• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री यादबको गुनासो: सरकारले नै पार्टी फुटायो ★   बुबाको मार्गदर्शन अनुसार अघि बढ्छु: सांसद नेम्वाङ ★   नटआउट थिए, खुट्टाले दुई पटक बाउन्ड्री छोयो… सामसनको विकेटमा सिद्धुको बयान ★   अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला ★   चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल ★   रणवीर सिंहले दीपिकासँगको विवाहको तस्बिर हटाए ★   सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’-फोटो फिचर ★   सार्वजनिक महत्वका विवरण स्वत: प्रकाशन गर्दै काठमाडौँ महानगरपालिका ★   आईपीएलमा लखनउमाथि पहिलो जितको खोजीमा हैदरावाद ★   कोशीमा बजेटको तयारी तिब्र, २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी

चाडपर्वमा महिलालाई घरयासी कामको बोझ



टीकापुर । चाडपर्वका समयमा महिलालाई घरको काम थपिने गरेको छ । महिलालाई भान्सा तथा घर सरसफाइबाट फुर्सद पाउन मुस्किल हुने गरेको बताउँछन् । नयाँ लुगा लगाएर, मीठामीठा खानेकुरा खाँदै आफन्तजनसँग भेटघाट गर्ने रहर सबैलाई हुन्छ तर अधिकांश घरका महिलाको दिन भान्सामै बित्ने गर्दछ ।

टीकापुरकी झुप्री साउँदको घरमा दशैँँ तथा तिहारका समयमा पाहुना बढ्छन् । यो समयमा उहाँका नन्द, आमाजू, भान्जाभान्जीलगायतका पाहुनाले घर भरिन्छ । दशैँँदेखि तिहारसम्म झुप्रीलाई घरको काम भ्याइनभ्याइ हुन्छ । “घरमा पाहुना भएपछि खानाको जोहो गर्नुप¥यो, बढी मानिस भएपछि घर पनि फोहोर हुन्छ”, उहाँले भन्नुभयो, “मलाई त पानी खानसमेत फुर्सद मिल्दैन । बिहानको खाजा, त्यसपछि खाना, दिउँसो नास्ता, अझ बेलुकाको खाना, त्यसैमाथि कुनै नयाँ परिकार खाऔँ भन्छन्, दिन पूरै भान्सामा बित्छ ।”

झुप्रीलाई यति धेरै काम गर्नुपर्दा परिवारका सदस्यले नसघाउँदा भने पीडा हुन्छ । “बुहारी हो भनेर सबै काम मैले नै गर्नुपर्छ । काम त सबै मिलेर गरेको भए चाडपर्व पनि रमाइलो लाग्थ्यो”, उहाँ थप्नुहुन्छ, “श्रीमान्ले किनेर ल्याइदिने काम गर्नुहुन्छ । बाँकी सबै व्यवस्थापन आफैँले गर्नुपर्छ । दिनभरिको कामले थकान हुन्छ ।”

चाडपर्वका समयमा महिलाले पूजाका लागि सामग्री मिलाउनेदेखि भान्सामा पकाउने, खुवाउने सबै सबै जिम्मेवारी निर्वाह गर्नुपर्छ । घरभित्रका सबै काम प्रायः महिलाले गर्नुपर्छ भन्ने चलनले पश्रय पाएको छ । घरभित्रका सबै काम सम्हाल्दै आएका महिलालाई चाडपर्वमा अझ बढी जिम्मेवारी थपिन्छ । जानकी गाउँपालिकाकी साधना विकका घरमा समेत यस्तै हुन्छ । चाडपर्वमा उहाँलाई पनि कामले च्याप्छ । “चाडपर्व परिवारका लागि रमाइलो हुन्छ तर मेरा लागि बोझ हुन्छ”, उहाँ भन्नुहुन्छ, “परिवारका अन्य सदस्यबाट सहयोगको अपेक्षा त गर्छु तर उहाँहरुले सघाउनु हुन्न । भान्सा र घर सफा गर्ने काम महिलाको हो भन्छन् ।”

साधनालाई एकातिर गाईवस्तुका लागि आहारा जटाउनु, अर्कोतर्फ चाडपर्वमा मीठा मीठा तथा मासुका थरिथरिका परिकार पकाउनु पर्दा निकै झण्झट लाग्छ । “घरभित्र गर्ने तर नदेखिने कामका बारेमा कसैले देख्दैन । कहिलेकाहीँ महिला भएकै कारण यतिधेरै जिम्मेवारी थपिएको छ जस्तो लाग्छ”, उहाँ भन्नुहुन्छ, “सबैलाई पकाउने, खुवाउने काम सकेपछि आफूले खाने अनि घर सरसफाइ गरेर सकेपछि फुर्सद पाउने हो ।”

जोशीपुर गाउँपालिका–४ की रुपाली धामीलाई दशैँँको टीकाको दिन नजिकिँदै जाँदा घर सफा गर्ने कामबाट धपडी सुरु हुन्छ । घरमा आएका पाहुनाको स्वागत, सत्कारसँगै दशैँँको टीकाको दिन आउने पाहुनाका लागि केही परिकार तयार पार्ने काम मेरै हुन्छ”, उहाँ भन्नुहुन्छ, “यी सबै काम सकेर टीका थाप्न माइत जाने हो । यी काममा परिवारका अन्य सदस्यले समेत सघाउने भइदिएको भए चाडपर्वमा समेत रमाइलो हुन्थ्यो ।”

दशैँँ तथा अन्य चाडपर्वमा परिवारका सदस्यबीच जमघट हुने गर्दछ । चाडपर्वमा नेपाली समुदायमा आफन्तसँग मिलेर गच्छेअनुसार सक्दो मीठो मसिनो खाने चलन छ । यस्ता जमघटमा रमाइलो गर्ने र आ–आफ्ना चलनअनुसारका खानेकुरा तयार पार्ने जिम्मेवारी अधिकांश घरमा महिलाकै हुने कुरा गलत भएको अधिकारकर्मी निर्मला कडायत बताउनुहुन्छ । “चाडपर्वका समयमा सबै मिलेर काम गर्नुपर्छ । सबै मिलेर घर तथा भान्साको काम गरेमा महिलालाई पनि रमाइलो हुन्छ”, कडायत भन्नुहुन्छ, “सबैभन्दा बढी सहयोगी श्रीमान् तथा घरमा भएका पुरुष बन्न आवश्यक छ । महिलालाई भान्साको काममा सघाउनुपर्छ ।”

उहाँ चाडपर्व तथा अन्य समयमा घरको काममा परिवारभित्रकै सदस्यले सघाउनुपर्ने बताउनुहुनछ । “महिला एक्लैले घरको काम गर्न सक्दैन । त्यसैले चाडपर्वमा सबै काम बाँडफाँट गर्नुपर्छ”, उहाँ थप्नुहुन्छ, “श्रीमान् तथा अन्य सदस्यले बच्चा सरसफाइ गरिदिने, बच्चालाई खाना खुवाउने, किनमेल गर्ने, तरकारीको जोहो गर्नेजस्ता काममा सघाउन सक्छन् ।”