८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

स्मृतिको बाल्यकाल:मेरो जिन्दगी मेरो भोगाई

हात खुट्टामा शक्ति नहुँदा कहिल्यै शरीरमा ठेस लाग्थ्यो त कहिले मनमा

स्मृतिको बाल्यकाल:मेरो जिन्दगी मेरो भोगाई
अ अ+ अ-

कुन शब्दले परिभाषित गरुँ म ? मेरो बाल्यकाललाई । भाग्य खोटो भनुम या त नियतिको खेल नै यस्तै ? बुढेसकालमा सहारा हुन्छे भन्ने खुशीले जन्माएकी थिइन् रे मेरी आमाले मलाई । घरमा मभन्दा पहिला नै चार चार सन्तान थिए– तीन दाजु अनि एक दिदी । म थपिएँ परिवारमा अन्तिम सदस्य बनेर।

दाइ, दिदीहरुलाई लाग्यो पनि होला यो हाम्रो भाग खोस्न आएकी हो। तर म यो धर्तीमा कसैको भाग खोस्न हैन भावीले लेखिदिएको लेखान्त भोग्न आएकी थिएँ । जुन लेखान्त अन्य सामान्य मानिसहरुको निधारमा लेखिएको भन्दा कयौँ गुना बढी दर्दनाक थियो, कहालीलाग्दो थियो ।

सायदै मैले लेखिरहेका यी शब्दहरु तपाईंहरु जस्तो सामान्य जीवनयापन गरिरहनुभएको मानिसहरूलाई कल्पना लाग्न सक्छ, अनौठो लाग्न सक्छ । तर यो मेरो यथार्थ भोगाइ हो । जुन नियतिले जन्मिएकै दिन मेरो पोल्टामा थमाइदिएको थियो, त्यसपछि मैले भोग्दै आज यहाँसम्म आएकी छु । बाल्यकालमै नानाथरी उपनाम जो पाएकी छु । सयौँ हन्डर अनि ठक्कर खाएकी छु।

मलाई जन्मिँदा नै सेरेबरल पाल्सी नामक जेनेटिक समस्या भएको थियो । जसको असर दिमाग हुँदै शरीरका विभिन्न भागहरुमा पर्छ, त्यसकै कारण मैले थाहा पाउने हुँदा मेरा दायाँ हात खुट्टामा कुनै शक्ति थिएन, मसँग कुद्न, हिँड्न, उफ्रिन अनि खेल्न सक्ने कुनै शक्ति बाँकी थिएन ।

बस् निरिह थिएँ । यौटै ओछ्यानमा सुतिरहन रहर त मलाई पनि लागेको हो अरु साथी जस्तै बाल्यकाल बिताउन, हाँस्न ,खेल्न, रमाउन खुल्ला आकाशमुनि बसेर प्रकृतिसँग निश्चल प्रेम गर्न । तर म बाध्य थिएँ घरको चौघेराहरुमा सीमित रहन । सहारा बन्ने आशले जन्माएकी थिइन् रे मेरी आमाले मलाई तर म उल्टै आमाको सहाराबिना चलमलाउन नसक्ने थिएँ ।

मध्यम वर्गीय परिवार, मेरो त्यो अवस्था र अनि हाम्रो कुरौटे समाज कति गार्‍हो थियो मैले बाँचेको बाल्यकाल । मेरो कलिलो मन मस्तिष्क मा चेतनाको बिजारोपण भएको थिएन छुट्टै कुरा हो, तर आज पनि झलझली याद छ मलाई मान्छेले गरेको हेला, फरक व्यवहार र छिछि दुरदुर। समय बित्दै जाँदा पनि मेरो हात खुट्टामा शक्ति नआएपछि मरे सुख पाउँथी नि कठैबरा ! भन्नेहरु कति त स्वर्ग गइसके कति अझै जिउँदै होलान् । तर यो मनमा तिनका वचन आज पनि तिर झैँ बनेर बिझेका छन् । तिनका वचन सम्झेर आजभोलि कतिपटक मेरा परेलीहरु रुझेका छन् त्यो मलाई मात्रै थाहा छ। जन्मेपछि मान्छेले सङ्घर्ष गर्न पनि सिक्दो रहेछ ।

साँच्चै हो मैले पनि घ्रसेर भए पनि यताउता चलमलाउन सिकिसकेकी थिएँ । तर पनि यसरी घस्रिँदा फेरि फोहोरीको उपमा पाउँथे, तर मलाई पनि त रहर थियो चलमलाउन, मैले समयसँगै सिकेकी थिएँ आफुलाई बाँच्ने आधार बनाउन, मलाई थाहा थिएन दुःख के हो ? अभाव के हो ? कष्ट के हो ? यी सबैको परिभाषा त्यो सुन्दर बाल्यकालमा जानिरहन आवश्यकता पनि थिएन । मैले त्यतिबेला सिकेकी थिएँ त केवल हरहालमा रमाउन । आफ्नै छुट्टै दुनियाँ सजाउन ।

घरमा सबैलाई पिर थियो घस्रेर मात्रै बस्ने भई अब उभिन्न क्यारे भन्ने । तर मैले घस्रिनुमै आफुलाई अभ्यस्त बनाइसकेकी थिएँ । म अरुभन्दा फरक भएको यथार्थ पहिचान बनाइसकेकी थिएँ । मलाई उभिनु थिएन अब मलाई चढ्नु थिएन भर्याङका सिँढी अनि अनि नाघ्नु थिएन कुनै अग्ला पर्खालहरु । तर बाआमालाई खुबै रहर थियो छोरी हिडेँको उभिएको हेर्ने।

धामी, झाँक्री, अस्पताल खै के के के के ? तर रोग निको नहुने थियो, किन हुन्थ्यो र सपना देखेजस्तो रु धेरेै दुःख र मिहिनेतका बाबजुद म उभिन सके पनि म अरु सामान्य बच्चाजस्तो उभिन सकिँन । मेरो हात चलेन । तर जुन दिन उभिएर पाइला चाल्न सक्ने भएकी थिएँ, त्यो दिन मलाई संसार जितेको आभास भएको थियो । म पनि सामान्य मान्छे जस्तै महसुस गर्दै थिएँ त्यो दिन, त्यसपछिका दिनहरूमा मेरो कलिलो मस्तिष्कमा कस्तो असर पर्यो कुन्नि खै ? मैले आफुलाई कमजोर मान्नै छोडेकी थिएँ ।

कसैले तँ कमजोर छेस् भन्दा पनि ती मान्छेहरुसँग खुब रिस उठ्थ्यो, मलाई किन यस्तो भन्नु पर्ने होला यी मान्छेहरुलाई जस्तो लागिरहन्थ्यो, मैले आफूले आफूलाई हेर्ने नजर बदले पनि यो समाजको नजर बद्लिएकै थिएन । कुरा काटिरहन्थे, कसैले बुढेसकालमा पाएर यस्तो भएको भन्थे, कसैले म पेटमा हुँदा मेरी आमाले औषधी खाएको भन्थे तर ती मान्छेहरूले काटेको कुरा त्यो बेला मैले तीन भागको एक भाग पनि बुझ्दिन थिएँ ।

कहिलेकाहीँ अचम्म लाग्थ्यो के भनेका होलान् यी मान्छेहरूले भनेर तर जवाफ दिन मसँग कुनै जवाफ थिएन, बरु मनमनै उनीहरुसँग रिस उठ्थ्यो । उनीहरुको मुख देख्नै मन पर्थेन । मान्छेका वचनहरु बिस्तारै सामान्य लाग्दै गए । हात नचले पनि खुट्टा मज्जाले टेक्न सक्ने भइसकेकी थिएँ म । त्यसैले एउटामात्रै हात र खुट्टा भए पनि मैले बाल्यकाल रमाएर बिताएँ । मैले लुकी खेलेँ, मैले हातैले चुङ्गी खेलेँ, आफ्ना कामहरु बिस्तारै गर्न सक्ने हुँदै गएँ ।

समयसँगै म बारीको काममा पनि ममी बुबाको पछि लागेर जान्थेँ । मैले म अरुभन्दा फरक छु भन्ने कुरा महसुस गर्न छोडिसकेकी थिएँ । भन्नेहरु त बारम्बार बिचरा भन्ने शब्दले मेरो मनको घाउ बल्झाइ नै रहन्थे। तर म खासै वास्ता गर्दिनँ थिएँ । जे भाग्यमा थियो भोग्नै पर्थ्यो आखिर दुःखी भएर बसेर पो के नै हुन्थ्यो र? तर जब स्कुल जाने समय भयो म फेरि आफुलाई अरुभन्दा फरक पाउन थालेँ ।

सँगै खेल्ने डुल्ने साथीहरु स्कुल जाँदा म घरमै सीमित हुन थालेँ । फेरि एक्लै त्यही धुलो माटोसँग रमाउन थालेँ । मलाई स्कुल जान खुब रहर लाग्थ्यो तर परिवारका सदस्यहरूलाई डर थियो यसलाई अरुले लडाइदिन्छन् धकेलिदिन्छन् भन्ने, कता कता साँघुरो सोच पनि हुँदो हो राम्ररी हिँड्न त सक्दिन यसले पढेर के नै पो गर्ली र भन्ने ? तर म घरमा हरदिन झगडा गर्ने गर्थें मलाई स्कुल पुर्याइदिनु भनेर ।

समयसँगै परिवारमा चेतना आयो अरु बच्चाभन्दा केही ढिला सरस्वतीको मन्दिरमा पाइला टेक्ने मौका पाएँ मैले । त्यो दिनको खुशी आज म शब्दमा व्यक्त गर्नै सक्दिनँ कति उत्साह थियो मनमा भनेर । मेरा रहर र सपनाहरू ढिला पूरा हुँदै थिए तर पूरा भने अवश्य हुँदै थिए । म मक्ख थिएँ । तर घरमा जस्तो सजिलो स्कुलमा कहिल्यै भएन ।

शिक्षकहरुबाट त माया पाएकै थिएँ तर बच्चाहरू र आफ्नै साथीहरूबाट पनि फरक व्यवहार भएझैँ महसुस हुन्थ्यो । बच्चाहरू मलाई कुनै अजीव वस्तु देखे जस्तै हेर्थे। म हिँडेको भाउ उतारेर जिस्काउँथे । कहिल्यै पनि उनीहरुले खेल्ने खेल र रमाउने गतिविधिमा मलाई कहिल्यै कसैले सहभागी गराएनन् । सायद आवश्यक ठानेनन् कि बुझेनन् तर म टाढा नै बसेर उनीहरु रमाएको हेरेर खुशी हुन्थेँ।

मलाई फरक देखेर हो कि जिस्केर हो थाहा अझै पाएकी छैन मैले । तर कयौँपटक साथीले स्कुल ब्यागमा हालिदिएको ढुङ्गालाई किताब भनेर बोकेर घर गएकी छु म । घर पुगेर ब्याग खोल्दा ब्यागमा ढुङ्गा भेट्टाउँदा मन सार्है अमिलो भएर आउँथ्यो र म मुर्छा परेर रुन्थेँ । कत्ति चोटि त फरक फरक नामले सम्बोधन भएकी छु स्कुलमा साथीहरूबाट । मन दुखेर सरलाई भनिदिए पनि एकदुई दिन शान्त हो फेरि उस्तै हर्कत दोहोरिहाल्थ्यो ।

र समयसँगै यी कुराहरू सामान्य लाग्थे । कुनै रियाक्ट गर्नै मन लाग्दैन थियो । तर मसँग हात खुट्टामा शक्ति नभए पनि दिमागमा सरस्वतीको बास थियो । मैले पढाइमा बाल्यकालमा कहिल्यै पनि दोस्रो तेस्रो हुन परेन सधैँ प्रथम भइरहेँ । हामी राम्रो छौँ भनेर घमण्ड गर्नेहरुलाई जितिरहेँ । जति नै पीडा र कष्ट हात खुट्टा नहुँदा थियो त्योभन्दा बढी खुशी पढाइमा उत्कृष्ट हुन पाउँदा लाग्थ्यो । यो समाजको मुख पनि बन्द गराउन सफल भएकी थिएँ म ।

हात खुट्टामा शक्ति नहुँदा कहिल्यै शरीरमा ठेस लाग्थ्यो त कहिले मनमा । अरुसरह भएर बाँच्न निकै गार्‍हो थियो मेरा लागि । घस्रिँदा लागेका कति घाउका दागहरु अझै पनि मेरा हात खुट्टामा छन् । ती दागहरु हेर्दा कता कता आज पनि मन भारी भएर आउँछ । त्यही कहालीलाग्दो क्षणहरुले सताइरहन्छ ।

तर पनि अरुले भन्दा फरक खालको अनुभूत गरेर बाल्यकाल बिताए पनि मेरो बाल्यकाल निकै खास थियो मेरा लागि । जहाँ दुःख, अभाव, हाँसो, रोदन, सफलता अनि खुशीको सम्मिश्रण थियो ।

अभावमै बाँचे पनि सधैँका लागि हातखुट्टाको शक्ति गुमाए पनि मेरो बाल्यकाल साँच्चै सुन्दर थियो । आज सम्झिँदा लाग्छ मेरो बाल्यकालनै सबैभन्दा अमूल्य समय थियो । जहाँ मलाई म फरक भएर जन्मिएकोमा कुनै गुनासो थिएन न त पछुतो नै। सायद सबैका लागि यस्तै सुन्दर हुने गर्छ होला बाल्यकाल । मेरो बाल्यकाल सम्झिँदा आज पनि मन हावामा उड्छ फुरुङ्ग भएर । मिल्ने भए मलाई बाल्यकाल फेरि फर्केर जान मन छ र जिउन मन छ बितेका हरेक पलहरुलाई ताजा बनाएर।