२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

सुध्रिएनन् राजमार्गका होटल, धादिङमा धमाधम कारबाही

सुध्रिएनन् राजमार्गका होटल, धादिङमा धमाधम कारबाही
अ अ+ अ-

मलेखु (रासस) : एक त नागढुङ्गा–नौबिसे सडकखण्डको जाम, त्यसमाथि राजमार्गका होटलमा सडेगलेका खाना । गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै दुर्व्यवहार । होटल सञ्चालकले असुल्ने मनपरी मूल्य आफ्नै ठाउँमा छ । खाना सफा भएनभन्दा होटलका सञ्चालक र मजदुरले दुव्र्यवहार गर्नुका साथै धम्क्याउने गरेका छन् ।

केही दिनअघि काठमाडौँबाट धादिङ आउँदै गर्नुभएकी युनिशा अधिकारीले कान्तिपुर होटलमा दुई सय तिरेर एक प्लेट मःम माग्नुभयो, तर खान सक्नु भएन । खान मिल्ने नै थिएन । खानीखोलास्थित आरपी कोल्ड स्टोर एण्ड खाजा घरमा भेटिनुभएकी अधिकारीले भन्नुभयो, “मःम काँटा चम्चाले टिप्नै नमिल्ने थियो । मुखमा हाल्नसक्ने नै थिएन । गुनासो गर्दा होटलवालाले उल्टै थर्काउँदो रहेछ ।”

हुन त राजमार्ग आसपासमा सञ्चालन हुने होटलमा यात्रु ठगिने र गुणस्तरहीन खाना खुवाउने विषय नौलो होइन । वर्षांैदेखि सर्वसाधारण यात्रुले भोग्दै आएको समस्या हो यो । राजमार्ग आसपासमा हजारौँको सङ्ख्यामा होटल सञ्चालन भएका छन् । सरकारले मूल्यसूची अनिवार्यरूपमा राख्नुपर्ने नियम ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । खानाको गुणस्तरमा समेत सुधार हुन सकेको छैन ।

गुणस्तरअनुसार खानेकुरा महँगो भयो भनेर सञ्चालकलाई सुनाउँदा प्रायः सबैले धम्क्याइ खेप्नुपर्छ । खाना गुणस्तरीय भएन, महँगो भयो भनेर जसले सुनाउँछ उसले सञ्चालक वा मजदुरबाट खानाको साटो मुखभरिको जवाफ र दुव्र्यवहार सहनुपर्छ । व्यवसायीले आफूखुसी खानाको मूल्य निर्धारण गरी यात्रुसँग चर्काे मूल्य असुल्दै आएका छन् । यात्रुहरूले महँगो मूल्य तिरेर पनि बासी खाना खानुपर्ने बाध्यता छ । गाडी सञ्चालक र होटल व्यवसायीको मिलेमतोमा सार्वजनिक सवारीमा आवतजावत गर्ने यात्रु यसरी ठगिँदै आएका छन् ।

दार्चुलाबाट काठमाडौँ आउँदै गर्नुभएका तारादत्त भट्ट चढेको गाडी पृथ्वीराजमार्गको खयरघारीस्थित कान्तिपुर होटलमा रोकियो । भट्टले खाना मगाउनुभयो, तर दुई गाँस पनि खान सक्नुभएन । सार्वजनिक यातायात चढेर यात्रामा रहनुभएका उहाँलाई बस जहाँ रोकिन्छ त्यहीँ खाना खानुको विकल्प पनि थिएन । भोको पेट भर्नकै लागि खाना खाँदा प्रायजसो चिसो भइसकेको गुणस्तरहीन खानेकुरा जबर्जस्ती खानुपर्ने बाध्यता आइपर्ने भट्टले गुनासो गर्नुभयो । “प्रायजसो बासी खाना भेटिन्छ । महँगो पैसा तिरेर गुणस्तरहीन खानेकुरा जबर्जस्ती खानुपर्ने बाध्यता छ । रु १० पर्ने चियालाई रु ३० सम्म लिन्छ”, उहाँले भन्नुभयो ।

“खानुभन्दा पहिले नै पैसा तिरेर खान लागेको खाना दुई चम्चा पनि खान सकिएन, होटलवालासँग बोल्यो कि कुटुम्ला जस्तो गर्दोरहेछ । हाम्रोमा हुने यस्तै हो, खाए खाऊ नत्र जाऊ भन्दै उल्टै थर्काउँछ”, अर्का यात्रु अम्बिका श्रेष्ठले सुनाउनुभयो ।

होटलमा पसेर खानेकुरा खाँदा आफूहरु ठगिनु परेको, खानाबारे सोधपुछ गर्दा उल्टै दुव्र्यवहार सहनुपरेको तीतो यथार्थ अधिकांशले कुनै न कुनै बेला भोग्नुपरेकै छ । “सधैँ यहीँ बाटो हिँडिराख्नुपर्छ, माइक्रो यहीँ रोक्छ । होटलवालालाई महँगो भयो ? खाना चिसो रहेछ ? भनेर सोध्नसमेत हुँदैन खानाको साटो गाली खाइन्छ”, श्रेष्ठ भन्नुहुन्छ, “कहिले जामले रोकिन्छ कहिले पहिरोले छेकिएर समयमा गन्तव्य पुगिँदैन, जतिसुकै पैसा तिरेर जस्तोसुकै खाना भए पनि भोक मेटाएर हिँड्नु राजमार्गका यात्रुको बाध्यता हो ।”

राजमार्गका होटल तथा रेस्टुराँ अन्यत्रभन्दा महँगा भएको स्वयं होटल सञ्चालकले नै स्वीकार्ने गरेका छन् । यात्रु ल्याउने गाडीलाई भत्ता दिनुपर्ने र तीन÷चार वटा खाना चालक सहचालकलाई निःशुल्क दिनुपर्दा खानाको मूल्य बढी लगाउनुपरेको होटल सञ्चालक कुमार घिमिरेले बताउनुहुन्छ ।

होटल सञ्चालकको मिलेमतोमा बस तथा माइक्रोबस चालकले २० मिनेटमात्र खाना तथा खाजा खाने समय राखेर यात्रुलाई अप्ठ्यारोमा पार्ने गरेका छन् । “बीस मिनेटमा शौचालय जान, हातमुख धुन र खाना, खाजा खान भ्याइँदैन । एउटै होटलमा एकैपटकमा दसौँ गाडी र सयौँ यात्रु हुनेहुँदा शौचालय, धारो र टेबलमा समेत पालो पाउन गाह्रो पर्छ”, काठमाडौँ आउँदै गर्नुभएकी राधिका अधिकारीले भन्नुभयो, “खाना थप्न त कता हो कता पहिलेकै खाना बुत्याउन भ्याइँदैन ।”

पृथ्वीराजमार्गको नौबिसेदेखि बेनिघाट आसपासका होटलले यात्रुलाई सेवा दिने नाममा गुणस्तरहीन खाना खुवाएर मनपरी पैसा असुल्ने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले अनुगमन थालेको छ । अनुगमनमा परेका अधिकांश होटल फोहरी भेटिएका छन् ।

बाहिरबाट टिलिक्क पारिएका होटलको खानामा पनि गुणस्तर नभएको उपभोक्ताले गुनासो गरेका छन् । होटलले भान्छा र भाँडा माँझ्ने ठाउँ एकै ठाउँमा चलाएकोसमेत भेटिएको छ । “बाहिर सरसफाइ छ तर खानामा गुणस्तर छैन । मूल्यसूची राखेको छ । आफ्नै मनोमानीमा तयार गरेकोसमेत भेटियो”, घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले भन्नुभयो, “किराना पसल होटलले दोब्बरसम्म मूल्य लिएको गुनासो आयो । त्यही गुनासोका आधारमा अनुगमन गर्दा ६० प्रतिशतसम्म बढी मूल्य लिएको पाइएको छ ।”

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय धादिङले पृथ्वीराजमार्गअन्तर्गतको धादिङको चरौँदी, बेनिघाट, सलाङघाट, धार्के, नौबिसे क्षेत्र आसपासका होटल तथा खाजाघर र किराना पसलमा शनिबार पनि अनुगमन गरेको छ । गुणस्तरहीन खाना दिने गरेको गुनासोपछि धादिङका सरकारी निकाय अनुगमनका लागि निस्किएका हुन् । होटल अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्यभन्दा बढीमा सामान बेच्ने, गुणस्तरहीन खानेकुरा बेच्ने होटललाई कारबाही पनि गरिएको छ ।

स्थानीय नागरिक तथा यात्रुको गुनासोलाई ध्यान दिएर अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । अनुगमनका क्रममा सरसफाइ नगर्ने, मूल्यसूची नराख्नेलाई पनि कारबाही र सचेत गराइएको छ । मूल्यसूची नराख्नेलाई सात दिनभित्र राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी लम्सालको भनाइ छ ।

सरकारी निकायले अनुगमन नियमित नगर्ने गरेको गुनासो पनि सुनिन्छ तर सरकारी निकायले भने कर्मचारीको कमी, छोटो समयमा कार्यालय प्रमुख तथा कर्मचारीको सरुवा, भौगोलिक जटिलता लगायतका कारण बजार अनुगमन नियमित हुन नसकेको बताउँदै आएको छ । प्रत्येक दिन अनुगमनमै खटिने जनशक्ति नभए पनि आवश्यकताअनुसार अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी लम्सालको दाबी छ ।

पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा खाजा घरमा अनुगमनका क्रममा २० वटा होटल तथा खाजा घर, छ वटा सप्लायर्स र किराना पसल गरी जम्मा २६ वटा फर्मको जिल्ला अनुगमन टोलीद्वारा अनुगमन गरिएको छ । करिब एक लाख एक हजार ५०० रुपैयाँ बराबरको म्याद गुज्रेका र सडेगलेका प्रयोग गर्न अयोग्य सामग्री जफत गरी नष्ट गर्नुका साथै अनुगमनका क्रममा कैफियत भेटिएका १५ वटा फर्मलाई नगद जरिवानासमेत गरिएको प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिनुभयो । अनुगमनकै क्रममा भेटिएका यात्रुले यस्ता होटल सञ्चालकलाई सरकारले नै कडाइपूर्वक अनुगमन गरेर नै ठेगान लगाउन सुझाव दिने गरेका छन् ।