• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   दुई महिनामै बन्द हुँदै कपिल शर्माको कमेडी शो ★   आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेश हुँदैछ: मन्त्री शर्मा ★   ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने ★   जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ ★   देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै ★   गर्मी कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा ★   भारतीय टिममा परेलगत्तै युजवेन्द्र चहलको ‘चुटाई’, आईपीएलमा राखे लज्जास्पद कीर्तिमान ★   गोंगबु आवास क्षेत्रमा पार्क निर्माण ★   पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते ★   नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्: प्रधानमन्त्री

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई



काठमाडौं । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएको छ । उक्त कारखाना पुनः सञ्चालनका लागि मङ्गलबार अर्थ मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले करिब तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आविष्कार केन्द्रसँग अर्थ मन्त्रालयले सञ्चालन सम्झौता गरेको हो ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखाना पुनः सञ्चालन गरिने घोषणाअनुसार नै आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा दिइएको बताउनुभयो । “चालु आर्थिक वर्षको बजेटले उत्पादन वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन भन्ने मूल नीति लिएको छ । त्यस नीतिअन्तर्गत हामीले मुख्यगरी कृषि र औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेको कुरा सबैलाई अवगत छ”, उहाँले भन्नुभयो, “यसै अनुरूप कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालनको जिम्मा दिइएको छ ।”

आविष्कार केन्द्रका अध्यक्ष पुनले आफूले कहिल्यै नसोचेको जिम्मेवारी पाउँदा चिट्ठा परेको जस्तो महसुस भएको बताउनुभयो । “नेपाल सरकार र अर्थ मन्त्रालयसँग यस किसिमको सम्झौता होला भनेर सोचको पनि थिएन”, उहाँले भन्नुभयो, “आशा नगरेको जिम्मेवारी आएकाले यसलाई चिट्ठा नै परेको भन्छु ।” उहाँले सम्झौता राम्रो कामका लागि भएको समेत बताउनुभयो । साथै आफूहरूको ज्ञान र विवेकले भ्याएसम्म राम्रो गरेर देखाउने प्रतिबद्धता पनि जनाउनुभयो ।

सम्झौताअनुसार आविष्कार केन्द्रले कारखाना सञ्चालन जिम्मा १० वर्षका लागि पाएको छ । योजना निर्माण, जनशक्ति विकास, कृषि औजार उत्पादन र बजारीकरणलगायतका काम आविष्कार केन्द्रले गर्नेछ । कारखानाको मर्मतसम्भार र औजार थप गर्न तथा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था पहिलोपटक सरकारले गर्नेछ ।

आविष्कार केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिमसमेत सञ्चालन गरी जनशक्ति उत्पादन एवम् आधुनिक कृषि औजार उत्पादन तथा बिक्री गर्न पाउनेछ । औजार बिक्रीबाट करपश्चात्को रकमको ५० प्रतिशत ‘राष्ट्रिय आविष्कार केन्द्र कोष’ खडा गरी त्यहाँ रहनेछ । बाँकी ५० प्रतिशत वार्षिक रूपमा नेपाल सरकारको राजश्व खातामा जम्मा गर्नुपर्नेछ ।