५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

नेपाल गुणस्तर चिह्न पाएपछि हुवासिन सिमेन्टको व्यावसायिक उत्पादन सुरु

नेपाल गुणस्तर चिह्न पाएपछि हुवासिन सिमेन्टको व्यावसायिक उत्पादन सुरु
अ+ अ-

काठमाडौँ । लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । सरकारले नेपाल गुणस्तर चिह्नसमेत प्रदान गरिसकेकाले अब व्यावसायिक उत्पादन सुरु भएको उद्योगले जनाएको छ ।

उद्योगले गत पुसदेखि नै परीक्षण उत्पादन गर्दै आएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नापतौल तथा गुणस्तर विभागका प्रवक्ता ज्योति भट्टले हुवासिन सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्टले नेपाल गुणस्तर चिह्न ९एनएस० दिइएको जानकारी दिनुभयो ।

उहाँले उक्त सिमेन्टलाई आइतबार गुणस्तर चिह्न दिइएको र उद्योगका प्रतिनिधिले आज उक्त प्रमाणपत्र लिएर जानुभएको बताउनुभयो । गुणस्तर चिह्न प्राप्त गरेसँगै नेपालमा विदेशी लगानीको ठूलो सिमेन्ट उद्योगको उत्पादन नेपाली बजारमा उपलब्ध हुनेछ ।

“हामीले झण्डै आठ महिनादेखि परीक्षण उत्पादन गरिहेका थियौँ, सरकारको अनुमति पनि प्राप्त भएको छ, अब पूर्णरुपमा व्यावसायिक उत्पादन सुरु भएको छ”, हवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले भन्नुभयो ।

नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको उद्योगमा गत कात्तिकको अन्तिम सातादेखि विद्युत् उपलब्ध भएको थियो । उद्योगमा ड्राइ प्रोसेस प्रविधिबाट उत्पादन हुने र विश्वमा हाल अत्यन्त प्रचलित फिल्टरलगायत इलेक्ट्रो स्ट्याटिक प्रिसिपिटेटर (इएसपी) जडान भएकाले न्यून प्रदूषण हुने दाबी गरिएको छ । उद्योग आफैँले धुलो तथा पानीको बाफ प्रयोग गरेर आन्तरिकरुपमा नै ‘वेस्ट हिट रिकभरी’ मार्फत पाँच मेगावाट बिजुली आफैँ उत्पादन गरेको छ ।

आफ्नै उच्च गुणस्तरको चुनढुङ्गा खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिन्कर र सिमेन्ट उत्पादन गर्ने उद्योगले दाबी गरेको छ । अत्याधुनिक कम्प्युटर प्रविधि (सिसिआर) बाट सम्पूर्ण उत्पादन प्रक्रियाको निरन्तर निगरानी हुने भएकाले गुणस्तरमा कुनै पनि सम्झौता नगरिने उद्योगको भनाइ छ ।

आफ्नै अत्याधुनिक प्रयोगशालाबाट निरन्तर क्लिन्कर तथा सिमेन्टको गुणस्तर परीक्षण भइरहने एवं भर्टिकल रोलर मिल (भिआरएम) प्लान्टबाट सिमेन्ट उत्पादन हुने भएकाले गुणस्तर अधिक हुने उपमहाप्रबन्धक पोखरेलले जानकारी दिनुभयो ।

अत्याधुनिक प्याकेजिङ प्लान्टबाट सिमेन्ट बोरा प्याकिङ हुने भएकाले लिकेज प्रुफ र ओस नलाग्ने उद्योगको भनाइ छ । मस्र्याङ्दी काठमाडौँ एक सय ३२ केभी प्रसारण लाइनबाट उद्योग परिसरसम्म बिजुली उपलब्ध गराइएको छ । सरकारले प्राथमिकता प्राप्त उद्योगलाई विद्युत् उपलब्ध गराउने गरेको छ ।

धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण भएको स्वीचिङ स्टेशनलाई गत कात्तिकमा नै चार्ज गरिएको भए पनि गत मङ्सिरको दोस्रो सातादेखि उद्योगमा नियमितरुपमा बिजुली उपलब्ध गराइएको थियो ।

प्रसारण लाइन निर्माण उद्योग आफैँले गरेको हो । त्यसका लागि मात्रै करिब रु एक अर्ब बराबरको खर्च भएको बताइएको छ । तनहुँको तल्लो मस्र्याङ्दी विद्युत्गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेशनमा भित्रने ९लुप इन० र बाहिरिने ९लुप आउट० निर्माण गरिएको छ । प्रसारणलाइनलाई स्विचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् उपलब्ध गराइएको छ । सो स्विचिङबाट सिमेन्ट उद्योगले कूल २० मेगावाट विद्युत् लिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगले मागेजति विद्युत् उपलब्ध गराउने नीतिअनुसार नै हुवासिन सिमेन्टले पनि बिजुली पाएको यसअघि नै बताइसक्नुभएको छ । बेनिघाट रोराङ गाउँपालिकाको ताल्दीमा रहेको उद्योगले करिब १४ किलोमिटर प्रसारण लाइन र एक सय ३२ केभी क्षमताको सबस्टेशन निर्माण गरेको छ ।

प्राधिकरणको प्राविधिक सहयोग एवं सुपरीवेक्षणमा स्विचिङ स्टेशन र सवस्टेशन निर्माण गरिएको हो । प्राधिकरणका अनुसार स्विचिङ स्टेशन निर्माण भएपछि धादिङको विद्युत् आपूर्तिमा सुधार भएको छ । सामान्य हावाहुरी आउँदा प्रभावित हुने धादिङको विद्युत् आपूर्तिमा गुणात्मक सुधार भएको छ । त्यसका लागि ३३ र ११ केभी क्षमताका वितरण लाइन निकालिएका छन् । स्विचिङ स्टेशन सञ्चालनसँगै धादिङको गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागेका अन्य उद्योगलाई सहजरुपमा बिजुली उपलब्ध गराउन सकिएको छ ।

राजधानी काठमाडौँ नजिक भएकाले पनि राजमार्ग क्षेत्रमा दर्जनौँ नयाँ उद्योग खुल्न लागेका छन् । ती उद्योगमा सहजरुपमा बिजुली उपलब्ध गराउन प्राधिकरणको पूर्वाधारसमेत तयार भएको छ । राजमार्ग क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति हुँदा प्राधिकरणको आम्दानीमा वृद्धि हुनेछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग परिससम्म प्रसारण लाइन बनाउने नीति लिए पनि समयमा काम नहुने भएपछि हुवासिनले आफैँ सो संरचना तयार पारेको हो । कोरोना कहर, प्राकृतिक विपत्तिलगायत कारणले उद्योगको लागत बढ्न गएको उपमहाप्रबन्धक पोखरेलको भनाइ छ ।

लगानी बोर्डसँग सुरुआती सम्झौता गर्दा करिब रु १४ अर्ब ४० करोड बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले थप रु तीन अर्ब लागत बढ्न गएको बताइएको छ । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाइएको थियो ।

अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो चार वर्षदेखि नियमितरुपमा उत्पादन गरिरहेको छ । सो उद्योग सञ्चालनमा आएपछि सस्तो मूल्यमा नेपाली बजारमा सिमेन्ट उपलब्ध हुन थालेको हो । हुवासिन बजारमा आएसँगै गुणस्तरीय सिमेन्टसमेत उपलब्ध हुने बताइएको छ ।

आर्थिक विकासको गतिमा अगाडि बढिरहेको मुलुकका लागि गुणस्तरीय सिमेन्ट उपलब्ध गराउनु नै आफूहरुको प्रमुख कर्तव्य रहेको उपमहाप्रबन्धक पोखरेलको भनाइ छ । हुवासिन सिमेन्ट उद्योगले दैनिक तीन हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ ।

बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ मा उद्योग स्थापनाका लागि चीनको राजधानी बेइजिङमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौताअनुसार छ महिनाभित्र कारखाना स्थापना गर्ने भनिए पनि विभिन्न कारणले लामो समय लागेको हो । संसारका प्रख्यात सिमेन्ट उद्योगमध्ये शीर्ष १० भित्र हुवासिन पनि पर्छ । उद्योगमा तीन सय ५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

विसं २०७४ मङ्सिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवद्र्धकले रु ६० करोड बराबरको लगानी गरेको थियो । खानीका लागि हालसम्मकै बढी खर्च गरिएको यो नै पहिलो हो । खानी विभागले बोलपत्रका आधारमा बढी मूल्य भुक्तानी गर्ने कम्पनीलाई उक्त खानी दिइएको हो । बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले स्वीकृति दिएको थियो ।

नेपालमा हाल झण्डै ३५ लाख मेट्रिकटन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कूल जडित क्षमता ५५ लाख मेट्रिकटन पुगिसकेको छ । विकास निर्माणका काममा बढोत्तरी हुँदै गएको तथा भौतिक पूर्वाधारमा लगानी बढिरहेका सन्दर्भमा आगामी दिनमा थप सिमेन्ट उद्योग स्थापना हुनेछन् । उद्योगले धादिङको ताल्दी पुग्ने सडक निर्माण, स्थानीयरुपमा निःशुल्क बिजुली उपलब्ध गराउनेदेखि अन्य सामाजिक कामसमेत गर्दै आएको छ । रमेश लम्साल