२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासीको नाममा हुकुम्बासीको चलखेल



अ+ अ-

इटहरी । सप्तकोसी नदीले धार परिर्वतन गरी पूर्वतर्फ बग्दा उकास हुन आएको आठ हजार हेक्टर अर्थात् १२ हजार बिघा जमिन सुकुम्बासीका नाममा भूमाफियाबाट अतिक्रमण भएको छ । जग्गा अतिक्रमणका कारण सो क्षेत्रमा कबुलियत वन बनाउन नेपाल सरकारले गरेको निर्णय कार्यान्वयनमा अन्योल देखिएको छ ।

बेलका नगरपालिकाका प्रमुख दुर्गा थापाका अनुसार, सुनसरी र उदयपुर जिल्लाको सिमानामा रहेको सो जमिनमध्ये सुकुम्बासीको नाममा भूमाफियाको अतिक्रमणको चपेटामा परेको छ । उदयपुरको बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ अन्तर्गत पर्छ । भूमाफियाले जग्गा कब्जा गरेका कारण त्यहाँ रहेको नदी उकास जमिनमध्ये १७६ दशमलव २३ हेक्टरमा कबुलियत वन बनाउने सरकारी निर्णय अन्योलमा परेको स्थानीयको भनाइ छ । मन्त्रिपरिषद्को गत जेठ ६ गतेको बैठकले १७६ दशमलब २३ हेक्टर जमिनमा कबुलियत वन बनाउने निर्णय गरेको थियो । वराह हर्बल सुनसरी र सेफ ले टेक्नोलोजी ललितपुरलाई ३० वर्षका लागि सो जमिन लिजमा दिएको छ । स्थानीय तह, वन कार्यालयलगायतको सिफारिसमा सरकारले सो निर्णय लिएको हो ।

सो क्षेत्रमा कबुलियत वनका रूपमा पर्यापर्यटन, कृषि, जडीबुटी खेती विस्तार, माछा तथा पशुपालनलगायतका कार्य गर्ने योजना रहेको छ । सरकारले कबुलियत वन घोषणा गरेको जमिनमा कुनै पनि सुकुम्बासीको बसोवास नै नरहेको सब–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख सहायक वन अधिकृत सन्नीकुमार झाले बताउनुभयो । उहाँका अनुसार, कबुलियत वन घोषणा भएको क्षेत्रमा न त एउटा सुकुम्बासीको बसोवास छ, न त कुनै टहरा नै छ तर केही पहुँचवालाले काम गर्ने मान्छे लगाएर सयौँ बिघा जमिन कब्जा गरेका छन् ।

नगरपालिकाको तथ्याङ्कअनुसार सो जमिन क्षेत्रमा करिब एक हजार तीन सय वास्तविक सुकुम्बासी परिवारको बसोवास रहेको छ । तर, ती वास्तविक सुकुम्बासीभन्दा बाहिरका केही भूमाफिया र पहुँचवाला सीमित व्यक्तिले त्यहाँको सयौँ हेक्टर जमिन कब्जा गरी किनबेचसमेत गर्दै आएको नगरप्रमुख थापाको भनाइ छ । उहाँका अनुसार सो क्षेत्रमा रहेको सरकारी जमिनमध्ये करिब पाँच हजार हेक्टरभन्दा बढी भू–भाग अतिक्रमणको चपेटामा परेको छ ।
यता, स्थानीयको भनाइअनुसार सयौँ हेक्टर जमिन कब्जा गर्दै आएकाहरू त्यहाँको वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न चाहेको देखिँदैन । केही वर्षदेखि कब्जा गर्दै आएको जग्गा गुम्ने हो कि भनेर स्थानीय सर्वसाधारणसमेतलाई उकासेर आन्दोलन गराउने काम पनि पहुँचवालाले गरेको आरोप स्थानीय समाजसेवी सुरेन्द्र काफ्लेको छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।