२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन : कुन पदमा उम्मेदवार हुन कति तिर्नुपर्छ शुल्क ?



अ+ अ-

काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसले महाधिवेशनका लागि उम्मेदवारी दर्ताबाटै करोडौं रुपियाँ संकलन गर्ने भएको छ । भदौ १८ गतेदेखि तल्लो तहको अधिवेशन गरी आगामी मंसिर दोस्रो सातासम्म केन्द्रीय महाधिवेशन गर्न लागेको कांग्रेसले उम्मेदवारी दर्ताका लागि १ सय रुपियाँदेखि ३० हजार रुपियाँसम्म शुल्क तोकेको छ ।

कांग्रेसको निर्वाचन निर्देशिकाअनुसार सबैभन्दा कम शुल्क वडा कार्यसमिति सदस्यको उम्मेदवारी दर्ताका लागि सय रुपियाँ र सबैभन्दा बढी केन्द्रीय सभापतिका लागि ३० हजार रुपियाँ शुल्क तोकेको छ । वडा सभापतिका लागि ५ सय, उपसभापति, सचिव र सहसचिवका लागि ३–३ सय रुपियाँ शुल्क तोकेको छ । त्यसै गरी प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि ५ सय र वडा कार्यसमिति सदस्यको उम्मेदवारीका लागि १ सय रुपियाँ शुल्क तोकिएको छ ।

देशभर ६ हजार ७ सय ४३ वडा अधिवेशन हुँदै छ । वडा कार्यसमितिमा मनोनितबाहेक सभापति, उपसभापति, सचिवसहित कम्तीमा १५ जनाको कार्यसमिति निर्वाचित हुनेछ । १ सय ५० भन्दा कम क्रियाशील सदस्य भएको वडामा कम्तीमा ९ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । वडा कार्यसमिति निर्वाचनबाट मात्र कांग्रेसको करोडौं रुपियाँ संकलन हुने देखिन्छ ।

गाउँरनगरपालिका अधिवेशनबाट पनि कांग्रेसलाई ठूलो धनराशी संकलन हुनेछ । गाउँपालिका कार्यसमिति निर्वाचनमा सभापतिका लागि २ हजार, उपसभापति, सचिव र सहसचिवका लागि १–१ हजार र कार्यसमिति सदस्यका लागि ५ सय शुल्क तोकिएको छ । नगरपालिका कार्यसमितिमा अझ बढी रकम शुल्क तोकिएको छ । नगरपालिका कार्यसमिति सभापतिका लागि ४ हजार रुपियाँ छ भने उपमहानगरपालिका, महानगरपालिकाको सभापतिका लागि ५ हजार रुपियाँ शुल्क तोकिएको छ । उपसभापति र सचिवको उम्मेदवारीका लागि नगरमा ३–३ हजार, सहसचिवका लागि २ हजार र सदस्यका लागि १ हजार रुपियाँ शुल्क तोकिएको छ । यसरी ७ सय ५३ स्थानीय तहमा हुने अधिवेशनबाट मात्रै करोडौं रुपियाँ संकलन हुने देखिन्छ ।

प्रदेशसभा क्षेत्रीय कार्यसमितिअन्तर्गत सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि ३–३ हजार, सहसचिवका लागि २ हजार ५ सय र सदस्यका लागि २ हजार रुपियाँ शुल्क निर्धारण गरिएको छ । कुल ३ सय ३ प्रदेशसभा क्षेत्रीय अधिवेशनमा प्रत्येक प्रदेशमा सभापति, उपसभापति, दुई सचिव, दुई सहसचिव, एक कोषाध्यक्ष र प्रदेश अधिवेशन प्रतिनिधि गरी १६ जना निर्वाचित हुनेछन् ।

त्यसै गरी, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा सभापतिका लागि ७ हजार, उपसभापति र सचिव पदका लागि ५–५ हजार रुपियाँ तोकिएको छ । त्यसै गरी सहसचिवका लागि ४ हजार र सदस्यका लागि २ हजार रुपियाँ तोकिएको छ । अधिवेशनमा १ सय ६५ निर्वाचन क्षेत्रमा ३ हजारभन्दा बढी उम्मेदवार हुनेछन् ।

त्यसै गरी, जिल्ला सभापतिको उम्मेदवारी दर्ताका लागि १० हजार, उपसभापति र सचिव पदको उम्मेदवारीका लागि ७–७ हजार, सहसचिव पदका लागि ६ हजार र कार्यसमिति सदस्य पदका लागि ३ हजार शुल्क निर्धारण गरिएको छ । जिल्लामा सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव एक कोषाध्यक्ष निर्वाचित गरिने व्यवस्था छ । साथै, कार्यसमिति सदस्यका लागि प्रत्येक गाउँपालिकाबाट १ महिलासहित २ जना, प्रत्येक नगरपालिकाबाट १ महिलासहित ३ जना, उपमहानगरपालिकाबाट २ महिलासहित ५ जना र महानगरपालिकाबाट ३ महिलासहित ७ जनाको प्रत्यक्ष निर्वाचित गरिने व्यवस्था छ ।

कांग्रेसले प्रदेश कार्यसमितिको सभापतिको उम्मेदवारी दर्ताका लागि १५ हजार रुपियाँ, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ११–११ हजार रुपियाँ शुल्क राखेको छ । प्रदेश कार्यसमिति सदस्यको उम्मेदवारले ५ हजार रुपियाँ बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसले केन्द्रीय सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५–२५ हजार र सहमहामन्त्री पदका लागि २० हजार रुपियाँ शुल्क तोकेको छ । यो अधिवेशनमा उपसभापति दुई र महामन्त्री दुई निर्वाचित हुनेछन् भने ८ सहमहामन्त्री निर्वाचित हुनेछ । केन्द्रीय सदस्य पदका लागि १० हजार शुल्क तोकिएको छ । १४औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यमा विभिन्न क्षेत्रबाट १ सय २१ जना प्रत्यक्ष निर्वाचित हुनेछन् ।

त्यसै गरी, प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवारका लागि ३ हजार, महासमिति सदस्य उम्मेदवारीका लागि ७ हजार रुपियाँ दर्ता शुल्क तोकिएको छ । महाधिवेशन प्रतिनिधि उम्मेदवारका लागि ५ हजार रुपियाँ तोकिएको छ । १४औं महाधिवेशनमा महाधिवेशन करिब ४ हजार ५ सय प्रतिनिधि निर्वाचित भएर आउँदै छन् । महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिका उम्मेदवारबाट मात्रै कांग्रेसले ५ करोड रुपियाँभन्दा बढी रकम संकलन गर्ने अनुमान गरिएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।