८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

देउसीभैलो: बाजा बजाउँदै पोखरादेखि बागलुङसम्म

देउसीभैलो: बाजा बजाउँदै पोखरादेखि बागलुङसम्म
अ अ+ अ-

ढोरपाटन । सोमबार साँझपख बागलुङ बजारको हल्लनचोकमा ठूलो भीड थियो । त्यो भीडमा कोही नाचिरहेका थिए । कोही बाजा बजाइरहेका थिए । त्यो दृश्य देख्दा लाग्थ्यो कि यहाँ कसैको विवाह भइरहेको छ । तर त्यो थिएन । यस भीडमा पोखरा महानगरपालिका–२६ देखि आएका मगर नौमती बाजा समूहले बागलुङे युवालाई नचाइरहेको थियो । बाजा बजाउनेमा अधिकांश महिला थिए । सनाइँ, कर्नाल र बिकुल बजाउने भने पुरुष थिए । उनीहरुले पञ्चेबाजा पोसाकमा सजिएर देउसीभैलोसमेत खेलेका थिए ।

पोखरा अघौँचोकबाट आएका मगर बाजा समूहको उद्देश्य भैलो खेलेर आर्थिक सङ्कलन गर्नेभन्दा पनि लोप हुँदै गएको नौमती पञ्चेबाजाको संरक्षण र प्रचारप्रसार गर्नु थियो । नौमतीबाजासहित देउसीभैलो खेल्दै बागलुङ आएका उनीहरुले मौलिक गीतलाई जोड दिएका थिए । मौलिक कला, संस्कृतिको संरक्षणमा जुटेको यो समूहले प्रचार कार्डहरु पनि दर्शकहरुलाई बाँडिरहेको थियो । बजारमा यमपञ्चक सुरु भएदेखि देउसीभैलो खेल्ने टोली धेरै थियो तर उनीहरुको भन्दा नौमती बाजा समूहको प्रस्तुति बिल्कुलै फरक थियो । जसमा मौलिकता झल्किन्थ्यो ।

मगर बाजा समूहकी सचिव रोजी पुन मगरले नौमतीबाजा हराउँदै गएपछि देउसीभैलोसँगै बाजालाई जोड्न थालेको बताउनुभयो । उहाँले पछिल्लो समय बाजा बजाउने प्रचलन घट्दै गएको र आफूहरु सङ्गठित भएर यसको संरक्षणमा लागेको बताउनुभयो । पुनले पहिले–पहिले दलित समुदायले बाजा बजाउने गरे पनि पछिपछि मगर समुदायमा पनि यो प्रचलन आएको बताउनुहुन्छ । “बाजा बजाउनु कला हो, सीप हो, दलितले मात्रै बजाउनुपर्छ भन्ने छैन, जसको हातमा सीप छ उसैले बजाउने हो, पहिला दलित समुदायका दाइभाइहरुले बजाउनु हुन्थ्यो, पछि गएर हामी मगरहरुले पनि बजाउन जान्यौँ, पहिले पुरुषहरुले मात्रै बजाउनुहुन्थ्यो भने अहिले महिलाहरुले पनि बजाउँछौँ”, पुनले भन्नुभयो, “हामी यहाँ आएको देख्दा धेरैलाई पैसा उठाउन आएका हुन् भन्ने लागेको होला, हामी त्यो नभएर, नौमती बाजा संरक्षणका लागि प्रचारप्रसार गर्ने उद्देश्यले आएका छौँ, तिहारको बेला भएको हुँदा देउसीभैलो खेल्ने त स्वाभाविक नै भयो ।”

उहाँले पहिले–पहिले विवाह, छैटी, भातखुवाइ र ठूला सभासमारोहमा बाजा बजाउने प्रचलन भए पनि पछिल्लो समय कम हुँदै गएको बताउनुभयो । बाजा निश्चित समुदायले बजाउने गर्दै आएकामा उनीहरुले अहिले चासो देखाउन छोडेपछि नौमती बाजा सङ्कटमा पर्दै गएको पुनको भनाइ छ । उहाँले बाजा बजाउन जान्ने जुन समुदायको मानिसले पनि बजाउन सक्ने भन्दै आफूहरु यसको संरक्षणमा जुटेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “हामीहरुले सुरुमा बाजा बजाउँदा धेरैले नराम्रो सोच्नु भयो तर अहिले राम्रो मान्नुहुन्छ, जे काम पनि सीप भएकाले गर्ने हो, काम जान्यो भने जुन काम पनि गर्दा हुन्छ, कसैको निधारमा लेखेको हुँदैन, तैँले यो काम गरे भनेर, काम त जान्नेले गर्ने हो, पहिले दलित समुदायले बजाउनुहुन्थ्यो, अहिले उहाँहरुले बजाउन छोड्दै जानुभयो, हामीहरुले चासो दियौँ बजाउन थाल्यौँ, केही समस्या छैन, अहिले धेरै ठाउँबाट बाजा बजाउने माग आउँछ ।”

उक्त समूहमा ढोलकी बजाउने नरबहादुर पुनले पञ्चेबाजाको आफ्नै प्रकारको शैली र महत्व भए पनि पछिल्लो पुस्ता आधुनिकतातिर केन्द्रित हुन थालेपछि सङ्कटमा पर्दै गएको गुनासो गर्नुभयो । पञ्चेबाजाप्रति पछिल्लो पिँढीलाई जिम्मेवार बनाउन आफूहरु लागिरहेको उहाँको भनाइ छ । पुनले नयाँलाई सिकाउनकै लागि आफू पोखरादेखि बागलुङसम्म आएको बताउनुहुन्छ ।

“मैले पहिलेदेखि नै बाजा बजाउन जानेको थिएँ, बजाएँ पनि, अहिलेका युवा पुस्तामा सिक्ने भन्ने ध्यान छैन, खाली विदेशी गाना गाउने मात्रै गर्छन्, अहिले हाम्रा ठिटाहरुले निकै चासो दिए, यिनीहरुसँगै साना केटाकेटीहरुलाई पनि सिकाउनुपर्छ भनेर म बुढो पनि यहाँसम्म बजाउँदै आएको छु”, उहाँ भन्नुहुन्छ, “कसैले पनि नराम्रो नमान्दिनु होला, यो त संस्कृति हो, बचाउनु पर्छ ।”

पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक नौमतीबाजा जोगाउन युवाहरुलाई आफूले नै सक्रिय बनाएको पुन बताउनुहुन्छ । पहिले गाउँमा बाजा बजाउने समूह नै नपुगेको भन्दै अहिले सिक्दै गरेका नयाँ युवाहरुले गर्दा बजाउन हिँड्न थालेको पुनको भनाइ छ । “अहिले नयाँ युवा केटाहरुले गर्दा टिम पुगेको छ, पहिले त टिमै पुग्दैनथ्यो, अहिले छोरी बुहारीहरुले पनि बजाउन सिके, अब यिनीहरुले छोडेनन् भने केही वर्ष बजाउन सक्नेछौँ”, पुनले भन्नुभयो । नौमती मगर बाजा समूहका अध्यक्ष जीवन पुन मगरले देउसीभैलोसँगै बाजा संरक्षणको प्रचाप्रसारका लागि बागलुङसम्म आएको बताउनुभयो ।

बागलुङ पनि पञ्चेबाजामा प्रख्यात जिल्ला भएको हुँदा अरू ठाउँमा पनि अझै बाजा बजाउने प्रचलन रैछ भन्ने सन्देश दिन आएको उहाँको भनाइ छ । पुन मगर भन्नुहुन्छ, “बागलुङमा दलित समुदायका दाइभाइहरुले अहिले पनि बाजा बजाउँदै आउनुभएको छ, तर हाम्रोतिर कम भएको छ, यो जिल्ला निकै चर्चित छ, पञ्चेबाजामा त्यही भएर हामीहरु अरू ठाउँमा पनि अझै बाजा बजाउने प्रचलन रैछ है भन्ने सन्देश छोडौँ र हाम्रो प्रचार गरौँ भनेर आएका हौँ ।”

उहाँले आफूहरुले अग्रजबाट सीप सिकेको भन्दै अनुजलाई पनि सिकाइरहेको बताउनुभयो । पुनले बाजा बजाउने प्रचलन दिनप्रति दिन घट्दै जान थालेपछि आफूहरुले गाउँमा सङ्गठन बनाएरै संरक्षणमा जुटेको बताउनुहुन्छ । अहिले पुनः बाजा बजाउने प्रचलन बढ्न थालेको उहाँको भनाइ छ । “करिब पाँच वर्ष जति त बाजा बजाउने प्रचलन निकै कम भएको थियो, हामी युवाहरु एक पटक गज्जबले कस्सियौँ, त्यसपछि बाजा बजाउन सिक्यौँ, बाजाहरु किन्यौँ, बजाउन थाल्यौँ, अहिले फेरि लयमा फर्किन थालेको छ”, उहाँभन्नुहन्छ, “अहिले बाजा बजाउनका लागि धेरै ठाउँबाट माग आउँछ, हामीहरु सक्ने जति ठाउँ पुग्ने गरेका छौँ, यसले हामीलाई स्वरोजगरा पनि बनाएको छ ।” रासस