम गर्न थाल्यौँ”, उहाँले भन्नुभयो, “दुवै जनासँगै भएकाले काम गर्न सजिलो पनि भयो भने बङ्गुरपालनबारे धेरै सिक्ने मौका पनि पायौँ ।”

कोरियामा श्रमिकका रुपमा पाँच वर्ष बिताएपछि सम्झौताबमोजिम उहाँहरु नेपाल फर्कने समय आयो । उहाँहरुले नेपाल फर्केर के गर्ने भन्ने योजना बनाउँदै गर्दा कोरियामा सिकेको सीप, दक्षता र रकम खर्चेर स्वदेशमै बङ्गुरपालन गर्ने निर्णय लिनुभयो । “हामी कोरियामै छँदा नै नेपाल फर्केपछि बङ्गुरपालन नै गर्ने सोच बनाइसकेका थियौँ”, उहाँले भन्नुभयो, “दुवैको सोच मिलेपछि नेपाल फर्कन सहज भयो ।”

उहाँहरु २०७६ फागुनमा नेपाल फर्कनुभयो तर चैतदेखि नै कोरोना महामारीले छोयो, राज्यले बन्दाबन्दीको घोषणा गरेकाले बङ्गुरपालनको योजना केही समय पर धकेलियो । कोरोना महामारीको जोखिम केही कम भएपछि २०७७ असोजमा घरेलु कार्यालयमा फार्म दर्ता गरी कात्तिकदेखि खोर निर्माणको काम सुरु भयो । फार्म निर्माण र कोरियाबाट प्राविधिक सामग्री मगाएर जडान गर्दा २०७८ जेठदेखि मात्रै बङ्गुरपालन व्यवसाय सुरु भयो ।

स्याङ्तान दम्पतीले पनौतीमा पाँच रोपनी क्षेत्रफल जमिन वार्षिक रु ७५ हजार तिर्ने गरी भाडामा लिएर बङ्गुर फार्म सुरु गर्नुभएको छ । यसमा दक्षिण कोरियामा यो दम्पतीले कमाएको रु डेढ करोड लगानी भएको छ । फार्म निर्माणमा मात्रै रु ७५ लाख खर्च भएको छ । “सुरुमा पाँचखालमा फार्म सुरु गर्ने योजना थियो तर ठाउँ खोज्दै जाँदा पनौतीमा फेला पर्‍यो”, उहाँले भन्नुभयो, “फार्मबाट वार्षिक नौ सयभन्दा बढी बङ्गुर उत्पादन र बिक्री गर्ने योजना बनाएका छौँ ।”

स्याङ्तानले बङ्गुरपालन सुरु गर्दा दोलखाको जिरीबाट २६ वटा ल्यान्डरस जातिको बङ्गुरको बच्चा ल्याउनुभयो । केही समयपछि त्यो सङ्ख्यालाई ५० पु¥याउनुभयो । ल्याण्डरस जातिको बङ्गुरलाई कम दाना खुवाउँदा पनि मासु बढ्ने र माउको दूध पनि धेरै आउने उहाँको भनाइ छ ।

फार्ममा बङ्गुरलाई कृत्रिम गर्भाधारणदेखि हुर्काउनेसम्मका चरणका लागि छुट्टाछुट्टै संरचना बनाइएको छ । फार्ममै बङ्गुरलाई कृत्रिम गर्भाधारण गराइन्छ । माउ र बच्चालाई राख्ने छुट्टै कक्ष छ । बच्चा जन्मिएपछि करिब ३० देखि ३२ दिनसम्म बच्चालाई माउसँग राखेपछि अगल्लै राखिन्छ । बङ्गुरको बच्चालाई विभिन्न चरणमा गरी छ महिना हुर्काएपछि मासु बिक्रीका लागि योग्य हुन्छ ।

यस फार्मबाट माउ, बच्चा, हुर्कँदै गरेको बङ्गुरदेखि वयस्क बङ्गुर मात्र होइन, बङ्गुरको बिर्य पनि बिक्री हुन्छ । बङ्गुर पालनमा धेरै माउका लागि धेरै भाले बङ्गुर पाल्न सम्भव हुँदैन । एउटै भालेको बिर्यबाट धेरैलाई गर्भधारण गराउनका लागि ‘सिमन एक्सटेन्डर’ प्रयोग गर्ने उहाँको भनाइ छ । “सामान्यतयाः एउटा भाले बङ्गुरबाट निकालेको बढीमा एक सय एमएल बिर्यमा सिमन एक्सटेन्डर मिसाएर एक लिटरसम्म बनाउँछौँ,” उहाँले भन्नुभयो, “यसो गर्दा एउटा भालेको बिर्यले १८ वटासम्म पोथी बङ्गुरलाई पुग्छ भने २० घण्टासम्म राख्न सकिने अवधिलाई बढाएर १२ दिनसम्म काम लाग्ने बनाउँछौँ ।” यस्तो बिर्यलाई १७ डिग्री तापक्रममा राख्नुपर्छ । यसका लागि पनि फार्ममा विशेष व्यवस्था गरिएको उहाँको भनाइ छ ।

पछिल्लो समय स्याङ्तानले काभ्रेका अन्य बङ्गुर फार्ममा पनि कृतिम गर्भधारणका लागि सेवा दिँदै आउनुभएको छ । कृत्रिम गर्भधारणको सेवा सहज हुँदा अन्य फार्मलाई भाले बङ्गुर पाल्नुपर्ने झन्झट पनि हटेको छ ।

फार्ममा करिब ५० वटा माउ राख्न सक्ने क्षमता छ । बङ्गुरहरुले गर्ने दिसापिसाबलाई सिधै ‘सेप्टिक ट्याङ्की’मा जाने व्यवस्था मिलाइएको छ । फार्ममा बच्चा राख्नका लागि २६ डिग्रीको तापक्रम भएको कक्षको पनि व्यवस्था छ ।

फार्म पूर्णरुपमा सञ्चालन आएपछि मासिक एक सय वटा बङ्गुरका बच्चा जन्मनेछन् भने प्रत्येक छ महिनापछि ती सबै बिक्रीका लागि योग्य हुनेछन् । उहाँले औसतमा वार्षिक नौ सयभन्दा बढी बङ्गुर बिक्री गर्ने योजना बनाउनुभएको छ । हाल फार्ममा ३० वटा माउ र २० वटा अहिले साना बङ्गुर छन् । यी बङ्गुरका लागि उहाँको कम्पनीले चितवन, हेटौँडा र पाटन औद्योगिक क्षेत्रबाट दाना आपूर्ति गर्दै आएको छ ।

बङ्गुरपालनमा सामान्यतयाः ४० प्रतिशत खुद नाफा हुनसक्ने उहाँको भनाइ छ । उहाँले बजारीकरणका लागि काठमाडौँमा डिलरमार्फत् बिक्री गर्नुका साथै मासु खपतका लागि आफ्नै सेकुवा कर्नर खोल्ने योजना बनाउनुभएको छ । हाल उहाँसँग दुई वटा मासु पसल पनि छ ।

स्याङ्तानले हालै व्यवसाय विस्तारका लागि नबिल बैंकबाट सहुलियत ब्याजदरमा रु २९ लाख कर्जाका लागि आवेदन दिनुभएको छ । उहाँका अनुसार स्वाइन फ्लु नभएको भए यो वर्षसम्म उहाँले रु दुई करोड आम्दानी गरिसक्नुहुन्थ्यो र अहिले कर्जा लिनुपर्ने अवस्था हुन्नथ्यो । अफ्रिकन स्वाइन फ्लुका कारण डेढ करोड लगानी उठ्न सकेन । यद्यपि स्याङ्तान दम्पती भने आगामी दिनमा बङ्गुरपालनबाट राम्रो आम्दानी हुनेमा भने ढुक्क देखिनुहुन्छ । रासस