८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जल र सूर्यको पूजाआराधना गरिने पर्व: छठ

जल र सूर्यको पूजाआराधना गरिने पर्व: छठ
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व सुरु भएको छ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाइन्छ ।

आज सूर्योेदयकालमा तृतीया तिथि भए पनि मध्याह्न १२ः२८ बजेदेखि चतुर्थी तिथि लाग्ने भएकाले आजैदेखि छठ पर्वको विधि सुरु गरिएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन आज बर्तालु स्नान गरी चोखो खाएर बस्छन् । व्रतको पहिलो दिन घर एवं छठ पूजा स्थललाई सफाइ गर्ने परम्परा पनि छ ।

सूर्यदेवको आराधना, उपासना र पूजा गरेर मनाइने यो पर्व पूरा नहोउन्जेलसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि उपभोग गर्दैनन्। आज चतुर्थीका दिनलाई अरबाइन वा अरबा भनिन्छ । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित यो पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा पनि मनाउन थालिएको हो ।

विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिँदै आएको छ । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो । यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने गरिन्थ्यो ।

रानीपोखरीमा भूकम्पपछि पुनःनिर्माणका क्रममा पानी नभएकाले केही वर्ष छठ मनाउन रोकिएको थियो । विसं २०७७ असोजमा रानीपोखरी पुनःनिर्माण सकिएपछि पनि त्यहाँ छठ मनाउन थालिएको छैन । यस वर्ष रानीपोखरीमा छठ मनाउन माग भएकाले दिने विषयमा छलफल भइरहेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

व्रतको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा निर्जल उपवास बस्ने गरिन्छ । यस दिन बेलुकी घरमा खीर बनाएर चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका रमेश झाले बताउनुभयो ।

“षष्ठीका दिन बर्तालुले ठेकुवा, फलफूल, मिठाई र रोटी सूर्य एवम् छठी मातालाई चढाउने गर्छन्, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”, उहाँले भन्नुभयो ।

षष्ठीका दिन पकवान, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा पुग्ने र डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताउने गरिन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएर बिसर्जन गरिन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ ।

बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको गुह्येश्वरीस्थित छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले बताउनुभयो ।

“पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवम् सूर्यबाट भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो”, उहाँले भन्नुभयो ।

कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट सुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ ।

सूर्यको पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पतिपत्नीको दीर्घायु एवम् अविवाहित केटाकेटीले सुयोग्य वरवधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।

यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताउनुभयो ।

सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारेकीले यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको एकाथरीको मत छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकीले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्परा सुरुआत भएको अर्काथरीको भनाइ छ ।

राजधानीको गुह्येश्वरीदेखि गौरीघाटको वाग्मती किनारमा छठ घाट निर्माण भइरहेको छ । यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको छ । दुवै स्थानमा कात्तिक १३ गते बेलुकी राष्ट्रपतिले विशेष पूजा एवं छठ पर्व अवलोकन गर्नुहुने कार्यक्रम रहेको बताइएको छ ।

यस वर्ष कात्तिक १३ गते बेलुकी अस्ताउँदो र कात्तिक १४ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने कार्यक्रम रहेको जनाइएको छ । छठ बर्तालु भने कार्तिक शुक्ल षष्ठीका दिन रातभर नदी किनारमै बस्छन् । नदी किनार एवं तलाउमा सूर्यका भजन एवं भक्ति सङ्गीतले वातावरण रमाइलो बनाउँछ । रासस