५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकालीपारी कुतियाकबरवासी भन्दछन्ः ‘चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्’



अ+ अ-

बेदकोट । महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन् ।

स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई भ्याइनभ्याई छ । मत माग्न आइरहेका उम्मेदवारका पुरानै आश्वासन सुनेर स्थानीय वाक्कदिक्क भइसकेका छन् । “चुनाव आयो भनेमात्रै नेता हामीलाई सम्झन्छन्, जितेर गएपछि फर्केर पनि हेर्दैनन्”, स्थानीय बिनु सुनारले भन्नुभयो, “हामी कुन हविगतमा बसेका छौँ, उनीहरू सबै बिर्सिन्छन् ।”

यो गाउँ महाकाली नदी र जोगबुढा नदीले घेरेर बनेको टापुमा छ । यो भारतसँग जोडिएको सीमावर्ती नेपाली गाउँ हो । यहाँ चार सयभन्दा बढी व्यक्तिको बसोबास छ । कुतियाकबरवासीको समस्या समाधानमा जनप्रतिनिधिहरूले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । उनीहरु बर्सेनि महाकाली र जोगबुढा नदीमा आउने बाढीको चपेटामा पर्छन् ।

“सबैभन्दा ठूलो समस्या महाकाली र जोगबुढा नदीको छ, नदीले जमिन कटान गरेर सकिसक्यो”, स्थानीय खड्के बुढाले भन्नुभयो, “बाढी आएर ज्यान जोगाउन मुस्किल पर्छ ।” गत कात्तिकमा आएको बाढीले सबैभन्दा बढी प्रभावित बनेको थियो, कुतियाकबर । विसं २०२८ मा तत्कालीन सरकारले बसालेको यो बस्ती महाकाली नदी कटानले बगरमा परिणत हुँदै गएको छ ।

“पहिला दुई सय बढी घरधुरी थिए, नदीले जमिन बगर बनेपछि स्थानीय यहाँबाट विस्थापित भएका छन्”, उहाँले भन्नुभयो, “अहिले ४० परिवारमात्रै बस्छन् ।” सीमा जोगाएर बसेका कुतियाकबरका स्थानीयले मत माग्न पुग्ने नेताहरूलाई पक्की तटबन्ध बनाएर महाकाली नदीबाट आफूहरूलाई बचाउन आग्रह गर्ने गरेका छन् ।

“महाकाली उच्चो भइसक्यो, हामी होचो भूभागमा छौँ, तटबन्ध निर्माणका लागि सधैँ भन्ने गरेका छौँ”, स्थानीय हरेन्द्र सुनार भन्नुहुन्छ, “नेताहरू चुनावका बेला गर्छौँ त भन्छन् तर पछि गाउँमा फर्केर मुख पनि देखाउँदैनन् ।” गाउँमा बाढी आएको बेला बस्न मिल्ने ‘सेफ हाउस’ (मचान) बनाउनुपर्ने उहाँको माग छ । चुनावमा मात्रै सम्झिने नेताले कुतियाकबरवासीलाई ‘भोट बैंक’का रूपमा मात्रै प्रयोग गर्ने गरेको स्थानीयको बुझाइ छ ।

“कात्तिकको बाढीले जग्गा जमिन, लत्ताकपडा, पशुचौपाय, खाद्यान्न सबै बगायो, खेतीयोग्य जमिनमा पूरै बालुवा भरिएर खेती लगाउन नसकिने भएको छ”, स्थानीय ऐनबहादुर सुनारले भन्नुभयो, “यस्तै विपत्तिको बेलामा पनि सरकारले हाम्रो पीडा सुनेन, भोकभाकै बसिरहेको बेला केही संस्थाले खाना खुवाए ।” स्थानीयवासीलाई चुनावताका उम्मेदवारहरूले कुतियाकबरलाई ‘विकास नगर’ बनाउँछौँ भनेर बाँडेको सपना अझै सम्झनामा छ ।

‘कुतियाकबरलाई विकास नगर बनाउँछौँ भनेका थिए, विकास गर्नु त परको कुरा पाइला पनि टेकेनन्” उहाँले भन्नुभयो, “मतदान त गर्नैपर्छ, जसले पक्की तटबन्ध निर्माण गरेर कुतियाकबरलाई जोगाउँछ भन्ने विश्वास लाग्छ उसैलाई मत दिन्छौँ ।” कुतियाकबरमा सीमा, सुकुम्बासी, स्वास्थ्य, शिक्षाको पनि निकै समस्या रहेको स्थानीय बिनु सुनार बताउनुभयो ।

“दशगजा स्पष्ट छैन, हामीहरू वर्षौँदेखि लालपुर्जाविहीन छौँ”, उहाँले भन्नुभयो, “बाटोघाटो छैन, स्वास्थ्य संस्था, विद्यालय नहुँदा भारततिर जानुपर्छ ।” प्रमुख समस्याका रूपमा रहेको महाकाली र जोगबुढा नदीको कटान रोक्न पक्की तटबन्ध निर्माण गरेर कुतियाकबरवासीको मत लैजान स्थानीयवासीले नेताहरूलाई भनेका छन् ।

“बर्दीबिनाका सिपाही भएर सीमाको रक्षा गरेर बसेका छौँ, टापुमा बसेका हामी कुन दिन बाढीको भेलसँगै बगेर जान्छौँ पत्तो छैन”, बिनु सुनारले प्रश्न गर्दै भन्नुभयो, “जितेर जाने प्रतिनिधिले हाम्रो पीडा किन सुन्दैनन् ?” रासस




भर्खरै