• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

भक्तपुरमा तयार हुँदैछ तिहारको लागि पाला



भादगाउँ । नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । “तिहार आउन अझै दुई साता बाँकी छ । मागअनुसारको पाला एक हप्ताभित्र पठाउनुपर्छ”, भक्तपुर तालाक्वका गङ्गालक्ष्मी प्रजापतिले भन्नुभयो ।

तिहार नजिकिएसँगै तालक्वका कुमाले समुदायको दिनचर्या नै पाला तयार गर्नेमै बित्ने गरेको गङ्गालक्ष्मी बताउनुहुन्छ । तिहारमा पालाको माग अत्यधिकमात्रामा उच्च हुने भएकाले यो समय कुमालेले अन्य भाँडा बनाउने कामलाई थाँती राखेका छन् । तिहारमा लक्ष्मी पूजाका लागि बाहिरी जिल्लाबाट माग आउने भएकाले अन्य भाँडा बनाउने कामलाई थाती राखेको गङ्गालक्ष्मीले बताउनुभयो ।

“बिहान ५ बजेदेखि अघिल्लो दिन नै तयार गरी राखेको माटोले पाला बनाउने, सुकाउने, रातो माटोको रङ लगाउने र सुकिसकेको पालालाई पोलेर तयार गरी मागअनुसार बजार पठाउने काममा दिन बित्छ । अहिले अन्य भाँडाकुँडा बनाउने समय छैन”, गङ्गालक्ष्मीले भन्नुभयो ।

अहिले भक्तपुरका तालक्वका प्रजापति मात्र होइन सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह, सूर्यविनायक र चुनदेवीका कुमालेसमेत अन्य भाँडा बनाउने कार्यलाई थाती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन् । तिहारमा धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा पालामा दियो बाल्ने परम्परा रहेको छ । तिहारको लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ ।

पछिल्लो समय तिहारमा पालासँगै बत्ती बाल्न विद्युतीय बत्तीको मागसमेत उच्च छ । तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्यरुपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा बर्सेनि पालाको माग बढ्ने गरेको अर्का व्यवसायी रामप्रसाद प्रजापति बताउनुहुन्छ । उहाँले केही वर्ष पहिले मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि पालाको माग बढेको जानकारी दिनुभयो । “विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षाको दृष्टिकोणले पालालाई अत्यन्तै राम्रो र उत्तम मानिने भएकाले बजारमा यसको माग बढेको हो”, रामप्रसादले भन्नुभयो ।

कुमाले टोलमा तयार गरिएका पाला होलसेल व्यापारीलाई बिक्री गरिन्छ । होलसेल व्यापारीले पालाको साइजअनुसार ठूलो सानो हेरी मूल्य निर्धारण गरेर त्यसमा केही मुनाफा खाएर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्तामाझ पु¥याउने गरेको रामप्रसादले बताउनुभयो । भक्तपुरको कुमाले टोलमा तयार गरेको पाला काभ्रेको बनेपा, धुलिखेल, पनौती, नुवाकोटको त्रिशूलीका साथै पोखरा, हेटौँडा, चितवनका व्यापारीले पनि लिन आउने गरेको रामप्रसादले बताउनुभयो ।