• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   ईपीजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ : प्रधानमन्त्री ★   अष्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरको सन्यास ★   विशेष महाधिवेशन गरेर राप्रपा नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: रेखा थापा ★   काली नदी पूर्वका सबै भूभाग नेपालको रहेकामा स्पष्ट छौँः प्रधानमन्त्री ★   रासिद खानले बनाए विश्व कीर्तिमान ★   ‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई ★   वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित ★   क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी ★   मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ: प्रधानमन्त्री ★   मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग

सिटौलालाई आफ्नैको डर, लिङ्देनलाई एमालेको भर



काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नं ३ मा पनि चासो बढ्न थालेको छ । यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन प्रमुख प्रतिस्पर्धीका रुपमा रहेका छन् ।

राजनीतिमा झापाका मतदातालाई अत्यन्त चलाख मानिन्छ । त्यसमा पनि झापा निर्वाचन क्षेत्र नं ३ का मतदाताले हरेक संसदीय निर्वाचनमा अघिल्लोपटक जितेका उम्मेदवारलाई पराजित गरेर त्यस्तो चलाखी देखाइदिएका छन् ।

विसं २०४८ सालदेखि २०७४ सम्मको संसदीय निर्वाचनलाई हेर्ने हो भने यहाँका मतदाताले कुनै पनि उम्मेदवारलाई लगातार जिताएर पठाएका छैनन् । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का द्रोणप्रसाद आचार्यले सिटौलालाई पराजित गरेका थिए । आचार्यको क्यान्सरबाट निधन भएपछि २०५० मा भएको उपनिर्वाचनमा सिटौलाले एमालेका लीला उदासीलाई पराजित गरे । त्यतिबेलासम्म सिटौलालाई कृष्णप्रसाद भट्टराई खेमाको नेता मानिन्थ्यो ।

२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा फेरि सिटौला एमालेका पुष्प पोखरेलसँग पराजित हुन पुगे । त्यसपछि २०५६ वैशाखमा भएको निर्वाचनमा झापा–३ बाट उनले एमाले उम्मेदवार नारायण राजनवंशीलाई पराजिति गरी प्रतिनिधिसभामा आफ्नो स्थान पक्का गरे ।

त्यसैबेलादेखि पार्टीभित्र पनि आन्तरिक रुपमा गुट परिवर्तन गर्दै सिटौला भट्टराईलाई छाडेर गिरिजाप्रसाद कोइरालातिर ढल्किए र पार्टीको केन्द्रीय राजनीतिमा प्रभावशाली हैसियत बनाए । विसं २०६२/६३ सम्म त उनी कोइरालाको अतिविश्वासपात्रका रुपमै रहे ।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा उनलाई झापा–३ मा माओवादीका पूर्णप्रसाद राजवंशीले पराजित गरे । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा झापा–३ मा उम्मेदवार बनेका उनले राप्रपाका राजेन्द्र लिङ्देनलाई पराजित गरे । लिङ्देनले नै २०७४ सालको संसदीय निर्वाचनमा भने एमालेको समर्थनमा सोही क्षेत्रबाट सिटौलालाई पराजित गरिदिए ।

यसरी सो क्षेत्रका मतदाताले हरेक संसदीय निर्वाचनमा मुलुकका चार प्रमुख दल ९कांग्रेस, एमाले, माओवादी र राप्रपा० का उम्मेदवारलाई जिताएर फरक फरक स्वाद पस्कँदै आएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदाताले फेरि पनि अघिल्लो विजेतालाई नदोहोर्याउने रणनीति अख्तियार गरे भने यसपटक सिटौलाको पल्ला भारी भएको देखिन्छ ।

तर सिटौलालाई यस पटकको निर्वाचन जित्न फलामको च्युरा चपाउनु सरह मानिन्छ । किनकी झापा जिल्लामा कांग्रेसको आन्तरिक राजनीतिले पनि उनलाई जित्न कठिन हुने देखिन्छ ।

झापामा पार्टी महामन्त्री विश्वप्रकाश शर्मा र सिटौलाबीच समानान्तर गतिविधि सञ्चालन भइरहेको देखिन्छ । केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवाले संस्थापनको र डा शेखर कोइरालाले संस्थापन इतरको नेतृत्व गर्दै आए पनि झापामा यिनीहरुको भूमिका गौण देखिन्छ । यहाँ सिटौला र शर्माको प्रभाव स्पष्ट देखिन्छ ।

केन्द्रमा महामन्त्री शर्माभन्दा सिटौला अहिले कमजोर देखिए पनि सिटौलाले प्रदेशस्तरमा आफ्नो भूमिका विस्तार गर्दै गएका छन् । पार्टी महाधिवेशनमा सिटौलाले आफू निकट उद्धव थापालाई प्रदेश सभापति र देउमान थेवेलाई जिल्ला सभापति बनाइसकेका छन् ।

महाधिवेशनमा थापाले शेखर समूहका गुरुराज घिमिरेलाई र थेवेले शर्मा निकट राम कट्टेललाई पराजित गरेका थिए । यति मात्र नभएर सत्ता गठबन्धनमा सिट बाँडफाँट कार्यदलको संयोजक भएर सिटौलाले थापालाई प्रदेश १ को प्रदेशसभा सदस्यका लागि समानुपातिक सूचीमा पहिलो नम्बरमा राखेका छन् भने थेवेलाई त झापा क्षेत्र नं ४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार नै बनाएका छन् ।

पार्टीमा महामन्त्री भएर शक्तिशाली हैसियत बनाएका शर्मा भने झापा राजनीतिमा कमजोर देखिएका छन् । त्यसैले सिटौला पक्षले झापाको राजनीतिमा शर्मालाई सधैँ ‘पेलेको’ अनुभव गर्न सकिन्छ ।

सिटौलाकै असहयोगले २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ को संसदीय निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं १ बाट शर्मा पराजित भएको शर्मा निकट कार्यकर्ता बताउने गर्छन् । यसपटक पनि यी दुई नेताबीचको दूरीलाई गत स्थानीय तहको निर्वाचनले अझ बढाएको बताइन्छ ।

शर्माको गृहनगर रहेको मेचीनगर नगरपालिकामा यसपटकको स्थानीय निर्वाचनमा कांग्रेसका मेयरका उम्मेदवार पराजित भएका थिए । २०७४ को स्थानीय निर्वाचनमा सोही नगरपालिकाबाट कांग्रेसका उम्मेदवारले जित्दा यसपटक भने पराजित हुनु सिटौलाकै असहयोग हुनु सार्वजनिकरुपमा चर्चा हुने गरेको छ । किनभने स्थानीय तहको निर्वाचनमा पनि सत्ता गठबन्धनका अन्य दलको साथ हुँदाहुँदै पनि कांग्रेसका उम्मेदवार एमालेका उम्मेदवारसँग पराजित बन्न पुगे । यसमा सिटौला पक्षका कार्यकर्ताको प्रमुख भूमिका रहेको बताइन्छ ।

आसन्न प्रतिनिधिसभाको निर्वाचनमा पनि यी दुई नेताबीच एकअर्कालाई असहयोग हुने सम्भावना देखिन्छ । सिटौलालाई निर्वाचन जित्न आफ्नै कार्यकर्ताबाट दरिलो साथको जरुरी छ । बाहिर देखिँदा शर्मा र सिटौलाले आफूहरुबीच कुनै तुष नरहेको जनाए पनि आन्तरिकरुपमा यी दुई बीच चरम ‘दुश्मनी’ रहेको छ ।

अर्कोतिर संसदीय राजनीतिमा कुनै अनुभव हासिल नगरेका र पार्टीभित्र महामन्त्रीसम्म पुगी राप्रपाबाट २०७४ सालको संसदीय निर्वाचनमा सिटौलालाई पराजित गरेका राप्रपाका लिङ्देनलाई सोही जितले राप्रपाको अध्यक्षसम्म बनाएको छ ।

पार्टी राजनीतिमा मात्र सक्रिय रहेका लिङ्देनले पार्टी अध्यक्ष भएपछि मुलुककै राजनीतिमा आफ्नो उचाइ ह्वात्तै बढाएका छन् । २०७४ को संसदीय निर्वाचनमा एमालेसँग ‘म्याच फिक्सिङ’ गरी विजयी बनेका उनले आसन्न निर्वाचनमा पनि सोही ‘फर्मुला’ अपनाएका छन् ।

आफ्नै निर्वाचन क्षेत्रमा पनि राम्रै पकड राख्ने लिङ्देनले झापाको निर्वाचन क्षेत्र नं ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध राप्रपाबाट कुनै उम्मेदवारी नदिएर चुनावी तालमेल गरेका छन् । एमालेले पनि झापा ३ मा उम्मेदवारी दिएको छैन । त्यसैले लिङ्देनलाई यसपटकको निर्वाचनमा पनि एमालेको साथ आवश्यक देखिन्छ ।

गत स्थानीय तहको निर्वाचनमा आएको मतलाई हेर्ने हो भने सो निर्वाचन क्षेत्रबाट सिटौला र लिङ्देनबीच एकअर्कालाई पराजित गर्न उत्तिकै कठिन हुने देखिन्छ । स्थानीय तहको निर्वाचनमा झापा ३ मा पर्ने कचनकवल र भद्रपुरमा नेपाली कांग्रेसले जीत हासिल गरेको थियो । हल्दीवारीमा राप्रपाले जितेको थियो । सोही निर्वाचन क्षेत्रमा पर्ने बिर्तामोडको–१० को वडाध्यक्ष कांग्रेसले जितेको थियो ।

स्थानीय तहको निर्वाचनमा सबै मतलाई आधार मान्दा कांग्रेस अगाडि देखिन्छ तर एमाले र राप्रपा मिल्दा भने उनीहरुकै मत बढी छ । यद्यपि यस पटकको निर्वाचनमा सिटौला गठबन्धनको उम्मेदवार भएकाले उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको पनि साथ देखिन्छ ।

तर पार्टीभित्रको आन्तरिक राजनीतिका कारण आफ्नै मतदाताले विश्वास नगर्लान् भन्ने चिन्ता पनि सिटौलालाई उत्तिकै छ । त्यसैले आसन्न निर्वाचनमा सिटौलालाई पराजित भइन्छ कि भन्ने आफ्नैको डर छ भने जित हासिल गर्न लिङ्देनलाई एमालेको भर आवश्यक देखिन्छ ।