• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

कार्तिकबाट वागमतीमा सफा पानीः धाप परियोजनाको ९८ प्रतिशत काम सकियो(भिडियोसहित)



काठमाडौँ । वागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कार्तिकबाट वागमती नदीमा सफा पानी बग्ने भएको छ ।

काठमाडौं उपत्यकाकै (काठमाडौं, ललितपुर र भक्तपुर) आकर्षक वागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने वागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि वागमती नदीमा पठाउने तयारी भइरहेको छ । समुन्द्री सतहबाट दुई हजार ८० देखि ९० मिटरको उचाईमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मान्ने गरिएको छ । साथै यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो ।

उपत्यकाको उत्तरपश्चिम चुचुरो मुलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो । यो ताल आठ हेक्टर अर्थात् १५८ रोपनीमा फैलिएको छ । सन् २०१५ देखि ड्यामको काम शुरु गरिएको थियो । यो धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षा याममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी संकलन गरिनेछ । यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो ।

निर्माण हुँदै गरेको धाप बाँधले सुख्खायाममा प्रतिसकेण्ड ४० लिटरका दरले वागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ । ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले वागमतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ । आयोजनाका प्रमुख इन्जिनियर निश्चल छतकुलीले काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको अवस्थलाई मध्यनजर गरेर धाप निर्माण गरेको बताउनु भयो ।

उहाँले वागमतीमा पानीको वहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा धापहरुको निर्माण गरी स्नानयोग्य बनाउने उद्देश्यले धाप निर्माण गरेको बताउनु भयो । उहाँले हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको बताउनु भयो । धापबाट वागमतीमा पानी पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनको लागि ४५० लिटरजति सफा पानी मिसाउनुपर्ने जायिकाको अध्ययनले देखाएको बताउनु भयो । एशियाली विकास बैंकको ऋण सहयोगमा यो अभियान शुरु भएको बताउनु भयो ।

उहाँले मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण भइ पानी जम्मा गर्न शुरु गरिएको बताउनु भयो । शुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भनेपनि अहिले त्यो भन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गोकर्णेश्वर वडा नम्बर १ स्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको धाप हो । यो आयोजना शुरु गर्नुको मुख्य उद्देश्य काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको छ । त्यसै सन्दर्भमा जायिकाले लामो समयदेखि अध्ययन गरेर काठमाडौं उपत्यकामा आउने मेलम्चीको पानी आइसकेपनि वागमतीमा पानीको वहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा प्लान्टहरु बनाउनुपर्ने र प्लान्टबाट वागमतीमा पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनको लागि ४५० लिटरजति फ्रेस वाटर मिसाउनुपर्ने जायिकाको अध्ययनले देखायो ।’

‘त्यसैगरी वागमती परियोजनामा वागमती कार्ययोजनाले पनि वागमती नदीमा पानीको गुणस्तर र मात्रा बढाउनको लागि प्रमुख उद्देश्यको रुपमा वागमती कार्ययोजनाले लिएको छ । सोही अनुरुप एशियाली विकास बैंकको आर्थिक सहयोगमा यो शुरु भयो । यो भन्दा तल नागमती ड्यामको आयोजना शुरु गर्ने भनेर काम थालियो । अहिले यो परियोजनाको ९८ प्रतिशत काम सकिएको छ । यसको मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण भइ पानी जम्मा गर्न शुरु गरिएको छ । २०८३.५ जतिको हारहारीमा पानीको लेभल पुगिसकेको छ । यसमा हामीले शुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भनेका थियौँ । तर त्यो भन्दा धेरै पानी उपलब्ध हुने अध्ययनले देखाएको छ ।’

उहाँले धाप क्षेत्र पर्यटन प्रवद्र्धनको लागि पनि मुख्य स्थल बन्ने अध्ययनले देखाएको बताउनुु भयो । जसकरण पनि पर्यटन गुरुयोजना बनाएर नै काम अघि बढाउने तयारी भइरहेको उहाँको भनाइ छ । भ्याट बाहेक ४५ करोड रुपैयाँ र भ्याटसहित जोड्दा ५१ करोड रुपैयाँ बढी रकममा धाप निर्माण शुरु गरिएको बताउनु भयो । उहाँले अक्टोबर १५ पछि वागमतीमा धापको पानी प्रवाह गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

८ महिना ४० लिटर बगाउनसक्ने अनुमान गरेर धाप निर्माण गरेपनि नागमति धाप निर्माण नहुँदासम्म योजना अनुसारको पानी प्रवाह गर्न नसकिने बताउनु भयो । उहाँले वागमती ड्याम नबनुन्जेलसम्म ४० लिटर मात्रै पठाउनसक्ने र सिमित पानीले अनुभव गर्नसक्ने गरेर वागमतीमा पानी प्रवाह नहुने बताउनु भयो । धापबाट पठाएको पानी पशुपति आर्यघाटमा आम सर्वसाधारणहरुले पनि गर्ने गरेर पठाउनुपर्ने उहाँको भनाइ छ । पशुपति क्षेत्र विकास कोषसँग पनि समन्वय गरेर पशुपतिनाथ मन्दिर परिसरमा वर्षको २७ दिन, विशेष पर्वहरुमा ४ सय लिटर नै पानी पठाउने बारेमा सहमति भएको बताउनु भयो ।

प्रमुख इन्जिनियर छतकुलीले धाप ड्याम नजिकै शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको अध्ययन र विस्तृत डिजाइन वातावरणीय अध्ययन भइरहेको पनि बताउनु भयो । धाप ड्याममा जम्मा भएको पानी नागमतिको ड्याममा जम्मा भएपछि क्रमशः पानी छोड्दै जाँदा वागमतीमा मिसिन्छ । यो पानीबाट विद्युत निकाल्ने उद्देश्य रहेको छ भने वागमती नदीको सफाइ गर्ने अभियान पनि यसैसँग जोडिएको छ ।

प्रश्तावित नागमति बाँध ९० मिटर अग्लो हुनेछ र यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ । यो बाँधबाट चार मेगावाट विद्युत उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिनमुनिको पानी पुनःभरण ९रिचार्ज० गर्न ठूलो सहयोग गर्नेछ । सुन्दरीजलबाट नागमति ड्याम पुग्न पाँच किलोमिटर मात्र छ । यी दुई बाँधको आकर्षणले गोकर्णेश्वर नगपालिकाको पर्यटन व्यवसाय फस्टाउने अनुमान छ ।