७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय
अ+ अ-

भादगाउँ । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा आज नेवार समुदायले घरघरमा पिँडालु र सख्खर खण्ड उसिनेर खाँदै सकिमना पुन्ही अर्थात् पिँडालु उसिन्ने पूर्णिमा मनाउँदैँछन । सकिमना पुन्ही विशेष गरेर नेवार समुदायमा रहेको भजन खलः, दाफा भजन खलःहरुले विशेष पर्वको रुपमा मनाउँछन् ।

आजका दिन गत कोजाग्रत पूर्णिमादेखि सुरु गरिएको एक महिने रात्रिकालीन भजनकीर्तनलाई समापन गर्ने दिनको रुपमा पिँडालु उसिनेर खाने र नशाः (मकै, भटमास, गहुँ र ताय)बाट भगवान्का आकृति बनाउने र त्यसैलाई प्रसादको रुपमा बाँडेर खाने प्रचलन रहेको छ ।
यस दिन नेवार समुदाय टोल–टोलमा रहेका दाफा भजन खलःले नशाःबाट आ–आफ्नो टोलमा भएका मठमन्दिर तथा भगवान्को आकृति बनाउँछ ।

आकृति बनाउँदा गहुँ विछ्याएर ताय ९धानको लावा० र कालो भटमासबाट भगवान्को स्वरुप बनाइन्छ । त्यसलाई चारैतिर भुटेको मकैले घेरा लगाइन्छ । त्यसमाथि पुरी र माल्पुवाले घेरेर फूलको मालाले सिङ्गारपटार गरी दक्षिणा चढाइ दियो बालेर भजनकीर्तन गरिन्छ ।

कोजाग्रत पूर्णिमाको दिनदेखि दैनिक रुपमा हुने भजनकीर्तन समापन हुने भएकोले प्रत्येक घरमा एक एक जनाले व्रतबसी विभिन्न ठाउँका नारायण र महादेव मन्दिरमा गई पूजा गर्ने गर्दछन् । पूजामा माल्पुवा, पुरी, नशाः, गाईको दूधबाट बनाइएको खिर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खरखण्ड आफ्ना टोलमा भएका देवीदेवता, महादेव र नारायण देवतालाई प्रसादको रुपमा चढाउँछन् ।

यसरी पूजा चढाउँदा प्रसादका रुपमा मन्दिरबाट नशाः लिएर आउने गरिन्छ । साँझ चन्द्रमा उदायपछि चन्द्रमा र तुल्सीलाई गाईको दूध राखेर अध्र्यसहित पूजा गरिन्छ । मन्दिरबाट ल्याइएको प्रसादस्वरुप नशाःसहित अन्य परिकार घरका सबै सदस्यलाई दिएर आषिश दिने भोजन गर्ने परम्परा रहको छ ।

ऋतु अनुसारको भोजन भगवान्लाई चढाएर मात्र खाने पर्वको रुपमा सकिमना पुन्हीलाई लिने गरिन्छ । पुन्हीका दिन विषेशगरी नारायणको पूजाआराधना गरिने हुनाले नेपाल संवत्को बाह्रमहिनाको पहिलो पुन्हीमा भगवान् नारायणलगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तिका साथै शरिरमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

वर्षभरिको बाह्रवटा महिनाको प्रत्येक पुन्हीमा भगवान्लाई फरक–फरक भोजन प्रसादको रुपमा चढाइने नेवार समुदायको संस्कार र संस्कृतिअनुसार कात्तिक शुक्ल पुन्हीका दिन कन्दमूल, खिर र नशाःलाई प्रसादको रुपमा भगवानलाई चढाइने संस्कृतिकर्मी बताउँछन् । नेवार समुदायले ऋतु अनुसारको उब्जनी भएका अन्न पहिला आफ्ना ईष्ट देवलाई चढाएर मात्र खाने प्रचलनअनुसार आजको दिन पिँडालु, सख्खरखण्ड, नशाःलगायत भोजन प्रसादको रुपमा चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुहुन्छ । यसले शरिरमा तागतदिनाका साथै शरीर स्वस्थ्य हुने जनविश्वास रहेको उहाँको कथन छ । अन्नपातबाट बनाएको भगवान्को आकृतिबाटै मठमन्दिर तथा भगवान्को मूर्तिको विकास भएको पुरोहित एवं संस्कृतिकर्मी हरिशरण राजोपाध्यायको भनाइ छ ।

उहाँका अनुसार प्राचिनकालमा मानिसले अन्नपात उत्पादन गर्न नजानेको समयमा कण्दमुललाई सबैभन्दा पहिलो भोजनको रुपमा ग्रहण गरेका थिए । त्यसपछि अन्नपात उब्जनी गर्न थालियो । त्यति बेलासम्म नेपालको कुनै पनि ठाउँमा भगवान्को मठमन्दिरको विकास भएको थिएन । उहाँ भन्नुहुन्छ, “पछि मानिसले त्यही अन्नबाट विभिन्न मठमन्दिर र भगवान्को आकृति कोरेपछि विस्तारै यसको विकसित रुपमा विभिन्न मठमन्दिर निर्माण हुन थाल्योे । त्यसकोस्वरुप सकिमना पुन्हीका दिन नशाःमा भगवान्को आकृति बनाएर त्यसलाई पूजा गरी कण्दमुललाई प्रसादका रुपमा चढाएर खाने प्रचलन थालिएको हो ।”

नेवार समुदायमा नशाःलाई सकिमना पुन्हीको दिनमा मात्र नभइ गणेश चतुर्थीका दिनमा पनि प्रसादको रुपमा चढाइ पूजा गर्ने परम्परा छ । साथै गुफा राख्दा गुफा बसेका बालिकालाई सूर्यसँग विवाह गर्ने क्रममा पनि प्रसादस्वरुप नशाः खुवाउन जाने परम्परा छ । त्यसैगरी जन्मदिनका अवसरमा पनि नशाः दान गर्ने प्रचलन रहेको छ । रासस