२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहहरुलाई बजार अनुगमन गर्न मन्त्री बडूको आग्रह



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले स्थानीय तहहरुलाई बजार अनुगमन गर्न आग्रह गर्नुभएको छ ।

शनिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा स्थापना गरेको चाडवाड लक्षित सुपथ मूल्य पसलको उद्घाटन गर्दै मन्त्री बडूले स्थानीय तहहरुलाई प्रभावकारी रुपमा बजार अनुगमन गर्न आग्रह गर्नुभएको हो । उहाँले दशैँ, तिहार, छठ लगायतका चाडपर्वहरु आइरहेको र चाडपर्वको बेलामा बजारमा अस्वभाविक रुपमा मुल्यवृद्धि हुने भएकाले तिनै तहको सरकारले बजार अनुगमन गर्नुपर्ने बताउनुभयो ।

उहाँले मन्त्रालयले जनशक्ति बढाएर अनुगमन बढाइरहेको भएपनि मन्त्रालयको एकल प्रयास मात्र सम्भव नहुने बताउनुभयो । उहाँले बजार अनुगमनका लागि प्रदेश र स्थानीय तहको अधिकार बढेको भएपनि ति तहहरुबाट अपेक्षित र प्रभावकारी रुपमा अनुगमन हुन नसकेको बताउनुभयो । मन्त्री बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आफ्नो सम्पतिको यथार्थ अभिलेखिकरण राख्न निर्देशन दिनुभयो । उहाँले कम्पनीको सम्पतिलाई सदुपयोग गर्दै जनतालाई सस्तो सेवा दिन पनि निर्देश गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेशनल ट्रेडिङ र खाद्य संस्थान एक ठाउँमा आइसकेपछि यसको सम्पति धेरै बढेको छ । भौतिक सम्पति धेरै बढेको छ तर त्यसको क्यास सम्पतिमा तपाईहरु रुपान्तरण गरेर त्यसको व्यापारिक लाभ लिन सक्ने योजना तयार गर्नुस् । सहि अभिलेखिकरण हुन सकिरहेको अवस्था होइन भन्ने सुनिरहेको छु । यसलाई छिटोभन्दा छिटो अभिलेखिकरण गर्नुस् । र यो सम्पतिको सदुपयोग जनताको सेवामा, सस्तो सेवा दिन सकौँ । सस्तो सेवा धेरै ठुलो परिमाणमा दिन सकियो भने नाफा पनि कमाउनुहुन्छ । यसको परिमाण बढाउनुस् । अनुगमन पनि हुनुपर्ने अवस्था छ । गुणस्तरीय वस्तु सर्कुलेशनमा आउनुप¥यो । बजारको अनुगमन बढाउनुपर्छ । मन्त्रालय सचेत छ ।’

‘बजार क्षेत्रमा पनि अनुगमनलाई यतिबेला हामीले विशेष रुपले जनशक्ति बढाएर अनुगमनको टिमहरु बढाएर, जनशक्ति बढाएर पनि हामीले अनुगमन बढाइरहेका छौँ मन्त्रालयको तर्फबाट । यो अनुगमन कार्य मन्त्रालयको निकायबाट मात्र सम्भव देखिएन । अनुगमनको निम्ति अधिकार जिल्लामा अझ बढाएको छ । प्रदेश र स्थानीय तहमा बढाएको छ । स्थानीय तहको अनुगमन त्यति प्रभावकारी, अपेक्षित ढंगले हुन सकेन । त्यसकारण उहाँहरु पनि लाग्नुभयो भने जनतालाई सहज ढंगले मुल्यमा नियन्त्रण गरेर सहज र सुपथ मुल्यमा दिन सक्ने स्पष्ट अवस्था छ । यसका लागि पनि हामी प्रयत्न गरिरहेका छौँ ।’

मन्त्री बडूले चाडपर्व लक्षित सुपथ मूल्य पसलमा विक्रि वितरण गर्ने खाद्यवस्तुको संख्या र सहुलियत बढाएको बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४१ जिल्लाका ४५ वटा शाखाहरुमा एकै पटक सुपथ मूल्य पसल उद्घाटन भएर सञ्चालनमा आएको जनाएको छ ।