काठमाडौं । अफगानिस्तानबाट उद्धार गरी काठमाडौं ल्याइएका १०७ नेपाली सहित ९ भारतीय र अन्य मुलुकका गरी १२७ जनाको व्यवस्थापनको कार्य नेपाली सेनाले गरेको छ । बिमानस्थलबाट उनीहरुलाई सिधै धापासीमा रहेको आइसोलेसन केन्द्रमा लगिएको छ ।
त्यहाँ उनीहरुको एन्टिजेन परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आएपछि उनीहरुको आ–आफ्नो ठाउँमा पठाइने नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौड्यालले जानकारी दिनुभयो ।
अफगानिस्तानको सरकार पतन भएसँगै तालिबान समूहको नियन्त्रणमा पुगेको अफगानिस्तानको राजधानी काबुलमा हिंसा फैलिने र जीउज्यानमै जोखिम उत्पन्न हुने अवस्था सिर्जना भएपछि त्यहाँ रहेका विदेशी नागरिकको उद्धार कार्य जारी छ ।
नेपालीहरु पनि ठूलै संख्यामा काबुलमा कार्यरत रहेका खबरहरु आइरहेका छन् । केही व्यक्तिलाई अमेरिकी र अन्य सरकारले उद्धार गरे पनि ठूलै संख्यामा नेपालीहरु उद्धारको पर्खाइमा रहेका छन् ।
नेपाल सरकारले नेपाल एयरलाइन्सको बिमान पठाएर उद्धार गर्ने भनिए पनि हुन सकेको छैन ।











