८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

महाकालीपारी कुतियाकबरवासी भन्दछन्ः ‘चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्’

महाकालीपारी कुतियाकबरवासी भन्दछन्ः ‘चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्’
अ अ+ अ-

बेदकोट । महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन् ।

स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई भ्याइनभ्याई छ । मत माग्न आइरहेका उम्मेदवारका पुरानै आश्वासन सुनेर स्थानीय वाक्कदिक्क भइसकेका छन् । “चुनाव आयो भनेमात्रै नेता हामीलाई सम्झन्छन्, जितेर गएपछि फर्केर पनि हेर्दैनन्”, स्थानीय बिनु सुनारले भन्नुभयो, “हामी कुन हविगतमा बसेका छौँ, उनीहरू सबै बिर्सिन्छन् ।”

यो गाउँ महाकाली नदी र जोगबुढा नदीले घेरेर बनेको टापुमा छ । यो भारतसँग जोडिएको सीमावर्ती नेपाली गाउँ हो । यहाँ चार सयभन्दा बढी व्यक्तिको बसोबास छ । कुतियाकबरवासीको समस्या समाधानमा जनप्रतिनिधिहरूले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । उनीहरु बर्सेनि महाकाली र जोगबुढा नदीमा आउने बाढीको चपेटामा पर्छन् ।

“सबैभन्दा ठूलो समस्या महाकाली र जोगबुढा नदीको छ, नदीले जमिन कटान गरेर सकिसक्यो”, स्थानीय खड्के बुढाले भन्नुभयो, “बाढी आएर ज्यान जोगाउन मुस्किल पर्छ ।” गत कात्तिकमा आएको बाढीले सबैभन्दा बढी प्रभावित बनेको थियो, कुतियाकबर । विसं २०२८ मा तत्कालीन सरकारले बसालेको यो बस्ती महाकाली नदी कटानले बगरमा परिणत हुँदै गएको छ ।

“पहिला दुई सय बढी घरधुरी थिए, नदीले जमिन बगर बनेपछि स्थानीय यहाँबाट विस्थापित भएका छन्”, उहाँले भन्नुभयो, “अहिले ४० परिवारमात्रै बस्छन् ।” सीमा जोगाएर बसेका कुतियाकबरका स्थानीयले मत माग्न पुग्ने नेताहरूलाई पक्की तटबन्ध बनाएर महाकाली नदीबाट आफूहरूलाई बचाउन आग्रह गर्ने गरेका छन् ।

“महाकाली उच्चो भइसक्यो, हामी होचो भूभागमा छौँ, तटबन्ध निर्माणका लागि सधैँ भन्ने गरेका छौँ”, स्थानीय हरेन्द्र सुनार भन्नुहुन्छ, “नेताहरू चुनावका बेला गर्छौँ त भन्छन् तर पछि गाउँमा फर्केर मुख पनि देखाउँदैनन् ।” गाउँमा बाढी आएको बेला बस्न मिल्ने ‘सेफ हाउस’ (मचान) बनाउनुपर्ने उहाँको माग छ । चुनावमा मात्रै सम्झिने नेताले कुतियाकबरवासीलाई ‘भोट बैंक’का रूपमा मात्रै प्रयोग गर्ने गरेको स्थानीयको बुझाइ छ ।

“कात्तिकको बाढीले जग्गा जमिन, लत्ताकपडा, पशुचौपाय, खाद्यान्न सबै बगायो, खेतीयोग्य जमिनमा पूरै बालुवा भरिएर खेती लगाउन नसकिने भएको छ”, स्थानीय ऐनबहादुर सुनारले भन्नुभयो, “यस्तै विपत्तिको बेलामा पनि सरकारले हाम्रो पीडा सुनेन, भोकभाकै बसिरहेको बेला केही संस्थाले खाना खुवाए ।” स्थानीयवासीलाई चुनावताका उम्मेदवारहरूले कुतियाकबरलाई ‘विकास नगर’ बनाउँछौँ भनेर बाँडेको सपना अझै सम्झनामा छ ।

‘कुतियाकबरलाई विकास नगर बनाउँछौँ भनेका थिए, विकास गर्नु त परको कुरा पाइला पनि टेकेनन्” उहाँले भन्नुभयो, “मतदान त गर्नैपर्छ, जसले पक्की तटबन्ध निर्माण गरेर कुतियाकबरलाई जोगाउँछ भन्ने विश्वास लाग्छ उसैलाई मत दिन्छौँ ।” कुतियाकबरमा सीमा, सुकुम्बासी, स्वास्थ्य, शिक्षाको पनि निकै समस्या रहेको स्थानीय बिनु सुनार बताउनुभयो ।

“दशगजा स्पष्ट छैन, हामीहरू वर्षौँदेखि लालपुर्जाविहीन छौँ”, उहाँले भन्नुभयो, “बाटोघाटो छैन, स्वास्थ्य संस्था, विद्यालय नहुँदा भारततिर जानुपर्छ ।” प्रमुख समस्याका रूपमा रहेको महाकाली र जोगबुढा नदीको कटान रोक्न पक्की तटबन्ध निर्माण गरेर कुतियाकबरवासीको मत लैजान स्थानीयवासीले नेताहरूलाई भनेका छन् ।

“बर्दीबिनाका सिपाही भएर सीमाको रक्षा गरेर बसेका छौँ, टापुमा बसेका हामी कुन दिन बाढीको भेलसँगै बगेर जान्छौँ पत्तो छैन”, बिनु सुनारले प्रश्न गर्दै भन्नुभयो, “जितेर जाने प्रतिनिधिले हाम्रो पीडा किन सुन्दैनन् ?” रासस