८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

हराउँदैछ नुनसँग जोडिएको हिमाली कथा

हराउँदैछ नुनसँग जोडिएको हिमाली कथा
अ अ+ अ-

पोखरा । पहिलेपहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट या नेपालपट्टिका तिब्बती बजारसम्म पुग्थे । तामाकोसी, अरुण, त्रिशूली, भोटेकोसी, मस्र्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लोतटीय किनार नुन व्यापारका मुख्य मार्ग नै थियो ।

वर्षा रोकिएपछि ती भेगका बासिन्दा भदौरे महिनामा तिब्बत गएर नुन र अरू सामग्री भेडा, च्याङ्ग्रा या घोडालाई बोकाएर ल्याउने, महिनौँ लगाएर हिउँदमा त्यो सामान बिक्री गर्न तराई र भारतीय सीमासम्म पुग्ने गर्दथे । गर्मी लाग्दै गर्दा तराईको अन्नपात बोकाएर पहाड, हिमाल फर्कने हिमालय सीमापार व्यापार गर्ने समुदायको नियमित कारोबार संस्कृति नै बनेको पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनरत रामचन्द्र बरालको ‘नुन व्यापार मार्गसँग जोडिएका कालीगण्डकी भोट बेंसी सम्बन्धहरू’ शीर्षकको अनुसन्धानमा भनिएको छ ।

अन्यत्रको नुन व्यापारमा हिमाली खम्पा जातिको सक्रियता भए पनि कालीगण्डकी करिडोरको नुन व्यापारमा थकाली जातिको सक्रियता देखिएको बताउँदै बरालले तत्कालीन नुन अर्थतन्त्रमा आधारित भोट र पहाड बीचको सम्पर्क दूत थकाली जाति नै रहेको उल्लेख गर्नुभयो ।

‘नुन लिन भोट’ भन्ने प्राचीन उखान मात्र नभएर बास्तविकता नै थियो । तर पछिल्ला पुस्ताका लागि भने यो उखान एकादेशको कथा जस्तै बनेको छ । करिब दुई दशकअघिसम्म प्रशोधित आयोनुनको प्रयोग नभएका अवस्थामा नेपालमा विशेषगरी हिमाली भूभाग र चीनबाट नुन आयात हुने गर्दथ्यो ।

यातायातको पहुँच नभएका कारण नुन लिन हप्तौँ हिँडेर ल्याउनुपर्ने तत्कालीन बाध्यता अहिलेका पुस्तालाई भने एकादेशको कथाजस्तै बनेको कास्की भरतपोखरीका ९० वर्षीय तीलकराम पौडेल बताउनुहुन्छ । उहाँलाई सुरुसुरुमा मुस्ताङको लेतेसम्म पुगेर नुन ल्याएको अनुभव अझै पनि ताजै छ । ढिके नुनका रूपमा चिनिने हिमाली भेगमा पाइने नुन साल्टटे«डिङ कर्पोरेशनले आयोनुन बजारमा ल्याएसँगै छायाँमा परेको हो । हिमालपारिको जिल्ला मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुन खानी पछिल्ला वर्ष बन्द भएको छ ।

तीनताका नुन खानीकै कारण यहाँका धेरैले रोजगारीसमेत पाएका थिए । खानी बन्द भएसँगै रोजगारी त हटेको छ नै पैसा तिरेर महँगोमा नुन खानुपरेको स्थानीयवासीको गुनासो पनि छ । प्राचीन समयमा मुस्ताङको ढिके नुन देशका अधिकांश भागमा पुग्दथ्यो । बजारमा नुनको माग पूरा गर्न स्थानीयवासीलाई धौधौ थियो । नुन बेचेरै यहाँका स्थानीयवासीको जीविका चलेको थियो । पछिल्लो दशकमा नुन खानीको संरक्षणको साटो आयोडिन नभएको नुन खाए गलगाँड आउँछ भनेर प्रचार गरिएको र केवल गाईभैँसीलाई मात्र खुवाउन थालिएपछि यहाँको नुनसँग जोडिएको मौलिकता नै ओझेलमा पारिएको स्थानीयवासीको दुखेसो छ ।

तत्कालीन समयमा कास्की, स्याङ्जालगायत आसपासका बासिन्दाले चामलसँग नुन साटेर लैजान्थे । अनुसन्धाता बरालका अनुसार तत्कालीन समयमा गण्डकी क्षेत्रका टुकुचे, दाना तातोपानी, तिप्ल्याङ, बीरेठाँटी मुख्य नुन व्यापार केन्द्रका रुपमा स्थापित बनेका थिए । टुकुचे यहाँको पुरानो भन्सार क्षेत्र हो । भोटका नुन व्यापारीले भण्डारण गर्ने र तल्लो पहाडकाले नुन खरिद गर्ने केन्द्र बजारका रुपमा यसले आफ्नो स्थान ओगटेको थियो ।

तत्कालीन थकाली सुब्बाको नुन ठेकेदारीमा पहुँच घटेसँगै भन्सार दानामा सरेपछि टुकुचेको नुन बजार सुस्ताएको बराल बताउनुहुन्छ । टुकुचेबाट सरेको नुन बजारको केन्द्र दाना तातोपानी हुँदै क्रमशः भुरुङ तातोपानीतर्फ सरेको उहाँले बताउनुभयो ।

विशेषतः ढाक्रेहरू र अन्य बटुवा तातेपानी कुण्डमा डुबेर भोटको चिसो फाल्ने मनसायले कुण्ड नजीकैका भट्टीमा बस्ने क्रमसँगै दानापछिको नुन बजार केन्द्रका रुपमा तातोपानी स्थान ओगटेको थियो । कास्की वीरेठाँटी आउने ढाक्रे र पश्चिम बेनी तथा कार्कीनेटा जाने ढाक्रेको सामूहिक जमघट हुने र छुट्टिने स्थान यहीँ भएकाले तुलनात्मकरुपमा यहाँ बढी चहलपहल हुने गर्दथ्यो ।

नुन व्यापारकै अर्को केन्द्रका रुपमा रहेको तिप्ल्याङ मुस्ताङ प्रवेशका लागि कठिन भिरमुनिको बस्तीका रुपमा परिचित छ । बाह्रगाउँ सेरिवका स्थानीयले आफूले स्थानीय खानीबाट किने, पाएको नुन र भोटका व्यापारीसँग साटेको नुनलाई चामल र अन्य खाद्यान्न तथा लत्ताकपडाका लागि विनिमय गर्न टुकुचे आउन नसकेका ढाक्रेलाई बढी मोलमा नुन बेच्न पाइने आशामा तिप्ल्याङसम्म ल्याएर बेच्ने गर्दथे । यसो गर्दा भन्सारको समस्या नपर्ने र डरलाग्दो भिरको बाटो हिँड्न नपर्ने भन्दै ढाक्रेलाई केही बढी मूल्यमा नुन चामल साटिन्थ्यो । तिप्ल्याङ बजारमा प्रायः बेनीतर्फको कालीगण्डकी तटीय पदमार्गका ढाक्रेको जमघट हुन्थ्यो । भारी बोक्नसक्ने आँट भएका र अझ सस्तोमा नुन ल्याउने नाइकेको साथ पाएका ढाक्रे भने अझ उपल्लो बस्तीतिर लम्कँदै टुकुचै नै आउथे ।

बरालका अनुसार नुन बजारको केन्द्रका रुपमा रहेको वीरेठाँटी तत्कालीन समयको ढाक्रे विश्राम बजारका रुपमा परिचित थियो । भोट जाँदा उल्लेरीको उकालो चढ्नु पहिले बास बस्ने थलो र नुन बोकी ल्याउँदा चन्द्रकोट लुम्लेको उकालो चढ्नुपर्ने तयारीका लागि विश्राम गर्ने थलोका रुपमा रहेका कारण यो आवतजावत गर्दा बास बस्ने गन्तव्यका रुपमा विकास भएको थियो ।

दुई दशकअघिसम्म मुस्ताङका स्थानीयवासीले त्यहाँको स्थानीय नुन नै प्रयोग गरे पनि पछिल्ला समयमा उत्पादन नै रोकिएपछि प्रशोधित नुन नै खाने गरेका छन् । मुस्ताङको नुन खानी रहेको तेताङका स्थानीयवासीले उक्त खानीबाट अझै पनि नुनको पानी ल्याएर खाने गरेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो ।

नुनखानी हिमाली मौलिकतासमेत भएको र यसलाई जोगाउनका लागि मुस्ताङस्थित तेताङको नुनखानी सञ्चालनमा ल्याउन सरकारले प्रयास गरेपनि त्यो सार्थक हुन सकेको छैन । सांसद तुलाचनका अनुसार अघिल्लो वर्ष नुन खानी सञ्चालनका लागि बोलपत्र आह्वान भए पनि कसैको पनि निवेदन परेन ।

विसं २०६० अघिसम्म स्थानीय शङ्करमान शेरचनले तेताङको नुन खानीबाट नुन निकाल्नु भएको भए पनि त्यसपछि भने उक्त नुन खानी बन्द रहेको छ । तत्कालीन समयमा शेरचनले वार्र्षिक ५० देखि ६० मुरीसम्म नुन उक्त खानीबाट निकाल्नुहुन्थ्यो । “उत्पादनको अवस्थासँगै खानी सञ्चालनका लागि लाइसेन्स आदि प्रकृयाका कारण पनि टेण्डर हुँदा पनि निवेदन पर्न सकेनन्”, उहाँले भन्नुभयो, “यस क्षेत्रको प्राचीन मौलकता कायम राख्नका लागि नुन खानी सञ्चालनको जमर्को गरेका हौँ ।”

मुस्ताङमा आउने पर्यटकलाई नुन खानीसम्म पु¥याउने र यहाँको कोसेलीका रूपमा किनेर लैजानसक्ने व्यवस्थाका लागि पनि सरकारले त्यसको सञ्चालनको सोच बढाएको हो । त्यसका लागि खानी तथा भूगर्भ विभाग र सम्बद्ध निकायका प्रतिनिधिसहितको प्राविधिक टोलीले नुनखानीको अध्ययन गर्दै उत्पादनका लागि आवश्यक प्रक्रिया बढाउन प्रतिवेदन बुझाएको थियो । सडकमार्गको पहुँच र नुन खानी रहेको पहाडबाट बग्ने नुनिलो पानीलाई पाइपलाइनमार्फत सहज ठाउँमा ल्याएर उत्पादन गर्न सकिने सो प्रतिवेदनमा सुझाव दिइएको थियो ।

मुस्ताङको छुक्सङस्थित तेताङमा नुनखानीको पहाडै छ । मुस्ताङको नुन खानीबाट निकालिएको नुन चोखो हुने धार्मिक जनविश्वाससमेत छ । कुनै शुभसाइत वा जललाई चोखो बनाउन यहाँका नुन प्रयोग गर्ने गरिएको र वास्तुशास्त्रीय हिसाबले पनि यसको विशेष महत्व मानिने भएकाले घरको जगसाइतमा मुस्ताङी नुनको प्रयोग गर्ने प्रचलन छ ।

तत्कालीन समयमा नुनकै लागि प्रख्यात मुस्ताङमा अहिले भने पोखराबाट प्रशोधित नुन जाने गरेको छ । पोखरास्थित साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड गण्डकी प्रदेश कार्यालयबाट वार्षिक ८०० क्विन्टल नुन मुस्ताङका लागि जाने गरेको सो कार्यालयका प्रमुख वासुदेव उपाध्यायले जानकारी दिनुभयो । मुस्ताङको लागि साल्ट ट्रेडिङ कर्पोरेशनले बजारमा ल्याएको प्रशोधित भानु नामको नुन पठाउने गरेको छ ।

पछिल्ला समयमा चीनले सिल्क रोडका माध्यमबाट महादेशीय मुलुकलाई जोड्ने अन्तर्राष्ट्रिय व्यापारिक मार्गको पुरानो पहिचानलाई आधुनिक मार्गको जालोमा जोडने गरी रेशम मार्गको योजना अगाडि सारेका अवस्थामा यससँग जोडिएको नुन मार्ग पनि यतिखेर चासो र चर्चामा छ ।

पुरातत्व विभागले मुस्ताङको कोरला नाकाबाट कालीगण्डकी कोरिडोर हुँदै भएको प्राचीन नुन व्यापार मार्गमा उत्तर र दक्षिणका छिमेकीबीचको रेशम मार्गसँगको सम्बन्धबारे प्रमाण जुटाउन छलफल एवं अन्तक्र्रिया पनि थालेको छ । रेशम मार्गसँग नेपालको संलग्नतामा भोट–मधेसको नुन व्यापार मार्गका रूपमा परिचित लोमन्थाङ–लुम्बिनीसम्मको प्राचीन मार्गलाई पहिचान गरी यस मार्गमा पर्ने बस्ती, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको सुक्ष्म अध्ययन अन्वेषण थालेसँगै यसले महत्व पाएको हो ।

विगतमा भोटमा निर्भर भएको नुनको आपूर्ति स्रोत मुस्ताङी मार्गबाट हुने नुन तथा ऊनको व्यापार चक्र रोकिएसँगै दक्षिणका सामुन्द्रिक नुनमा भर पर्न प्रेरित बनेको देखिन्छ । नुनका लागि भोट जाने ढाक्रेहरुले भदौमा भोटतिर जाँदा उनीहरू बाटामा जडीबुटी सङ्कलन गर्दै जाने र बिक्री गरी त्यही पैसाले किनमेल गर्दा आर्थिक गतिविधि चलायमान बनेको थियो ।

तत्कालीन समयमा तिब्बतसँग जोडिएका विभिन्न क्षेत्रबाट नुन र ऊनको व्यापारका लागि विभिन्न मार्ग निर्माण भएको बताउँदै अनुसन्धाता बरालले यीमध्ये मुस्ताङ, रसुवाको केरुङ, उपल्लो डोल्पा र हुम्लाको लिमी उपत्यका प्रमुख रहेको बताउनुहुन्छ । यी क्षेत्रमा बसोबास गर्ने मानिस पहाडी र तराई क्षेत्रको अन्न भोटसम्म र भोटको नुन र उन नेपालका पहाडी र तराई क्षेत्रसम्म पु¥याउने उहाँले जानकारी दिनुभयो ।

नुन मार्गका ढाक्रेहरुलाई सुस्ताउने चौतारी, विश्राम गर्ने पाटी—पौवा, खोला तर्ने काठे साँघु निर्माण गर्ने र पानी खाने धारो बनाएर कृति राख्ने प्रचलन त्यसै समयदेखि सुरु भएको थियो । भोटबाट आयात हुने ढिके नुन र हिमाली क्षेत्रका नुन खानीबाट उत्पादित नुनले नेपालको नुन बजारको माग धानेकामा पछिल्ला समयमा देश पूर्णरुपमा नुनमा परनिर्भर बनेको छ । गलगाँडको प्रभाव आदिलाई देखाएर आयोडिन युक्त नुन प्रयोगका नाममा हाम्रो भोटसँगको साल्ट रोड तहसनहस पार्नुका साथै हिमाली जनजीवन, त्यससँग जोडिएका कथा र त्यहाँको अर्थतन्त्रलाई समेत परनिर्भर बनाइएको बरालको भनाइ छ । रासस