३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुनथरमा पर्यटककै लापरवाहीले दुर्घटना निम्तिँदै



अ+ अ-

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकका लागि जोखिमपूर्ण गन्तव्य बनेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकहरुले सावधानी नअपनाउँदा र स्थानीय प्रशासनले आवश्यक ध्यान नदिँदा जोखिमपूर्ण बनेको हो ।

यहाँ वर्षेनी ६/७ जना पर्यटकहरुको ज्यान गइरहेको स्थानीयहरुको भनाइ छ । पर्यटकहरु सचेत नभइदिँदा र स्थानीय प्रशासनसले दुर्घटनाबाट बच्नका लागि आवश्यक कदम चाल्न नसक्दा दुःखद् घटनाको समाचार धेरै बन्ने गरेको स्थानीयहरुको गुनासो छ । गत असार ३१ गते शुक्रवार र असार १८ गते गरी नुहाउन नदी पसेका तीन जना पर्यटकहरुको ज्यान गयो । गर्मीको समयमा मेला लाग्ने र वनभोज लगायतको गन्तव्यस्थल बन्ने गरेपनि नदीको गहिराई र जोखिमको ख्याल नगरी पौडी खेल्न पस्दा पर्यटकहरुको ज्यान जाने गरेको स्थानीयहरुको भनाइ छ । नुनथर मधेस प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्छ ।

धेरै अगाडि यस क्षेत्रमा प्रशस्त नुन पाइने र यस क्षेत्रको माटो पनि नुनिलो रहेकोले गाईवस्तुहरु यस क्षेत्रमा चर्न जाँदा वागमतीको पानी पिइसकेपछि त्यहाँको माटो चाट्ने गरेकाले यस क्षेत्रको नाम नुनथर रहन गएको किंवदन्ती पनि रहेको छ । नुनथरमा वर्षको बाह्रै महिना आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने गरेको पाइन्छ । रौतहट, मकवानपुर, सर्लाही र सिन्धुली गरी ४ वटा जिल्लासँग सीमाना जोडिएको प्राकृतिक छटाले भरिपूर्ण यस क्षेत्रमा नेपाल मात्र नभएर भारतका विभिन्न स्थानहरुबाट पर्यटकहरु घुम्न तथा पिकनिक खान आउने गर्छन् ।

नुनथर क्षेत्रमा साउनको महिनाभर विभिन्न नेपाल तथा भारतका विभिन्न स्थानबाट बोलबम यात्रामा आउने हिन्दु भक्तजनको घुँइचो समेत लाग्ने गर्छ ।सो स्थानमा वागमती नदी स्थिर देखिएपनि गहिरो र भुमरीयुक्त भएकाले अचानक डुब्ने गरेको स्थानिय सुरेन्द्र सापकोटाले बताउनु भयो । उहाँले यसरी वर्षेनी सरदर ५–६ जना नुनथर घुम्न आउनेहरु वागमती नदीमा पौडी खेल्न जाँदा डुबेर मृत्यु हुने गरेको बताउनु भयो । यसरी तीर्थयात्रा र पर्यटन गर्न आएकाहरु वागमती नदीमा पौडी खेल्न, नुहाउन जाने गरेकाले नदीमा डुबेर बेपत्ता हुने जोखिम उच्च रहेको स्थानीय लक्ष्मण न्यौपानेले बताउनु भयो । उहाँले नुनथर क्षेत्र विकास समिति मातहत रहेको सो नुनथर क्षेत्रका मानिसहरुलाई डुब्नबाट जोगाउन समितिले विशेष पहल गर्नुपर्ने बताउनु भयो ।

धेरै मानिसहरु डुबेर बेपत्ता तथा मृत्यु भएपछि नदी किनारको ठूलो ढुङ्गामा ‘खतरा’ लेखिएपनि पर्यटकहरुले त्यसको बेवास्ता गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताउनु भयो । उहाँले सो संकेतलाई बेवास्ता गर्दै नदीमा पर्यटकहरु पौडी खेल्न जाने गरेकाले धेरै दुर्घटना निम्तिएको बताउनु भयो । उहाँले स्थानीय प्रशासनले पनि बारम्बार वागमती नदीमा पौडी नखेल्न अनुरोध गरेपनि त्यसलाई तीर्थयात्री र पर्यटकहरुले नै बेवास्ता गर्ने गरेको देखिएको बताउनु भयो ।

पर्यटक रमाइलोको लागि नुनथर घुम्न आउँछन् । तर पौडी खेल्ने क्रममा वागमती नदीमा हुने दुःखद् घटनाले सबैको मन खल्लो बनाइदिने गरेको छ । नदीमा पौडी खेल्न जानुअघि पर्यटकहरु पनि सचेत हुनुपर्ने स्थानीय प्रशासनको भनाइ छ । यसरी वर्षेनी वागमती नदीमा डुबेर मानिसहरुको मृत्यु हुने क्रमलाई रोक्न नुनथर विकास समिति, चन्द्रपुर नगरपालिका र स्थनीय प्रशासनले विशेष कदम चाल्न अत्यावश्यक भएको स्थानीयहरुको माग छ ।