६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोपपछि एन्टिबडी जाँच



अ+ अ-

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप लगाएको २०औँ दिनमा सङ्क्रमित हुनुभयो लोकन्थलीकी सजिना डङ्गोल । खोप लगाउँदा उहाँलाई कुनै पनि प्रभाव (साइड इफेक्ट) देखिएको थिएन । त्यसैले सङ्क्रमित भएको कुरा उहाँलाई भ्रम हो कि जस्तो पनि लाग्यो ।

डङ्गोल भन्नुहुन्छ, “खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण धेरैलाई देखियो तर मलाई यस्तो कुनै लक्षण देखिएन ।” एकान्तबास बस्दाको अवस्थामा उहाँलाई त्यति कठिन भएन तर सङ्क्रमित उहाँकी दिदीलाई भने सघन कक्षमा राखेर उपचार गर्नु पर्यो । चिकित्सकहरूले कोरोनाविरुद्धको खोप नलगाएका कारण गाह्रो भएको अनुमान गर्नुभएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार खोप लगाएपछि आफूमा केही लक्षण वा साइड इफेक्ट नदेखिएमा खोपले काम नै गर्दैन होला भनेर भ्रम पाल्नु हुँदैन । उहाँ भन्नुहुन्छ, “कसैमा लक्षण देखिने, नदेखिने हुन्छ तर खोपले काम गर्छ । औषधिले काम गर्छ वा गर्दैन भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन्छ ।” कोभिडको खोप पाएको दुई हप्तापछि एन्टिबडी परीक्षण गराउँदा राम्रो हुने डा. पुनको सुझाव छ ।

उहाँ भन्नुहुन्छ, “अहिले देखिएको कोरोना सङ्क्रमण धेरैजसो खोप नलगाएका व्यक्तिमा नै देखिइरहेको छ । खोप दिएमा त्यो अवस्थाबाट बचाउन सकिने डा। पुनको तर्क छ ।”

“खोपले काम गरेको छ वा छैन भन्ने थाहा पाउन एन्टिबडी परीक्षण गर्नुपर्छ”, उहाँले थप्नुभयो, “कोभिडविरुद्धको खोप पाएपछि आफूमा रोग प्रतिरोधात्मक क्षमता विकसित भयो कि भएन भनेर एन्टिबडी परीक्षणले देखाउन सक्ने वैज्ञानिकले जनाएका छन् ।”

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक गौतमले खोपको साइड इफेक्ट र सुरक्षाबीच कुनै प्रत्यक्ष सम्बन्ध नहुने बताउनुभयो । पूर्ण सुरक्षित हुन अनिवार्य रूपमा खोपको पहिलो र दोस्रो मात्रा पूरा गर्नुपर्ने उहाँले बताउनुभयो । खोपको दोस्रो मात्रा लगाएको एक महिनापछि मात्र राम्रोसँग एन्टिबडी विकास हुन्छ भनेर विभिन्न अध्ययनले देखाएका छन् । खोप लगाएपछि शरीरले कस्तो प्रतिक्रिया देखाउँछ भन्ने कुराले पनि फरक पार्ने उहाँ बताउनुहुन्छ । कोभिडविरुद्धको खोप लगाएका लाखौँ मानिसलाई विभिन्न प्रकारका लक्षण देखिएको जानकारी उहाँले दिनुभयो । डा.गौतमले भन्नुभयो, “धेरै मानिसमा खोप लगाएपछि कुनै पनि लक्षण नदेखिएका पनि छन् । त्यसको मतलब खोपले काम नगर्ने भन्ने हुँदैन ।”

“सामान्यतः फाइजर तथा मोडर्नाको दुई मात्रा खोप तथा जोन्सन खोपको एक मात्रा पाएको दुई हप्तामा शरीरमा एन्टिबडी बन्छ तर त्यति बेलासम्म पनि कोभिडको सङ्क्रमण हुने सम्भावना रहन्छ”, उहाँले प्रस्ट पार्नुभयो । पछिल्लो तथ्याङ्कअनुसार हालसम्म विश्वमा ३१.२ प्रतिशत जनसङ्ख्याले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । तिनमा २३.५ प्रतिशतले पूर्ण रूपमा खोप लगाएका छन् । त्यसैगरी निम्न आय भएका देशहरूमा १.२ प्रतिशत मानिसले कम्तीमा एक डोजको खोप लगाइसकेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।