• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

म्याग्दीमा बाढीको सूचना दिन हेरालु परिचालन



म्याग्दी । म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरुले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बर्खायामको अवधिभरका लागि तटीय क्षेत्रमा बाढीको अवस्थाको बारेमा नियमित जानकारी गराउने हेरालु परिचालन गरिएको जानकारी दिनुभयो ।

“नदीमा आउने बाढीका कारण तटीय क्षेत्रमा जोखिम हुने भएकाले माथिल्लो क्षेत्रमा हेरालुको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “छवटा स्थानीय तहमा एक/एक जना हेरालु राखेका छौँ ।” पानी परेको दिन आवश्यकताअनुसार हेरालुले स्थानीय तह, जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल शाखा र जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा हेरालुले नदीमा बाढीको अवस्थाको बारेमा जानकारी गराउदछन् ।

सूचनाको आधारमा नजिकको चौकीबाट घटनास्थलमा तत्कालै प्रहरी खटाउने र आवश्यकता परेको अवस्थामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सेनालाई परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको छ । अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगङ्गा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मङ्गला गाउँपालिकाले बाबियाचौर, मालिका गाउँपालिकाले दरवाङ र धौलागिरि गाउँपालिको मुना र मुदीमा हेरालु राखेका छन् ।

बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ वटा बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७।९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिनुभयो ।

धौलागिरिको लमसुङ, खोरीया, दर, मराङ, ताकम, मालिकाको देवीस्थान, बिम, जुकेपानी, छाप, रातोढुङ्गा, रुम, घोर्सी, दिच्याम गोगनपानी, दरवाङ, मङ्गलाको खर्सुपानी, हाँडेभिर, बेनी नगरपालिकाको सिङ्गा तातोपानी, भकिम्ली, पुलाचौर, भसभसे, घतान, पात्लेखेत, रघुगङ्गाको पाखापानी, दग्नाम, राहुघाट, कटुवालटोल, भगवती, रानीपौवा, पिप्ले, अन्नपूर्णको दोवा, घोस्केखोर, शिख तल्लोगाउँ र फगाममा पहिराको जोखिम रहेको कार्यालयले जनाएको छ ।

यसैगरी म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको दरवाङ, दुखुबेँसी, सहश्रधारा, शेरफाँट, हाँडेभिर, पिपलचौतारी, पानाबगर, काशेबगर, ताराखेत, सिङ्गा तातोपानी, बगरफाँट, गलेश्वर, भुरुङ्ग तातोपानीमा कटानको जोखिम भएको सहायक संरक्षण अधिकृत मिश्रले बताउनुभयो ।