• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

विपक्षमा उभिएर गठबन्धन जोगाउने सूत्र खोज्दै प्रचण्ड



file

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा प्रस्तुत भएको अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा मतदान गर्ने बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित भेट गर्नुभएका प्रचण्डले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मतदान गरे पनि सत्ता गठबन्धन नटुट्ने गरी एमसीसी पारित गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिनुभएको थियो ।

आफ्नो पार्टीले एमसीसीको विपक्षमा मतदान गरे पनि अन्य दलको समर्थनमा मतविभाजनबाट एमसीसी पारित होस् भन्ने उहाँको मनसाय रहेको थियो । उहाँले नेकपा माओवादी केन्द्रलाई राजनीतिक ‘स्पेस’ दिन आग्रह गर्दै मतविभाजनमा जान र गठबन्धन पनि नटुटाउन प्रधानमन्त्री देउवासँग आग्रह गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री देउवाले ध्वनि मतका आधारमा एमसीसी पारित हुनुपर्ने बताउनुभयो ।

सरकारले एमसीसीलाई संसद्मा प्रस्तुत गरिसकेकाले सत्ता साझेदार दलको कर्तव्य जसरी पनि पारित गराउनुपर्ने उहाँको जिकिर थियो । मतविभाजनमा गएर विपक्षमा मतदान गरिसकेपछि सत्ता गठबन्धनमा बस्नुको औचित्य सकिने उहाँको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसीका सम्बन्धमा मतविभाजनमा लैजानुपर्ने माग राख्ने बताउनुभयो । प्रधानमन्त्री देउवासँग भेट गर्नुअघि आज बिहान प्रचण्ड, नेपाल र एकीकृत समाजवादीका नेता झलनाथ खनालसहितनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।