• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

व्यवसाय दर्ता र करको दायरा बढाउन सहजीकरण गर्दैछाैंः उपमेयर डंगोल



काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले करको दायरा बढाउनको लागि खेल्नुपर्ने भुमिकामा सहजिकरण गर्न तयार रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी संघले वागमती अधिकार सम्पन्न सभ्यता एकीकृत समितिलाई सरसफाई औजार तथा बिरुवा सुरक्षा जाली हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले व्यवसायीहरुलाई व्यवसायी दर्तामा समेत सहजिकरण गर्ने र करको दायरा बढाउने काममा सहजिकरण गर्ने बताउनुभएको हो ।

उहाँले अहिले काठमाडौं महानगरभित्र व्यवसाय दर्ता नगरी सञ्चालनमा आएको गुनासो आइरहेको भन्दै करको दायराको विषय उपप्रमुखको अधिकार पनि भएकाले विशेष ध्यान दिने प्रतिवद्धता जनाउनु भयो ।

उपप्रमुख डंगोलले महानगरमा व्यवसाय दर्ता गर्दा तथा करको विषयमा विभिन्न असहजता रहेको विषयमा व्यवसायी र महानगर बसेर छलफल गर्ने बताउनुभयो ।

उपप्रमुख डंगोलले व्यवसाय दर्ता गर्दा व्यवसायीहरुलाई असहज नहुने र महानगरमा पनि रेकर्ड रहने र करको दायरा बढाउने गरी काम गर्न प्रतिवद्ध रहेको बताउनु भयो । संघले समितिलाई बिरुवाको सुरक्षाको लागि आवश्यक पर्ने तारजाली करिव ७ लाख ४४ हजार ५ सय बराबरको सामग्री हस्तान्तरण गरेको छ ।