८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कृत्रिम फूलका मालाले ‘मखमली र सयपत्री’ ओझेलमा

कृत्रिम फूलका मालाले ‘मखमली र सयपत्री’ ओझेलमा
अ अ+ अ-

सुर्खेत । ‘मखमली फूल्दा मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको गीत हो यो । यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ । शरद ऋतुको आगमनसँगै सहर बजार र गाउँघरतिर यो गीत धन्किन थाल्छ ।

यो गीत घन्किन सुरु भएसँगै हिन्दूहरुका चाडपर्व सुरु भएको सङ्केत पनि मिल्छ । दसैँ तिहारको समयमा बज्ने यो गीतले खेतीपाती भित्र्याउने चटारोसँगै नेपाली समाजलाई चाडपर्वले छपक्कै छोपेको आभास दिलाउँछ । पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली र सयपत्री फूल नै खोज्ने गर्दछन् ।

दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले मखमली फूलको मालालाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइन्छ । ‘दाई मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो तर दाजु भाइटीकामा नआएको पीडा झस्काइदिन्छ । तिहारका अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी मखमली फूलको माला लागाइदिन्छन् ।

सयपत्री फूलसँग गाँसेर मखमली फूलको महत्वलाई जोगाइराख्न भाइटीकामा दाजुभाइलाई मखमली फूलको माला लगाइदिने गरिन्छ । पछिल्लो समय भने गाउँघरतिर मखमली फूल हराउँदै गएको छ । फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारमा गएर प्लाष्टिकका माला किनेर ल्याउने बढेका छन् । “तिहारमा कुन फूलको माला लगाउने हो अबका पुस्ताले महत्व चिन्नै छाडेजस्तो लाग्यो”, वीरेन्द्रनगर नगरपालिका–४ का खगेन्द्र खनालले भन्नुभयो, “गाउँघरमा यो फूल पाउनै मुस्किल छ ।”

मखमली फूल लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले अहिले यो फूल गाउँघरमा पाइनै छाडेको पनि बताउनुभयो । “मखमली फूल सुन्दै तिहारको झल्को आइहाल्छ, पहिला–पहिला त घर वरपर दुई/चार वटा बोट भए पनि मखमली फूल हुन्थ्यो, अहिले त फूलमा त्यति महत्व नदिदा गाउँघरमा यस्ता परम्परागत चलनचल्तीमा आएका पर्व विशेष महत्व राखेका मखमली लगायतका फूलको संरक्षण हुन नसक्दा लोप हुँदै गएको छ”, खनालले भन्नुभयो ।

दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपालीका लागि तिहारको अभिन्न अङ्ग बनिसकेको छ । वीरेन्द्रनगर नगरपालिका–५ का प्रकाश आचार्य तिहारमा मखमली फूलको महत्व नबुझेर लोप हुन लागेकामा चिन्ता व्यक्त गर्नुहुन्छ । मखमली फूल हराउँदै जाँदा यसको संरक्षणमा कसैले चासो नदेखाएको उहाँले बताउनुभयो ।

आचार्यले भन्नुभयो, “तिहारजस्तो पर्वमा पनि दाजुभाइलाई मखमली फूलको माला पहिराउन नपाउँदा तिहार खल्लोजस्तो हुन्छ, पहिला त घर वरिपरि बारीका डिल, कान्ला जताततै मखमली फूलमात्रै हुन्थे, हिजोआज भेटिँदैनन् ।” अहिले बजारमा आएका सस्ता र कृत्रिम फूलका मालाले मखमली र सयपत्री फूल लोप हुँदै गएको पनि उहाँले बताउनुभयो ।

सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्री झैँ सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिए तापनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रङमा फूल्ने मखमली तिहारमा विशेष लोकप्रिय र महत्वपूर्ण मानिन्छ । संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्दा पनि सुन्दर मानिन्छ । नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् ।

मखमली फूल नेपालीका लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फूल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ । छुँदा घोच्ने, मखमलको कपडाजस्तो सेता, गाढा कलेजी र हल्का रातो रङमा फूल्ने गर्दछ । यस फूललाई नरम मखमली नाम दिइन्छ । पछिल्ला वर्षका तिहारमा मखमली फूलको माला देखिनै छाडेको छ । अर्कोतर्फ मखमली फूलसँगै गाउँघरमा फूलने सयपत्री र गुर्धौली फूल पनि देखिन छाडेको वीरेन्द्रनगर नगरपालिका–४ का लोकप्रसाद रेग्मीको भनाइ छ ।

कृत्रिम मालामा उपभोक्ताको आकर्षण
पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढेपछि सयपत्री, मखमली र गुर्धौली फूल लोपोन्मुख भइसकेको छ । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फूले पनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको छ ।

प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढ्दै जाँदा तिहारमा मखमली फूलले विशेष महत्व राखे पनि गाउँघरमा संरक्षण नगरिँदा हराउँदै गएको लोकप्रसाद रेग्मीको भनाइ छ । हिन्दू धार्मिक परम्पराअनुसार चाडपर्वमा सोहीअनुसारका फूल र माला प्रयोग गर्नुपर्ने भए पनि विश्वकर्मा बाबाको पूजादेखि तिहारसम्म पनि कतिपयले प्लाष्टिकका माला प्रयोग गर्ने गरेका छन् ।

सुर्खेतको बजारमा रहेका कस्मेटिक पसलदेखि सडक छेउका ठेलामा समेत रङ्गीचङ्गी कृतिम मालाको छ्याप्छ्याप्त देखिन्छन् । तिहार नजिकिँदै गर्दा बजारभरि कृत्रिम माला बिक्रीका लागि छ्याप्छ्याप्ती राखिएका छन् । सरकारले प्लाष्टिकका फूलका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरणमा पूर्ण रोक लगाए पनि उपभोक्ताको आकर्षण भने कृत्रिम मालामै बढी देखिन्छ ।

चाडपर्वमा चाहिने जति फूलको माग धान्न नसकेर पनि छिमेकी देश भारतबाट हरेक वर्ष धेरै मात्रामा प्लाष्टिकका कृतिम मालाहरु भित्रिने गरेका छन् । सुर्खेतमा प्राकृतिक फूलले अभाव पूर्ति गर्नसक्ने अवस्था रहे पनि कर्णालीका पहाडी जिल्लामा भने अहिले पनि थानका थान भारतीय बजारमा बनेका प्लाष्टिकका कृत्रिम माला पुग्ने गरेका छन् ।

सुर्खेतमा लामो समयदेखि कस्मेटिक व्यवसाय गर्दै आएकी अमृता शर्मा न्यौपानेले कर्णालीका पहाडी जिल्लाबाट हरेक वर्ष चाडपर्वमा कृत्रिम मालाको माग बढ्ने गरेको बताउनुभयो । “चाडपर्वको सिजनमा पहाडी जिल्ला र सुर्खेतको पश्चिमतिरको व्यवसायीले अधिकांश माला लैजानुहुन्छ”, उहाँले भन्नुभयो, “पहिलेजस्तो पूmल नपाइने भएकाले कृत्रिम माला धेरै बिक्री हुन्छ ।”

वीरेन्द्रनगरको तल्लो बजारमा रहेको फिरोज कस्मेटिक पसल पनि अहिले प्लाष्टिकका मालाले ढपक्कै ढाकिएको छ । दसैँ सकिएलगत्तै पूरै पसलभरि मालाले मात्रै ठाउँ पाएको छ । रु ५० देखि रु। एक हजारसम्म पर्ने कृत्रिम माला हरेक वर्ष तिहारका समयमा यसरी नै सजाएर बिक्री गर्दै आएको पसल सञ्चालक फिरोज खानले बताउनुभयो । “पहिलो कुरा त माला बनाउने फूल नै अभाव हुन्छ, पाइए पनि महँगो पर्छ”, उहाँले भन्नुभयो, “पैसा नहुनेले त चाडपर्वका बेला फूलमालामा खर्चिनुभन्दा बरु खानपिनमै खर्च गर्छन् ।” कृत्रिम माला नझर्ने, नओइलाउने, नसुक्ने र अर्को साल पनि बिक्री गर्न सकिने भएकाले पनि उपभोक्ताको आकर्षण रहेको पसल सञ्चालक फिरोज खानले बताउनुभयो ।

आर्थिकरुपमा पनि सस्तो पर्ने हुँदा कृत्रिम फूलमालातिर आकर्षण बढेको उहाँले बताउनुभयो । उहाँले रु ५० देखि रु एक हजार मूल्यसम्मका माला बेच्ने गरेको बताउनुभयो । प्राकृतिक फूलप्रतिको लगाव भए पनि बिक्रीका लागि सहज नहुँदा समयस्या भएको उहाँ बताउँछन् । प्राकृतिक फूल बिग्रिने र व्यापारमा घाटा लाग्ने भएकाले कृत्रिम फूलमाला बेच्ने गरेको उहाँको भनाइ छ ।

अहिले वीरेन्द्रनगरका कस्मेटिक तथा फुटपाथका पसल रङ्गीबिरङ्गी ‘कृत्रिम’ मालाले सजिएका छन् । व्यापारीले कृत्रिम मालाले पसल झकिझकाउ पारेका छन् । रेशम, प्लाष्टिक र रङ्गिन कपडाबाट बनाइएका कृत्रिम मालाको व्यापार बढेको वीरेन्द्रनगरका अर्का कस्मेटिक पसल सञ्चालक प्रकाश गिरीले बताउनुभयो । यसरी बिक्री हुने माला स्वदेशी उत्पादन भने होइनन् । हाल बजारमा उपलब्ध सबै माला भारतबाट आयात गरिएका माला भएको गिरीले बताउनुभयो । यस वर्ष बजारमा भारतबाट आयातित प्लाष्टिकका मालाहरुको प्रभाव रहेको व्यापारी स्वयं स्वीकार गर्छन् ।

हरेक वर्ष दसैँ, तिहार जस्ता चाडबाडमा फूल र फूलबाट निर्मित माला भारतबाटै आउने गरेको छ । गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनुसँगै फूलहरुको खेती पर्याप्त नहुँदा अहिले बजारमा रहेका कृतिम मालाको प्रयोग बढेको व्यावसायीहरु बताउँछन् । हिन्दू परम्पराअनुसार हरेक धार्मिक कार्यमा फूल अनिवार्य हुन्छ । पछिल्लो समय तिहारमा घरमै फूलेको फूलको मालाभन्दा पनि बजारमा पाइने कृत्रिम मालाको प्रयोग बढ्दै गएकोप्रति संस्कृतिप्रेमी चिन्ता व्यक्त गर्छन् । उहाँहरुका अनुसार आयातित फूल, माला, किन्नुभन्दा घर–आँगनमै फूल हुर्काउन सकिन्छ । बरु व्यावसायिकरुपमै फूलको खेती गरी मनग्य कमाउन सकिने तर्क उहाँहरुको छ ।

फूल विनाको तिहार कल्पना गर्न सकिँदैन । तिहारको अस्तित्व कृतिमतामा होइन, प्राकृतिकतामा छ । मखमली, गोदावरी, सयपत्री र हजारीलगायतका फूलहरु फूल्ने मौसममै तिहार पर्नु त्यसको प्रमाण हो । आधुनिकता र सहजताका नाममा पछिल्लो समय तिहारलगायतका विभिन्न चाडपर्वमा कृतिमताको प्रभाव बढ्दै गएको पाइन्छ । यसले नेपाली मौलिकपन हस हुनुका साथै कृत्रिम मालाका लागि करोडौँ रुपैयाँ भारत जाने गरेको बताउनुहुन्छ, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेल । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र प्लाष्टिकजन्य पदार्थको खपत घटाउनकै लागि सरकारले कृतिम फूलमालामा चर्को कर लगाए पनि आयातमा कमी आउन नसकेको अध्यक्ष कँडेलको भनाइ छ ।