२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

किटनाशक विषादीको विकल्पमा ‘जैविक विषादी’

किटनाशक विषादीको विकल्पमा ‘जैविक विषादी’
अ अ+ अ-

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा किटनाशक विषादी प्रयोग गर्न छाड्नुभएको छ । उहाँले एग्रोभेटको सुझावअनुसार भिटामिन प्रयोग गरे पनि किटनाशक विषादीको स्थानमा जैविक विषादी प्रयोग गर्दै आउनुभएको छ ।

“बालीमा कीरा वा रोग लागे सोअनुसार तितेपाती, क्यातुके, गाईको गहुँत मिसाएर २२ दिनसम्म पकाएर कालो कपडाले छोपी हावा जान नदिएर बनाएको स्थानीय विषादी प्रयोग गर्छु । रसायनिक किटनाशक विषादी हालेको तरकारी आफू पनि खान्न, अरुलाई खुवाउनुहुँदैन”, उहाँले भन्नुभयो ।

सूर्यविनायक नगरपालिका–७ कै अर्का किसान सुमित्रा मगरले पनि तरकारीमा न्यून मात्रामा विषादी प्रयोग गर्ने गरेको बताउनुभयो । उहाँले पनि एग्रोभेटको अनुसार भिटामिन थोरै प्रयोग गर्ने गरेको जानकारी दिँदै विषादीका रूपमा घरेलु उपचार विधि सञ्चो, टिमुर लसुन प्रयोग गरिएको बताउनुभयो ।

अर्का किसान सरस्वती नगरकोटीले टिमुर २० ग्राम, ल्वाङ २० ग्राम, खोर्सानी ५० ग्राम, रक्सी ५० एमएल, लसुन ५० ग्राम, असुर बकाइनो, तितेपाती सुकेको १०० ग्राम एक लिटर पानीमा ४५ मिनेट पकाएर विषादी बनाउन सकिने जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिका–२ का किसान टेकबहादुर लाखाजुले रसायनिक मल प्रयोग नगरी तरकारी बालीमा जैविक मल प्रयोग गरेको बताउनुभयो । उहाँले उपभोक्ताले पनि जैविक मल प्रयोग गरेको तथा अर्गानिक तरकारी उपभोग गरेर रसायनिक मल र विषादी प्रयोग गरेका तरकारीलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका किसानले तरकारी बालीमा विषादी र रसायनिक मलको विकल्पमा जैविक मल र विषादी प्रयोग गर्न थालेका छन् । मानव अधिकार सञ्चार प्रतिष्ठान, नेपालले भक्तपुरका ती दुई नगरपालिकामा गरेको अध्ययनले किसान विषादी र रसायनिक मलको प्रयोगमा सचेत बन्दै गएको देखिएको हो । जिल्लाका ग्रामीण भेगमा गम्भीर प्रकृतिका नसर्ने रोग लागेका बिरामीको सङ्ख्या बढ्न थालेपछि किसानले तरकारी बालीमा विषादी प्रयोगमा कमी ल्याएको अध्ययनले देखाएको छ । 

“विगत पाँच वर्षको तुलनामा अहिले सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा लगाइएका तरकारीमा विषादीको प्रयोगमा कमी भएको पाइएको छ”, प्रतिष्ठानका कार्यक्रम व्यवस्थापक पंकज देवकोटाले भन्नुभयो, “तरकारीमा प्रयोग भएका विषादीले मानवीय स्वास्थ्यमा गम्भीर असर परेका विभिन्न समाचार, लेखरचना र सामाजिक सञ्चालबाट प्रचारप्रचार भएपछि स्थानीय किसानमा चेतना जागृत भएको छ ।”

विषादीको प्रयोगमा तुलनात्मक रूपमा कमी आए पनि निर्मूल भने हुन सकेको छैन । केही किसानले बढी उत्पादन गर्ने लोभमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने विषादी अझै प्रयोग गरिरहेको पनि सो प्रतिवेदनले औँल्याएको छ । अध्ययनका क्रममा छोटो समयमा राम्रो मुनाफा खोज्ने किसानको प्रवृत्तिका कारण तरकारीमा अन्धधुन्न रूपमा विषादीको प्रयोग भएको पाइएको देवकोटाले बताउनुभयो ।

चाँगुनारायण नगरपालिका–६ का किसान लक्ष्मी केसीले विषादी प्रयोग नगर्दा पर्याप्त उत्पादन नहुने धारणाले गर्दा गोलभेडा खेतीमा सबैभन्दा बढी विषादी प्रयोग हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “टनेल खेतीमा अत्यधिक मात्रामा विषादी प्रयोग हुन्छ । त्यस्तै सबैभन्दा बढी माटोमा अम्लियपन हुनुको कारण नै झारमार्ने विषादीको प्रयोग बढी हुनु हो ।”

नेपाल सरकारले नुवान, झारनासक टिटाक्लोर, डाइकोरफास्ट, काउरोक्युरादेनलगायत विषादी रोक लगाइएको छ । अध्ययनका क्रममा चाँगुनारायण र सूर्यविनायकमा उक्त विषादीको प्रयोग नभएको पाइएको देवकोटाले बताउनुभयो । विषादीको प्रयोगले स्थानीय किसानले लगाएका बालीनालीमा डडुवा, ढुसी, माटोको अम्लियपन बढ्दै गएकाले व्यावसायिक रूपमा लगाएका खेतीमा समस्या आएको देवकोटाले बताउनुभयो ।

“किसानले बालीनालीमा रसायनिक मल र विभिन्न किसिमका विषादीहरूको प्रयोग बढी गर्दा माटोको उर्वराशक्तिमा कमि आएकाले किसानले रसायनिक मलभन्दा पनि स्थानीय कम्पोष्ट मलको प्रयोग गर्नुपर्ने र त्यसको लागि नगरपालिकाले आवश्यक व्यवस्था गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

जैविक विषादीको प्रयोग वृद्धि गर्न किसानलाई कृषि विषादी र किटनाशक औषधिसम्बन्धी तालिम तथा गोष्ठी आवश्यक भएको सूर्यविनायक नगरपालिका–७ स्थित साना किसान सहकारी संस्थाकी अध्यक्ष अम्बिका भण्डारी बस्नेतले बताउनुभयो । उहाँले विषादीको विकल्प नगरपालिकाले किसानलाई दिन नसकेको गुनासो गर्नुभयो ।

तरकारीमा रसायनिक विषादीको सट्टा जैविक विषादीको प्रयोग सम्बन्धमा नगरपालिकाले स्थानीय किसानलाई तालिम दिए पनि किसानले भने एग्रोभेटको सल्लाहमा विषादीको प्रयोग गर्ने गरेको चाँगुनारायण नगरपालिकाको कृषि शाखा प्रमुख मणिराम दवाडीले बताउनुभयो ।

कृषि व्यवसाय प्रवद्र्धन नीति, २०६३ मा व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउने उद्देश्य अनुरूप प्राङ्गारिक खेती प्रविधिद्वारा उत्पादित कृषिवस्तुको गुणस्तर प्रमाणीकरण गरी कृषि व्यवसायलाई प्रवद्र्धन गरिने उल्लेख गरे पनि स्थानीयस्तरमा त्यस्तो व्यवस्था नभएको नीतिगत विश्लेषण पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा चाँगुनारायण नगरपालिकाको कृषि कार्यमा हुने विषादी प्रयोगलाई नियन्त्रण गर्नको लागि आवश्यक कदम अगाडि बढाइने र सूर्यविनायक नगरपालिकाले कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गर्ने नीति लिए पनि सोअनुसार कार्यक्रम अघि बढाउन नसकेको बताइएको छ ।

स्थानीयस्तरमा नै प्राप्त गर्न सकिने जडिबुटी, कुहिएका केराबाट भिटामिन बनाउन सक्ने, सिस्नो, तितेपाती, बकाइनो र खुर्सानी पिँधेर विषादी बनाउन सकिन्छ तर यस सम्बन्धमा स्थानीय तहले जुनरूपमा पैरबी गर्नुपर्ने हो सो नगरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । 

नगरपालिकाले नै स्थानीय कानुन निर्माणमा रसायनिक विषादीको विकल्प जैविक विषादी हो भनी उल्लेख गरी सोहीअनुसार कानुनलाई कडाइका साथ कार्यान्वयन गर्ने र किसानलाई जैविक विषादीप्रति सचेत पार्दै जाने हो भने किसानमा जैविक विषादीप्रति आकर्षण हुन सक्ने देखिन्छ । यसका लागि नगरापालिकाले अभियान नै सञ्चालन गर्नुपर्ने औंल्याएको छ ।

त्यसैगरी जैविक विषादी र मलको प्रयोग वृद्धि गर्न माटोको उर्बराशक्ति परीक्षण गर्न स्थानीयस्तरमा माटो परीक्षणको व्यवस्था गर्नुपर्ने तथा किटनाशक औषधिको नियन्त्रण गर्नको लागि एग्रोभेटमा नै जैविक विषादीको प्रयोगबारे एग्रोभेट सञ्चालकलाई प्रशिक्षण प्रदान गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । रासस