९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

बाढीपिडित भन्छन्– यो वर्षको दसैँ दशा बनेर गयो

बाढीपिडित भन्छन्– यो वर्षको दसैँ दशा बनेर गयो
अ अ+ अ-

देउखुरी । लमही नगरपालिका–८ सतबरीयाका दुखीराम चौधरी शनिबार दिउँसो मलिन अनुहार लगाएर बाढीले बगाउन नसकेका घरपर रहेका सामान हेर्दै हुनुहुन्थ्यो । फुसले बारेर माटोले लिपेको चिसा भित्ता छाम्दै बाढीले बगाउन नसकेको सिरक, गद्दा अनि केही थान कपडा सङ्कलन गरिरहेको देख्दा त्यहाँ पुग्ने जोसुकैलाई पनि भावुक बनाउथ्यो । उहाँलाई पीडा कति छ भन्ने कुरा उहाँका आँखाबाट प्रष्ट देख्न सकिन्थ्यो ।

घरभित्र रहेको कागजपत्र सबै पानीले फिजेको छ । घर छेउकोे धान खेत सबै बगर बनेको छ । दसैँको अघिल्लो दिनदेखि लगातार पाँच दिनसम्म परेको वर्षाले उहाँको घरमा भएका सम्पूर्ण सामान भिजेका हुन् । “यो वर्षको दसैँ दशा बनेर आयो, विजोग बनायो, बाढी एकाएक आयो, घरमा भएका केही पनि बचाउने सकिएन, सबै बगाएर लग्यो”, उहाँले भन्नुभयो, “जिउमा लगाएका कपडा र केही थान भिजेका कपडा, सिरक डसनाबाहेक केही छैन ।” बाढीले घरका दक्षिण र पूर्वको भित्ता भत्किएको छ । बचेका भित्ता धुजाधुजा पारेको छ ।

लमही–७ हसनापुरका जयप्रकाश चौधरीको घरमा बाढी पस्दा ठूलो क्षति भएको छ । राप्ती नदीबाट आएको भेल र नजिकै बनाइएको बाँध फुटेर आएको बाढीले घर भत्काउनुका साथै खेतबारीमा लगाइएको अन्नबालीमा क्षति गरेको छ । घरमा खाने अन्न केही छैन, जीवनमा पहिलोपटक यस्तो घटना भएको बताउनुभयो । उहाँले अहिलेसम्म पनि भत्किएको घरबाट सामान निकाल्ने आँट गर्न सक्नुभएको छैन ।

गढवा गाउँपालिका–२ महदेवाका रामलाल चौधरीले घरमा भएको अन्न लत्ताकपडा मात्रै नभई गोठमा बाँधिएका चौपाया समेत बगाएर लगेको बताउनुभयो । उहाँको गोठ रित्तै छ । घरभित्रको सामान सबै भिज्यो, घर भित्र–बाहिर सबै ठाउँ पानी पानी भयो । छोराछोरीका किताब, विद्यालय पोसाक सबै पानीले बगायो ।

राजपुर गाउँपालिका–६ गङ्गदीकी रामकली चौधरीले पनि आफ्नो कच्ची घरमा बाढी पसेपछि केही बचाउन नसकेको बताउनुभयो । धानले भरिएको डेहरी ९माटोको भकारी० फुटेर धान बगाइदियो, धान कुटेको चामल पनि पानीमा डुब्यो । खानेकुरा केही नबचेपछि अहिले विद्यालयमा आएर पालिकाको शरण लिएको बताउनुभयो । वर्षाका कारण आएको बाढीले देउखुरीका चार पालिकामा ठूलोमात्रामा भौतिक क्षति गरेको छ ।

नागरिक समाजको स्थलगत अनुगमन

बाढीका कारण भएको क्षतिबारे स्थलगत रुपमा पीडितका आवाज सुन्न र यथार्थ बस्तुस्थितिको जानकारी लिन समाजका जिल्ला संयोजक केबी मसालको नेतृत्वमा देउखुरीका चारवटै पालिकामा पुगेको छ । टोलीले ठूलो मात्रामा भौतिक क्षति व्यहोरेको निष्कर्ष निकालेको हो । समाजका अनुसार देउखुरीमा मात्रै १० हजारभन्दा बढी नागरिक प्रभावित हुनुका साथै अर्र्बौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

वर्षाका कारण घर र खेतबारीमा बाढी पस्दा क्षति भएको छ दिन बितिसक्दा पनि स्थानीय पालिकाले अहिलेसम्म पीडितको लगत सङ्कलन गर्न नसकेको हुँदा उद्धारपछिको राहत सहयोगमा पनि ढिलाइ भएको नागरिक समाजले जनाएको छ । जिल्लाको लमही नगरपालिका, राप्ती, राजपुर र गढवा गाउँपालिकाका विभिन्न वडामा स्थलगत जानकारी लिनुका साथै पालिका स्तरबाट भइरहेको पछिल्लो प्रयासका बारेमा पनि समाजले चासो लिएको थियो ।

स्थानीय पालिका भन्छन्, तथ्याङ्क सङ्कलन गर्दैछाँै

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले तथ्याङ्क सङ्कलनको काम भइरहेको बताउनुभयो । प्रारम्भिक तथ्याङ्कमा दुई सय ६५ पूर्णरुपमा भत्किएका छन् । “पाकेर काट्न ठिक्क परेको धान डुवानमा परेको छ । दशैँ मानेर खेती स्याहार्ने तयारीमा रहेका किसानलाई बाढीले दुःखी बनाएको छ । सबै तथ्याङ्क सङ्कलन हुँदैछ”, उहाँले भन्नुभयो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बाढी प्रभावित गाउँ कालापानी, पहरुवा, लठ्वा, सिङे, मझेरिया, भगवानपुर बगरापुरलगायतका दर्जनभन्दा बढी गाउँमा बाढी पसेको बताउनुभयो । आफैँ पीडितको घरमा पुगेर राहतस्वरुप खाद्यान्न उपलब्ध गराइरहेको बताउनुभयो । धेरै ठाउँमा क्षति भएकाले सङ्कलन गर्न समस्या भएको बताउनुभयो । किसानको मुख्य स्रोत अन्नबालीमा क्षति पुगेकाले तत्कालका लागि खाद्यान्न वितरण गरे पनि दीर्घकालीन राहतका लागि तथ्याङ्क सङ्कलन गरिरहेको अध्यक्ष विष्टले बताउनुभयो । राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ । तथ्याङ्क सङ्कलनको कार्य जारी रहेकाले यो सङ्ख्या बढ्न सक्ने उहाँले बताउनुभयो ।

राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले पालिका स्तरमा लगत सङ्कलनको काम भइरहेको बताउनुभयो । उहाँले केही सामाजिक सङ्घसंस्थाको पहलमा अति आवश्यक भएकाहरुलाई केही सहयोग गर्नुबाहेक थप सहयोग गर्न नसकेको हुँदा माथिल्लो तहबाट सहयोगको अपेक्षा गर्नुभयो । तत्काल खाने बस्ने व्यवस्था पालिकाले मिलाई गङ्गदी र जङ्ग्रहवा स्कुलमा बाढी पीडितलाई बसालिएको बताउनुभयो । राजपुरमा तीन सय २५ घर पूर्णरुपमा भत्किएको प्रारम्भिक तथ्याङ्क रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । उहाँले उद्धारपछिको राहत वितरण गर्ने स्रोतको समस्या भएको बताउनुभयो ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले वडा नम्बर २ र ५ का बासिन्दा बाढीबाट सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो । सो पालिकाका दुई सय ५४ घर पूर्ण रुपमा क्षेति भएको हा । सो वडाका नागरिकको बस्ने खाने समस्या भएपछि तत्कालका लागि सामूहिक मेस चलाएको अध्यक्ष पोख्रेलले बताउनुभयो । लोखरपुरुवाका ९५ जना, महदेवा र डाँडागाउँमा दुई सय जनालाई मेस चलाएर खाने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । बाढीका कारण प्रावि महदेवा र नमूना प्रावि पचहियाको भौतिक संरचना पूर्णरुपमा क्षति भएकाले पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने समस्या थपिएको बताउनुभयो ।

पालिकाका सबै वडामा कति घरपरिवार प्रभावित भएका छन् भन्नेबारे यकीन विवरण सङ्कलन भई नसकेको उहाँले बताउनुभयो । प्रारम्भिक तथ्याङ्कमा छ सय ६० डुबानमा परेका र ८० घर भत्किएका छन् ।

तथ्याङ्क सङ्कलन गर्दै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खिलत गिरीले जिल्लाको राजपुर गाउँपालिकामा सबैभन्दा धेरै भौतिक क्षति हुँदा परिवार विस्थापित भएको बताउनुभयो । लमही नगरपालिकामा दुई सय ६५, राजपुरमा तीन सय २५, गढवा गाउँपालिकामा दुई सय ५४, राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ ।

देउखुरीको चार पालिकाको लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा मात्रै नौ सय ६४ घर पूर्ण रुपमा क्षति हुँदा त्यहाँ बस्दै आएका चार हजार बढी परिवारका सदस्य विस्थापित भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।

कृषि शाखाले लगत लिने काम गरेका छन्: ज्ञान केन्द्र

पाकेर काट्न ठिक्क परेको धान डुबानमा पर्दा धानबाली नष्ट भएको छ तर कति क्षति भयो भन्ने विवरण अझै आइनपुगेको कृषि ज्ञान केन्द्र दाङका तथ्यांक अधिकृत पृथ्वीराज लामिछानेले बताउनुभयो । उहाँले देउखुरी क्षेत्रमा बढी क्षति भएको जानकारी दिनुभयो । “देउखुरीका किसानले लगाएको धान बाली अलिबढी क्षति भएको अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “देउखुरीका चार पालिकासँग समन्वय भइरहेको छ तर कति क्षति भयो भन्ने यकीन विवरण प्राप्त भएको छैन ।”

दाङ जिल्लामा धान रोप्ने जमिन ३९ हजार चार सय हेक्टर क्षेत्रफल रहेकामा देउखुरीमा १२ हजार पाँच सय २८ र दाङ क्षेत्रमा २६ हजार आठ सय ७२ हेक्टर क्षेत्रफल छ । यसमा देउखुरीका सबै क्षेत्रफलमा धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो वर्ष समयमा वर्षा नभएका कारण जिल्लाभर सात प्रतिशत अर्थात् ३४ हजार दुई सय सात हेक्टरमा धान रोपाइँ भएको उहाँले बताउनुभयो । रासस