९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

नौ वर्षपछि ‘बास्सा नाच’

नौ वर्षपछि ‘बास्सा नाच’
अ अ+ अ-

‘संस्कृतिका प्रेमी तिमी शिक्षाको दियो
रीतिरिवाज चाडपर्वमा उस्तै रुचि थियो
छाडी गयौँ समाजमा ज्ञानको ज्योति
गर्नेछन् शिष्य सारा नमन कोटीकोटी…’

बागलुङ । शनिबार यहाँ निकालिएको बास्सा नाचमा प्रस्तुत शोकगीतको अंश हो, यो । बुवा सूर्यप्रसाद श्रेष्ठ ‘मिलन’ को स्मृतिमा छोरा सिद्धार्थ मिलनले यसलाई रच्नुभएको हो । गीतमा गायक शुभराम भारी, गायिका रेखा थापालगायतले स्वर दिएका छन् ।

बास्सा नाच निकाल्ने सोच बनेपछि श्रेष्ठ परिवारले गीतको तयारी पहिले नै गरेको थियो । दिवङ्गत श्रेष्ठको जीवनगाथालाई उक्त गीतले कारुणिक ढङ्गले उठान गरेको छ । नेवारी समुदायमा गाईजात्राका दिन वर्ष दिनभित्र दिवङ्गत भएका व्यक्तिका घरबाट बास्सा नाच निकाल्ने प्रचलन छ ।

यद्यपि यो संस्कृति सबै परिवारले भने देखाउन सक्दैनन् । नौ वर्षपछि बल्ल बास्सा नाच प्रदर्शन गरिएको हो । खर्चिलो र व्यवस्थापनमा धेरै समय दिनुपर्ने भएकाले यो नाच सम्पन्न परिवारले मात्र निकाल्ने गर्छन् । यसअघि स्थानीय अबिरकुमारी श्रेष्ठको निधनपछि विसं २०७० भदौमा उहाँका परिवारजनले बास्सा नाच निकालेका थिए ।

संस्कृतिकर्मी प्रेम छोटाले राजा प्रताप मल्लले पुत्र वियोगमा परेकी रानीलाई शोकबाट बाहिर ल्याउन बास्सा नाचको चलन बसालेको बताउनुभयो । “छोराको वियोगले रानी विह्वल बनिन्, त्यसपछि राजाले रानीलाई सम्हाल्न र शोकमुक्त पार्न बास्सा नाच सुरु गरेको इतिहासमा उल्लेख छ”, उहाँले भन्नुभयो, “सम्पन्नशाली परिवारले मात्र यो नाच निकाल्न सक्छन्, सबैले यसको खर्चपर्च धान्न सक्दैनन्, आँट पनि गर्दैनन् ।”

संस्कृतिकर्मी छोटाले नाचको नाम बादशाहबाट अपभ्रंश भएर बास्सा भएको उल्लेख गर्नुभयो । “राजखलक परिवारमा देखाइने भएकाले पहिले बादशाह नाच भनिन्थ्यो, पछि यो बास्सा नाचले चिनिन थाल्यो, ठाउँ विशेषअनुसार फरक नाम छन्”, उहाँले भन्नुभयो ।

बागलुङमा विसं १९८३ देखि बास्सा नाच देखाउन थालिएको उहाँले बताउनुभयो । नेवारी संस्कृतिमा एतिहासिक महत्व राख्ने उक्त नाचमा राम, कृष्ण र विष्णुलीला झल्काउने शोभायात्रा पनि गर्ने गरिन्छ । कलाकारलाई राम, सीता, लक्ष्मण, कृष्ण, राधा, हुनमानलगायत भगवान्का भेषमा सजाएर शोभायात्रा निकालिन्छ ।

“भगवान्को स्तुति र मृतकको आत्मा शान्तिको कामना गर्दै शोभायात्रा गरिन्छ, शोभायात्रामा गाइने गीतमा व्यक्तिको जीवनगाथा समेटिएको हुन्छ, यो मधुर र कारुणिक हुन्छ”, संस्कृतिकर्मी छोटाले भन्नुभयो, “भगवान्को पाउमा फोहर नलागोस् भनेर शोभायात्राको अघिअघि सेतो कोरा ओछ्याउने गरिन्छ ।”

घरदेखि शोभायात्रा सुरु गर्दा पितृको पूजाअर्जना र शुभकार्यको कामनासहित कलाकारलाई टीकाटालो गर्ने चलन छ । बजार परिक्रमा गरेर फर्केपछि मुली व्यक्तिले वैदिक विधिअनुसार घर भित्र्याएपछि शोभायात्रा समापन हुन्छ । शोभायात्रामा सहभागी कलाकारलाई गच्छेअनुसार दक्षिणा दिने चलन छ । त्यसो गर्दा पितृ खुसी हुने धार्मिक विश्वास पनि छ ।

नेपाल भाषा मंकाः खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले महिना दिन अघिदेखि नै तयारी गर्नुपर्ने भएकाले बास्सा नाच खर्चिलो हुने गरेको बताउनुभयो । उहाँका अनुसार दिवङ्गत सबै व्यक्तिका घरबाट उक्त नाच निकाल्न नसक्नुको मुख्य कारण पनि त्यही हो ।

“गीत लेख्ने, गाउने, बजाउनेदेखि सबै तयारी पहिले नै गर्नुपर्छ, धेरै कलाकार चाहिने भएकाले व्यवस्थापनमा पनि समय लाग्छ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो, “परम्पराअनुसार त सबै मृतकका घरबाट निस्कनुपथ्र्यो तर केही परिवारबाट मात्रै यो संस्कृति धानिँदै आएको छ ।”

राधाकृष्ण मन्दिर सेवा समितिबाट पछिल्ला केही वर्षदेखि बास्सा नाचको संरक्षणमा पहल भइरहेको उहाँले बताउनुभयो । “मन्दिरबाट पनि प्रतिकात्मकरूपमा शोभायात्रा गर्ने गरिन्छ, त्यसबाट पनि संस्कृति संरक्षणमा टेवा पुग्छ, तर बास्सा नाचको परम्परा र मौलिकतालाई मान्ने हो भने मृतकको घरबाट नै निकाल्नुपछ”, उहाँले भन्नुभयो ।

खलःका सदस्य जयराम भारीले बास्सा नाचसँगै शनिबार नै नेवार समुदायका आठ घरबाट तायामचाः निकालिएको बताउनुभयो । वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा तायामचाः प्रदर्शन गरिन्छ । तायामचाः पनि बर्सेनि गाईजात्राकै दिन निकाल्ने गरिन्छ ।

गत वर्ष माघमा निधन हुनुभएका सूर्यप्रसाद श्रेष्ठले ४२ वर्ष शिक्षण पेशामा बिताउनुभएको थियो । उहाँ आफँै पनि बास्सा नाचमा कलाकार सिङ्गार्नेदेखि अरु सांस्कृतिक गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । रोपाइँ नाचको उहाँ अगुवा कलाकार हुनुहुन्थ्यो । सामाजिक सेवाका क्षेत्रमा पनि श्रेष्ठले योगदान दिनुभएको थियो । छोरा सिद्धार्थ मिलनले आफ्नो रचनामा दिवङ्गत बुवालाई यसरी सम्झनुहुन्छ–

‘स्कुल, कलेज, मठमन्दिरमा मन खोलेर दान
इष्टमित्र, नातागोता सबमा सम्मान
स्काउट अनि नाटक र भ्रमण मन पर्ने
रामलीला र रोपाइँमा सधैँ अघि सर्ने…।’ रासस