११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

एक वर्षमा बन्नुपर्ने पुल सात वर्षसम्म बन्न सकेन

एक वर्षमा बन्नुपर्ने पुल सात वर्षसम्म बन्न सकेन
अ अ+ अ-

मनाङ। हिमाली जिल्ला मनाङ प्रवेशका लागि सहज बनाउन निर्माण गर्न लागिएका पुल समयमा बन्न सकेका छैनन् । एक वर्षमा निर्माण गर्नुपर्ने पुल सात वर्ष हुँदासम्म पनि बन्न सकेको छैन ।
विसं २०७३ को असारमा मनाङको साविक थोंचेगाउँ विकास समितिस्थित दूधखोलामाथि पुल बनाउन द क्याराभान कम्पनीलाई ठेक्का दिइएको थियो । विसं २०७४ मा एक वर्षको अवधिमा सम्पन्न गर्नुपर्ने गरी साविक जिल्ला विकास समितिसँग सम्झौता भयो तर सात वर्ष बितिसक्दासमेत हालसम्म पुल निर्माण हुनसकेको छैन ।

हालसम्म नदीको दुई किनारामा पुलको पिलर मात्रै गाडिएको देख्न सकिन्छ । नदी किनारामा पिलर उठाएर निर्माण कम्पनीका ठेकेदार हालसम्म सम्पर्कविहीन छ । उक्त पुल निर्माणको ठेक्का पाएको ठेकेदारले आधाभन्दा बढी रकम लगिसकेको पूर्वाधार कार्यालयले जनाएको छ । धारापानीदेखि तिल्चे हुँदै तिब्बत जोड्ने सडकअन्तर्गत उक्त पुल अलपत्र अवस्थामा रहेको हो ।

समयमै पुल निर्माण हुन नसक्दा मनास्लु पदमार्गमा जाने पर्यटकलाई यात्रामा समस्या हुनाका साथै चर्को ढुवानी शुल्क तिरेर सामग्री ढुवानी गर्नुपर्ने बाध्यतामा रहेको स्थानीयवासीले गुनासो गरे । ठेकेदारले यो पुल निर्माणका लागि कहिलेकहीँ केही काम गरेजस्तो गर्ने र छोड्ने गर्दा समस्या भएको नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो ।

“तिल्चेका बासिन्दा सानो सामग्री लिनका लागि पनि धारापानी पुग्नुपर्छ । कहीँकतै सडक बिग्रिए पनि जेसिबी ल्याएर मर्मत गरी सञ्चालनमा ल्याउनसमेत समस्या हुन्छ । पुल नबन्दा बाटो नै पूर्णरूपमा बन्द हुने गरेकाले दबाब दिइरहेका छौँ तर पनि अहिलेसम्म बनाउने चासो नै देखाउँदैन ठेकेदारले”, उहाँले भन्नुभयो, “यहाँका बासिन्दाले लमजुङ बेँसीसहरबाट रु १० मा एक किलोग्राम किनेको सामान गाउँमा पु¥याउन फेरि रु १० भाडा तिर्नुपर्ने हुन्छ ।”

दूधखोला जस्तै मनाङका धेरै पुल निर्माण हुनसकेका छैनन् । मस्र्याङ्दी नदीमाथिको हुम्डेमा पुल बनाउन साविक जिल्ला विकास समितिले विसं २०७३ कै असारमा अर्को ठेक्का लगायो । उक्त पुल निर्माणका लागि पनि द क्याराभान कम्पनीले नै ठेक्का पायो । विसं २०७४ मा सम्पन्न गर्नुपर्ने गरी भ्याटसहित रु चार करोड ५७ लाखमा ठेक्का दिइएको यो पुल हालसम्म पनि बन्न सकेको छैन ।

समयमा निर्माणको काम सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप गरियो तर कामको प्रगति हुन भने सकेन । तत्कालीन जिविसले विभिन्न समयमा मनाङमा छवटा पुल निर्माणका लागि बोलपत्र निकालेकोमा सबै पुल निर्माणको ठेक्का क्याराभानले पाएको थियो । लमजुङ र म्यार्दी खोलाको निर्माण भएर सवारीसाधन सञ्चालन भएको छ तर अन्य धेरै पुल अझैसम्म अलपत्र अवस्थामा नै छन् ।

विसं २०७४ असार ८ मा रु दुई करोड २६ लाखको लागतमा निर्माण सम्झौता भएको तिमाङ खोलाको पुल निर्माणको अन्तिम चरणमा रहेको अवस्थामा गत वर्षको बाढीले बगायो । विसं २०७५ पुस ८ मा निर्माणको समय सकिए पनि हालसम्म यसको म्यादसमेत थप भएको छैन । उक्त पुलका लागि रु तीन करोड ६९ लाख लागत अनुमानसहित डेढ वर्षमा सम्पन्न गर्न विसं २०७४ जेठमा सम्झौता भएको थियो ।

त्यस्तै विसं २०७४ पुस २६ मा सम्झौता भएको मुङ्जी खोलामाथिको पुल निर्माणको म्याद दुई वर्ष थपिएको थियो । रु नौ करोडको लागतमा निर्माण गरिने पुल बल्ल सुरु भएको छ । मनाङको विकास निर्माणको काम गर्न भौगोलिक समस्याका कारण काम गर्न नसकेको कम्पनीले जनाउँदै आएको छ । आफूहरुले काम गर्न छाडेको भन्दा पनि मौसम प्रतिकूलताले गर्दा काम गर्न नसकिएको कम्पनीका प्रतिनिधि सोम गौचनले बताउनुभयो ।

“कहिले बाढी, कहिले हिउँ त, कहिले कोरोनाको समस्याले पनि निर्माणको काम ढिलो भएको हो । हिउँदमा हिउँले काम गर्न सकिदैन । वर्षामा बाटो राम्रो हुँदैन । अब चालु वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेका छौं,” उहाँले भन्नुभयो । तात्कालीन जिविसबाट ठेक्का लगाएर बजेट समेत निकासा भइसकेका मनाङका आधा दर्जनभन्दा बढी पुल आठ वर्ष हुँदासम्म निर्माण हुन सकेका छैनन् ।
ठेकेदार कम्पनीले ठेक्का मात्रै ओगटेर काम नगरेपछि सबैजसो निर्माणको काम हुन नसक्दा समस्या भएको स्थानीयवासीको गुनासो थियो । ठेकेदार कम्पनीले समयमा काम गर्न नगरिदिदा मुख्य सडकमा नै कतै काठको पुल बनाएर सवारी साधन सञ्चालन भएका छन् भने कतै खोलाबाट नै तर्न बाध्य भएका छन् ।

पुरानै ठेक्कामा अल्झाइरहेको क्याराभानलाई नै पछिल्लो समय घोप्टेखोलाको बेलीब्रिज पुल निर्माणको काम दिइएको छ तर तोकिएको समयभन्दा केही ढिला गरी निर्माण सम्पन्न भएको छ । निरन्तरको प्रयास पछि बल्ल निर्माण कम्पनी सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । सम्पर्कमा आएर बाँकी पुल निर्माणको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको उहाँले बताउनुभयो ।

“लामो समयदेखि काम नगरी सम्पर्कविहीन रहेको निर्माण कम्पनीको गुनासो आइरहन्थ्यो । हामी फिल्डमा जाँदासमेत काम हुने अवस्था नदेखिएपछि कम्पनीका प्रतिनिधिलाई बोलायौँ”, प्रजिअ आचार्यले भन्नुभयो, “भदौ २५ गतेभित्र सामग्री र कामदार ल्याउने तथा तुरुन्तै काम थाल्ने सहमति भएको छ । अब काम हुने अपेक्षा गरिएको छ । सहमतिअनुसार काम भएन भने कानुनबमोजिम कारबाही अगाडि बढ्नेछौँ ।”

ठेकेदार कम्पनीले काम नगरेपछि मनाङवासीले पटक–पटक सम्बन्धित निकायमा उजुरीसमेत दिँदै आए पनि कसैको चासो नपुगेको उनीहरूको गुनासो थियो । ठेक्का लागिसकेको स्थानमा पुल निर्माण नहुँदा गत हिउँदमा स्थानीयवासीले एकजुट भएर काठको पुल निर्माण गरी सहज बनाएका छन् । मनाङको यात्रा काठे पुलकै भरमा यात्रा हुने भएकाले जोखिम बढिरहेको छ । डुम्रे–बेँसीसहर–चामे सडकखण्डमा २१ वटा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिए पनि बजेट भने विनियोजन भएको छैन ।

नविन लामिछाने /रासस