८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

तीन लाखले गर्नेछन् निर्वाचनको पहरा

तीन लाखले गर्नेछन् निर्वाचनको पहरा
अ अ+ अ-

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन तथा समानुपातिक निर्वाचनमा झण्डै तीन लाख जनशक्तिले सुरक्षा प्रदान गर्ने भएका छन् ।

निर्वाचनमा नेपाल प्रहरीका ७१ हजार छ सय ९३ जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । नेपाली सेनाले विगतकै हाराहारीमा ७१ हजार जनशक्ति खटाउने आन्तरिक रणनीति तयार पारेको छ । सशस्त्र प्रहरीले भने ३५ हजार जनशक्ति परिचालन गर्ने जनाएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका दुई हजार बढी परिचालन हुनेछन् । सबै गरेर दुई लाख ९४ हजार सात सय बढीले निर्वाचनको पहरा दिने योजना बनाइएको छ । यद्यपि केन्द्रीय सुरक्षा योजनाअनुसार सङ्ख्यामा केही हेरफेर हुनसक्ने सुरक्षा अधिकारीहरूको भनाइ छ ।

गृह मन्त्रालयले निर्वाचनको केन्द्रीय सुरक्षा योजनालाई अन्तिम रुप दिइनसके पनि नेपालका चारवटै सुरक्षा निकायका विगतका अनुभव र यसपालि आउनसक्ने सुरक्षा चुनौती आकलन गरेर आन्तरिक रणनीति निर्माण गरी निर्वाचनको तयारी थालेको छ ।

नेपाली सेनाको एक फौज भने मतपत्र छपाइको सुरक्षामा खटिइसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग पनि आफ्नो जिम्मेवारीमा लागिसकेका छन् । निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरी रहने छ । त्यसपछि सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले पहरा दिनेछ । विभाग भने सूचना सङ्कलनमा खटिनेछ ।

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा भन्दा यसपटक नेपाल प्रहरीका १० हजार र म्यादीका १५ हजार जनशक्ति थप गरिएको छ । त्यसबेला नेपाल प्रहरीका ६१ हजार र म्यादी प्रहरी एक लाख खटाइएको थियो । सशस्त्र प्रहरीतर्फ निर्वाचनका लागि तीन हजार जनशक्ति थप गर्दै कुल ३५ हजार जनशक्ति खटाइने सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्काले जानकारी दिनुभयो । यसअघि स्थानीय तहको निर्वाचनमा ३२ हजार सशस्त्र प्रहरी कर्मचारीले सुरक्षा प्रदान गरेका थिए ।

“अहिले निर्वाचन केन्द्रित अनुशिक्षण तथा तालिम सञ्चालन गरिरहेका छन्, पहिलो तालिममा १७ हजार पाँच सय जनशक्तिले तालिम लिइरहेका छन्, दोस्रोपटक बाँकीलाई तालिम प्रदान गरिने छ”, खड्काले रासससँग भन्नुभयो । अन्य बजेटलगायतका विषयमा प्रस्ताव पेश गरिएको भए पनि स्वीकृत हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

नेपाली सेनाले आफ्नो आन्तरिक तयारी तीव्र पारेको जानकारी दिँदै नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले मतपत्र छपाइमा एक गुल्मभन्दा केही बढी फौज सुरक्षार्थ खटिइसकेको उल्लेख गर्नुभयो । “आफ्नो आन्तरिक तयारी, विगतको अनुभव र सुरक्षा चुनौतीसमेतलाई आकलन गरेर रणनीति तय गरिरसकेका छौँ”, प्रवक्ता सिलवालले भन्नुभयो, “केन्द्रीय सुरक्षा योजना र सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना नआउँदासम्म ठ्याक्कै यकिन भनेर भन्न सकिन्न ।” उहाँका अनुसार वितगको निर्वाचनमा ७१ हजार फौज खटिएकाले अहिले पनि सोही हाराहारीमा खटिने अनुमान गरिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका भने दुई हजार हाराहारीमा जनशक्ति परिचालन हुने जनाइएको छ । विभाग निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचनपछिका समग्र सूचना सङ्कलनमा केन्द्रित हुनेछ । यस्तै सम्भावित चुनौतीका विषयमा समेत सरकारलाई सूचना उपलब्ध गराउने जिम्मेवारी विभागलाई छ । विभागका एक जना सुरक्षा अधिकृतले अन्य सुरक्षा निकायले जसरी तयारी गरिहेका छन् विभागको पनि सोहीरूपमा तयारी जारी रहेको जानकारी दिनुभयो । सबै गतिविधि र जनशक्ति गोप्य रहने उहाँले बताउनुभयो ।

यसपटक मतदानस्थल, मतदान केन्द्र र मतदातासमेत थपिनेछन् । त्यसैले सुरक्षाकर्मी थप गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । स्थानीय तहमाभन्दा यसपटक समानुपातिक निर्वाचन प्रणाली थप हुन्छ, सङ्घ र प्रदेशको चुनाव पनि सँगसँगै छ, कारागारका कैदीबन्दीले पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिएकाले पनि सुरक्षा जनशक्ति थप्नुपरेको उहाँले बताउनुभयो । यसपालि झण्डै पाँच लाख मतदाता थपिने अनुमान पनि गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनः अर्को ठाउँमा मत खसाल्नुपर्ने हुन्छ । सबै सुरक्षा निकायलाई समेटेर एकीकृत सुरक्षा रणनीति तयार गर्ने क्रममा रहेको जनाइएको छ । गृह मन्त्रालयले केन्द्रीय सुरक्षा योजना निर्माण गरेपछि त्यसलाई नै आधार मानेर सुरक्षा योजना सार्वजनिक गरिने जनाइएको छ । रासस