८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

समयमै निर्माण सम्पन्न नहुँदा बुटवल सडक अस्तव्यस्त

समयमै निर्माण सम्पन्न नहुँदा बुटवल सडक अस्तव्यस्त
photo: Niraj Patel
अ अ+ अ-

रुपन्देही । रुपन्देहीका व्यवसायी समुन्द्र जिसीलाई बुटवलको मुख्य सडकमा यात्रा गर्दा विकटको गाउँ याद आउँछ । हिउँदमा धुलो र वर्षात्मा पानीले सडक अस्तव्यस्त भएपछि यात्रा गर्न निकै कठिन भएको उहाँको दुःखेसो छ ।

बुटवलको मुख्यमन्त्री कार्यालयमा कार्यरत कर्मचारी प्रियान्स भण्डारीले पनि सडकका खाल्डाखुल्डी, धुलो र हिलोका कारण दैनिक कार्यालय जाँदा हैरानी खेप्नुपरेको छ ।

“बाटो हिँडेपछि थकाइ लाग्छ, ज्यान दुख्छ । सहरमा बस्ने अनि बाटोमा त्यो पनि सवारीसाधनमा हिँड्दा थकाइ लाग्यो भन्न लाज लाग्छ, धुलोको कुइरीमण्डलमा ठूला गाडीले कति बेला कहाँ पु¥याइदिने हुन् भन्ने डर लाग्छ”, उहाँले भन्नुभयो ।

बिहान कार्यालय जाँदा लगाएको कपडामा हिलो छ्यापिएपछि फेरि घरमा गएर फेर्नुपर्छ । सडक निर्माण समयमै सम्पन्न नहुँदा गाडी चालक, यात्रु तथा व्यापार व्यवसायीलाई समस्या भएको छ । दैनिक समाचार सङ्कलनका लागि ओहोरदोहोर गर्नुपर्ने भएकाले पत्रकारहरूले समेत हैरानी खेप्नुपरेको छ । “रेडियोको कार्यालय लक्ष्मीनगर भएकाले दैनिक यात्रा गर्दा साह्रै समस्या भएको छ । एकपटक खाल्डोमा परेर आफैँ दुर्घटनामा परेकी छु”, पत्रकार अस्मिना पाण्डेले गुनासो गर्नुभयो ।

सडकको दुरावस्थाले बुटवलमा यात्रा गर्ने जो–कोहीलाई पनि दिक्क बनाएको छ । “बुटवलबाट मुक्तिनाथ सपरिवार मोटरसाइकलमा जाँदा बरु त्यति अप्ठेरो लागेन, जति भुड्कीचोकबाट लक्ष्मीनगर गेटसम्म जाँदा लाग्छ”, सञ्चारकर्मी सञ्जय सौगात भन्नुहुन्छ ।

साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको सडक निर्माणको काम छ वर्षसम्म पनि पूरा नभएपछि बुटवलको मुख्य सडकको अवस्था लथालिङ्ग छ । सडक समयमा निर्माण सम्पन्न नभएपछि जनस्तरबाट दबाब बढे पनि बुटवलको सडक निर्माणको ठेक्का लिएको द कञ्चनजङ्घा बिरुवा जेभी कन्स्ट्रक्शन प्रालि भने ठेक्का सम्झौताको म्याद थप्न लागिपरेको छ ।

बुटवल–बेलहिया सडक निर्माण आयोजनाका अनुसार सडक निर्माणको अन्तिम म्याद विसं २०७९ असार ३० गतेसम्म रहे पनि निर्माण कम्पनीले साउन ८ गते म्याद थपका लागि आयोजनामा निवेदन दिएको थियो ।

बुटवलको मुख्य बजारभित्र रहेको राजमार्ग चौराहबाट चिडियाचौकीसम्मको साढे तीन किलोमिटर सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई अहिले फेरि ठेक्काको एक वर्ष म्याद थप गर्न मिल्ने गरी सार्वजनिक खरिद ऐन संशोधन भएको छ ।

गत असार २० गतेमात्र ल्याइएको सार्वजनिक खरिद ऐनको १२औँ संशोधनमा गरिएको व्यवस्थाअनुसार असार मसान्तसम्म निर्माण कार्य पूरा गर्ने गरी ठेक्का सम्झौता गरिएको आयोजनाको ठेक्का अवधि अझै एक वर्ष म्याद थप्न मिल्ने प्रावधान राखिएको छ ।

बुटवल सडक निर्माणको जिम्मा लिएको बुटवल–बेलहिया सडक निर्माण आयोजनाका अनुसार असार २० गते आएको १२औँ संशोधनले असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि म्याद सकिएको २१ दिनभित्र निवेदन लिने र उक्त निवेदनलाई म्याद थप प्रक्रिया अगाडि बढाउन सकिने प्रावधान राखिएको छ ।

राजमार्ग चौराहबाट बेलहियासम्मको सडक निर्माण पूरा हुनै लाग्दा विसं २०७३ चैत १७ गते राजमार्ग चौराहबाट चिडियाचौकीसम्मको सडक निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार विसं २०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने समयसीमा तोकिए पनि सुरूआती समयमा सडक क्षेत्राधिकार मिचेर घर बनाएकाहरूको अवरोधले अगाडि बढ्न नसकेको काम अदालतको आदेश पनि भने ठेकेदार कम्पनीको ढिलासुस्तीले अगाडि बढ्न सकेको छैन ।

विसं २०७३ मा ठेक्का सम्झौता गरिए पनि अदालतको अन्तरिम आदेशका कारण रोकिएको सडक विस्तारको काम विसं २०७५ वैशाख १२ गते अदालतको आदेशले बाटो खुलेपछि विसं २०७७ जेठमा पूरा गर्ने गरी पहिलोपटक म्याद थप भएको थियो । तर निर्माण कम्पनीले काम गर्न नपाएको भन्दै दोस्रोपटक २०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्मका लागि म्याद थप गरेको थियो । तर निर्माण व्यवसायीको ढिलासुस्तीका कारण ठेक्का अवधि पूरा हुँदा पनि सडकको निर्माणको काम भने ३० प्रतिशतमात्रै पूरा भएको छ ।

विसं २०७३ मा ठेक्का सम्झौता गर्दा भ्याटसमेत गरी रु ४७ करोड २७ लाखमा ठेक्का सम्झौता गरिए पनि गत वर्ष नाली निर्माणको काम समेत थप गरी रु ५३ करोड ९७ लाख पुगेको छ । उक्त रकममध्ये निर्माण कम्पनीले अहिलेसम्म भ्याटसमेत गरी रु १३ करोड ६४ लाख भुक्तानी लगिसकेको छ । जुन कुल ठेक्का रकमको २५ प्रतिशत हो ।

यसअघि जेठ १० गते डिभिजन सडक कार्यालय, बुटवल उपमहानगरपालिका र व्यापारिक मार्ग विस्तार आयोजनासामु असार मसान्तसम्म पुष्पलाल पार्क, राजमार्ग चौराह र ट्राफिकचोकमा सबभन्दा बढी सडक बिग्रिएको र उक्त सडक ढलान गर्ने तथा नाली निर्माणको काम पूरा गर्ने लिखित सहमति गरे पनि निर्माण कम्पनीले सहमति लत्याउँदै आएको छ ।

अहिले अस्पताल लाइनको पूर्वतर्फको साढे चार सय मिटरको सडक कालोपत्र गरिए पनि पश्चिमतर्फको सडकमा खाडल परेर हिँड्न मिल्ने अवस्था छैन । त्यस्तै नाली खनेर र खाल्डा पारेर अलपत्र अवस्थामा रहेको सडक अहिले वर्षायाममा हिलाम्य छ । केही क्षण घाम लाग्दा धुलाम्य हुने सडक पानी पर्दा हिलोले हिँड्न नमिल्ने अवस्थामा पुग्ने गरेको छ ।

द कञ्चनजङ्गा बिरूवा जेभी कन्स्ट्रक्शन प्रालिले अलपत्र बनाएको बुटवलको सडकमात्र होइन, यसअघि पनि यही कम्पनीले निर्माणको जिम्मा लिएको बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत भैरहवा अञ्चलपुरबाट लखनचोकसम्म र भन्सार नाका बेलहियाबाट डण्डाखोला पुलपारिसम्मको सडक पनि अझै अलपत्र अवस्थामा छ ।

व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख दीपक झाले सडक निर्माणको काम समयमा नभएपछि स्पष्टीकरण सोधिएकाले सन्तोषजनक काम र जवाफ नआए कारबाही गर्ने बताउनुभयो । सडक निर्माणमा भइरहेको ढिलासुस्तीले बुटवलको व्यवसायमा समेत प्रभाव परेको छ । चौतर्फी गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले सरोकारवालाहरूसँग छलफल गरी समाधानको बाटो खोज्न आग्रह गरेको छ ।

बुटवलमा सोमबार भएको छलफलमा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–बेलहिया सडक निर्माणको कामको अनुगमन गर्न दुईवटा विशेष अनुगमन सहजीकरण समिति बनाइएको छ ।

सडक समयमा निर्माण नहुँदा चौतर्फी आलोचना भएपछि निर्माण कम्पनीले भने भदौदेखि काम अघि बढाउने जनाएको छ । निर्माण कम्पनीका ठेकेदार सुवित श्रेष्ठले भदौ असोजसम्म अस्पताल लाइन क्षेत्रको सडकको काम पूरा गर्ने र अरु काम पनि अघि बढाउने बताउनुभयो ।