२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीको नियमित कामकारबाही पार्टी कार्यालयबाटै



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थाल्नुभएको छ । 

अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरु पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गर्नुभएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । बिहीबारपनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । 

प्रधानमन्त्री रहँदा उहाँले प्रधानमन्त्री निवास बालुवाटारबाटै पार्टीका सम्पूर्ण बैठक गर्दै आउनुभएको थियो । अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले जानकारी दिनुभयो । अध्यक्ष ओलीको स्वास्थ्यमा कुनैपनि समस्या नरहेको र उहाँ सक्रिय रुपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था रहेको उहाँको भनाई छ । कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘पार्टी केन्द्रीय कार्यालयमा अलि व्यवस्थित गरेर उहाँहरुलाई अर्को कुनै अप्ठ्यारो नहोस्, भीडभाड नहोस् भन्ने कुरालाई ध्यानमा राखेर कार्यकक्षहरुको व्यवस्था भएको छ । उहाँको भेटघाट गर्ने रुमको व्यवस्था छ । हामीले व्यवस्थित ढंगले नै भेट्ने र अरु पार्टीका कामहरु गर्ने वातावरण केन्द्रीय कार्यालयमा तयार भएको छ ।’

सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । पार्टी अध्यक्ष ओलीको अत्यावश्यक बैठकहरु भौतिक उपस्थिति बिना  भर्चुअल माध्यमबाट पनि गर्न सकिने गरी पार्टी कार्यालयमा भर्चुवलरुम तयार गरेको जानकारी दिनुभयो ।